श्रीकृष्ण सिग्देल
स्याङ्जा
जनप्रतिनिधि जनमुखी भएनन् भनेर आरोप समेत खेपीरहेका बेला कार्यकाल सकिनै लाग्दा सर्वसाधरणहरू अख्तियारको ढोका पुग्न थालेका छन् ।
गत आर्थिक वर्षमा ९ सय ३२ उजुरीमध्ये सबै भन्दा बढी उजुरी स्थानीयतहको रहेको गण्डकी प्रदेश अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ । यस्तै चपेटाको भुमरीमा अहिले हरिनास गाँउपालिकाका अध्यक्ष खिमनारायण मानन्धर पनि अख्तियारको निगरानीमा परेका छन् ।
स्थानीयतहको निर्वाचन भएको ४ वर्ष पूरा भएर ५ वर्षमा लाग्दै छ । मुलुकको संघीयताअनुसार निर्माण भएका स्थानीयतहको निर्वाचन पछि सबैभन्दा बढी अनियमितता स्थानीयतहमा देखिन थालेका छन् । नयाँ संरचना र लामो समयपछि स्थानीयतहको निर्वाचनले गर्दा जनप्रतिनिधिहरूमा बढी उन्माद देखिएको स्थानीयहरूले बताउँदै आएका छन् ।
गाउँपालिकाबाट बिनियोजन हुने रकममा आफै मनोमानी गर्दै हरेक विकास निर्माणमा आर्थिक अनियमितादेखि कमजोर रूपमा विकास योजना सम्पन्न भएको गाउँपालिकाबासीले आरोप लगाएका छन् ।
पटक–पटक गाउँपालिका अध्यक्ष मानन्धरलाई मनोमानी नगरी विकास निर्माणमा साझेदारी अपनत्व लिन आग्रह गरेपनि दादागिरी शैलीमा अगाडि बढेपछि अनियमिता छानविन गरिदिन अख्तियारको ढोका पुग्न बाध्य भएको स्थानीयहरूले बताएका छन् । दुई चरणमा गरेर हरिनास गाउँपालिकाका स्थानीयले अख्तियारमा उजुरी दिएका छन् । नाम सार्वजनिक नगरिदिने शर्तमा ति स्थानीयले भने २०७७ साल साउन ८ गते र अर्को २०७८ साल असार २४ गते अख्तियारमा विभिन्न योजनाको नाम सहित छानविन गरिदिन निवेदन दिएको बताए ।
उनका अनुसार ४ वर्षको अन्तरालमा उनले करोडौ रुपैयाँ भ्रष्टचार गरेको आरोप लगाए । नागरिकको हितभन्दा पनि आफ्नो स्वार्थलाई फाइदा पुग्ने गरी रकम बिनियोजन हुने गरेका छन् ति स्थानीयले भने–‘बजेट निधारण गर्दा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्देशित गरेभन्दा बाहिर रहेर हुने गरेका छन् ।’ गाउँपालिकाको भवनदेखि भ्युटावर बनाउदा टेण्डर आब्ह्रान समेत नगरी उपभोक्ताको नामबाट निर्माण गरिएको छ उनले भने । एक करोड २० लाखमा गाउँपालिकाको भवन निर्माण गर्दा सार्वजनिक खरिद ऐनअनुसार टेण्डर नै आह्वान नगरी आफै निर्माण थाल्दा ठुलो आर्थिक अनियमितता भएको शंका स्थानीयले लगाएका छन् ।
उनका अनुसार गाउँपालिका भवन, बैदी छाप क्याक्मी मोटरबाटो, हरिनास ६ मा निर्माण गरिएको भ्युटावरलगायत दर्जनौ योजनामा आर्थिक अनियमिता भएको शंका गरी स्थानीयले अख्तियारमा उजुरी दिएका छन् । यस विषयमा जानकारी लिन खोज्दा गाउँपालिका अध्यक्ष मानन्धर सम्पर्कमा आएनन् । अध्यक्ष मानन्धर निर्वाचित भएदेखिबाटै विवादमा तानिदै आएपनि उनको खबर खासै बाहिर आएको थिएन । उनीको कार्यशैलिबाट कार्यालयका कर्मचारी र जनप्रतिनिधि समेत असन्तुष्ट रहेको बताइएको छ ।
हरिनास ६ मा निर्माण हँुदै गरेको पुर्कोट भ्युटावरको विषयमा आफूलाई कुनै जानकारी नभएको सोही वडाका अध्यक्ष नरबहादुर थापाले बताए । आफ्नै वडामा भ्युटावर निर्माण हँदा न टेण्डर आह्वान भएको छ न उपभोक्ता समिति गठन गर्दा मलाई जानकारी दिइएको छ यस विषयमा आफू अनविज्ञ रहेको वडा अध्यक्ष थापाले बताए । गाउँपालिकाले नै बजेट बिनियोजन गरेको र अध्यक्ष आफैले उपभोक्ता समिति गठन गरेर भ्युटावर निर्माण गरेको थापाको भनाई छ ।
स्याङ्जाबाट मात्रै गएको आर्थिक वर्षमा १ सय २ उजुरी अख्तियारमा दर्ता भएका छन् । ति मध्ये संघीय सरकारका २१, प्रदेश सरकारका ९ र स्थानीय सरकारका ७२ उजुरी रहेका छन् । तिनतहका सरकारमध्ये सबैभन्दा बढी उजुरी स्थानीयतहकै दर्ता भएको अख्तियारको तथ्याङ्कमा देखिन्छ । कुन–कुन स्थानीयतहको उजुरी दर्ता भएको छ भन्ने प्रश्नमा अख्तियारले अनुसन्धानमा समस्या हुने भन्दै नाम बताउन चाहेन । सबै जसो उजुरीमा सरकारी अनुदान विकाससम्बन्धी रहेको बुझिएको छ । यस विषयमा अख्तियारले कसरी आफ्नो अनुसन्धानलाई अगाडि बढाउने छ त्यो भने हेर्न बाँकी छ ।