चर्तुभुज आत्रेय
आज भोलि जताततै विकासको हल्ला सुनिन्छ । हल्ला त सुन्निछ तर मैले विकास मेटाउन सकेको छैन । विकास भन्ने कुन जन्तुको नाम हो ? यसको पनि केही जानकारी छैन । त्यसैले म विकासको खोजीमा भौतारिएको छु ।
मैले बुझेको विकास समाजको कमजोर वर्ग अर्थात् गरिबीलाई गरिबीको अवस्थाबाट माथि उठाउनु हो । समाजको उपेक्षित वर्गलाई उपेक्षाको अवस्थाबाट मुक्त गराई यस वर्गले पनि समाजमा हिम्मतका साथ ठाडो शिर गराई हिंड्न सक्ने बनाउनु हो । देमा शिक्षा, स्वास्थ्य, पानी, बिजुली, बाटो, कलकारखाना, रेल, मोटर, हवाइजहाज, पानी जहाज, रोपवे आदिको विस्तार जैविक उर्जा, उन्न खेती, रासायनिक मल आदि सबैले पर्याप्तता एवं नागरिकहरूलाई आफ्नै देशमा रोजगारीको अवस्था सिर्जना गरिनु हो । यी सबै कुरालाई एउटै वाक्यमा भन्दा देशको सर्वाङ्गीण विकास नै विकास हो । तर देशमा भने मध्यम वर्ग निम्न मध्यम वर्गमा झरेको छ र निम्न वर्ग सुकुम्बासीमा खसेको छ । देशको अवस्थाले यही बताउँछ । कलकारखाना बाटोघाटो बिजुली पानी आदिको सुविधा सीमित क्षेत्रमा मात्र छ । सरकारी तथ्यांकहरूले आफै बताउँन् । देशमा गरीबी र धनाढ्यहरूका बीच ठूलो अन्तर (ग्याप) छ । यो कटु सत्य हो । विद्यार्थी जीवनमा काठमाण्डु वाल्मीकि क्याम्पसमा पढ्दा हामीलाई अर्थशास्त्र पढाउने शिक्षक स्व. विनोद पन्तले भनेको कुरा मैले अझै बिर्सेको छैन । उहाँले भन्नुहुन्थ्यो देशको विकास भनेको देशका जनताको क्रयशक्तिमा विकास हुनु हो । जति जति बहुसंख्यक जनताले आफूलाई आवश्यक पर्ने वस्तु र मनोरञ्जनका साधनहरू किनेर उपभोग गर्न सक्षम हुन्छन् । त्यही मात्रामा विकासको नाप (माप) हुन्छ । हामीले काठमाण्डु उपत्यका र मोफसलका शहरी क्षेत्रहरूको चहलपहल देखेर ए, देशमा निकै विकास भएको छ भन्ने ठान्छौं । किनभने यी क्षेत्रहरूमा ठूलाठूला व्यापारिक प्रतिष्ठान छन् । कतै सुपर स्टोर र महलहरू छन् । खुद्रा व्यापारका होलसेल व्यापारका क्षेत्रहरू पनि यत्रतत्र सर्वत्र छन् । तर त्यहाँ किन्न जाने मानिसहरू जागिरे, पेन्सर र लाहुरे अनि लाहुरेका परिवार तथा विभिन्न पेशाका ग्राहकहरू मात्र धेरै छन् । तर जसको जागिर छैन, पेशा छैन, पेन्सन छैन, र आम्दानीको कुनै स्रोत पनि छैन, यस्तो अवस्थाका जनतालाई ती ठूलाठूला महलहरू र बहुतले भवनहरू केवल बाहिरी सतहबाट रमिता हेर्नका लागि मात्र छन्, भित्र गएर किनकान गर्न आफ्नो औकात छैन, अर्थात् क्रयशक्ति छैन । जनताको क्रयशक्ति कसरी बढ्छ त ? हामीले जहिले प ियस प्रश्नको उत्तर खोज्नु पर्दछ । आम नेपाली जनताको क्रयशक्तिलाई कसरी बढाउन सकिन्छ ? भनेर त्यसको उपाय खोज्नु जरूरी छ ।
हामी कृषि प्रधान देशका नागरिक हौं । धेरै भन्दा धेरै नेपाली जनताको पेशा कृषि हो । पहाडका गाउँघरमा आटो, ढिडो बढी खाने चलन छ । मधेशतिर गहुँको रोटी र भात खाने चलन छ । ग्रमीण क्षेत्रका जनताको मुख्य आहारा यही हो भने शहरी क्षेत्रमा आम्दानी (क्रयशक्ति) हुनेहरूले जे पनि उपभोग गर्न सक्दछन् । आटो, ढिंडोको खान्की गाउँघरको बाध्यता हो भने शहरमा रहर । जहाँ जहाँका बासिन्दाले जे जे खाए पनि ती सबै कृषिबाट तयार हुने बस्तु हुन् । फेरि अर्काे कुरा, कृषि पेशा भनेको खेतीपाती गर्नु हो । खेती भन्नाले खेत र बारीमा धान गहुँ, मकैं, तोरी, उखु, दाल आदिलाई मात्र बुझिदैन, यसभित्र फलफूल, जडीबुटी, पशुपंछी आदि पनि पर्दछन् । त्यसैले कतै पनि जग्गा जमिन बाँझो नराखेर अन्न उब्जने ठाउँमा अन्न र अन्न राम्रो नफल्ने पाखा पखेरामा फलफूल, डालेघाँस, र भुइँ घाँस रोपेर त्यसबाट आम्दानी लिन सकिन्छ । त्यसको निम्ति कृषकहरूलाई खेतीमा लाग्न प्रोत्साहित गर्नु पर्दछ । फेरि प्रश्न उठ्छ किसानहरू खेतीपातीमा कसरी उत्साहित हुन्छन् त ?
१. सर्वप्रथम खेतीपातीका लागि चाहिने बीउ बिजन, मल, सिँचाई, कृषि उत्पादनका साधनहरू विकसित हलो वा ट््याक्टर, टे«लर आदि सरकारले निःशुल्क उपलब्ध गराउनु पर्दछ या सस्तोमा दिलाउनु पर्दछ ।
२.हरेक गाउँमा कृषि प्राविधिकहरू खटाई बालीमा लाग्ने रोगलाई समयमै नियन्त्रण गर्न किसानहरूलाई रोगको पहिचान गराउने र किटानाशक औषधि एवं रासायनिक मल निःशुल्क उपलब्ध गराउने ।
३.किसानले उत्पादन गरेका दलहन, तेलहन र अन्य नगदेबाली, तरकारी फलफूल, माछा, मासु, अण्डा आदि सरकार आफैले खरिद गरिदिने या कृषि सहकारी तथा पैंचो पसलहरू गाउँगाउँमा विस्तार गरी उत्पादित वस्तुहरू तुरून्तै खपत हुने वातावरण बनाई प्रोत्साहित गर्ने ।
सरकारले किसानको पक्षमा यत्ति मात्र गरिदिने हो भने हाम्रो आर्थिक स्थितिमा र अर्थतन्त्रका अरू विभिन्न पक्षमा अपेक्षा गरिएको सुधारका परिणामहरू एकाएक आउनेछन् । जसले हाम्रो आर्थिक अवस्था र हाम्रो देशको समृद्धिमा राम्रो परिणाम दिनेछ । हाम्रो जनजीवनका सबै पक्षहरू कृषिजन्य आर्थिक क्रियाकलापमा निर्भर छन् । हामीले दाल, भात, रोटी, तरकारी, चिया, कफी जो खान्छौं ती सबै चीजको उत्पादक किसान हो । त्यस्तै हामीले खाने विभिन्न किसिमका फलफूलहरू पनि किसानहरूले गर्ने कृषि जन्य आर्थिक क्रियाकलाप उत्पादन र बेचविखनमा आधारित छन् । हामी कपडा लगाउँछौं । कपडा केबाट बन्छ ? धागोबाट । धागो के बाट बन्छ ? कपासबाट । कपास कहाँबाट आउँछ ? किसानले गरेको कपास खेतीबाट । हामी जाडोमा स्वीटर लगाउँछौं । स्वीटर कहाँबाट आउँछ ? उन अथवा भेंडा, च्यांग्रा आदिको रौंबाट । भेंडा कसले पाल्छ ? किसानले ? यस्तै यस्तै कुराहरू सोच्दै गहिराइतिर जाने हो भने–जुत्ता, चप्पल, झोला, कपडा, टाँक, फुटबल, भलिबल, मादल, गाजर, घ्यू, चिनी हरेक वस्तु वा पदार्थहरूको मूल स्रोत कृषि नै हुन आउँछ । कृषिसम्बन्धी पेशामा सुधार आयो भने मात्र हाम्रो आर्थिक अवस्थामा सुधारका ढोकाहरू अटोमेटिकल्ली खुल्दछन् । जस्तै किसानले उब्जाएका अन्नबाली र दलहन, तेलहन, तरकारी, माछा, मासु, अण्डा, फलफूल आदि किसान आफैले उपभोग गरेर बाँचेको वस्तु भण्डारण गरी बिक्री गर्न पाउँदा एकातिर हामीले यी वस्तुहरू विदेशबाट ल्याउनु पर्दैन जसले गर्दा खाद्य वस्तु आयातका लागि विदेशी मुद्रा खर्च गर्नु परेन, साथै किसानको आम्दानीमा पनि वृद्धि भयो । आफ्नो आम्दानी बढेपछि किसानहरूले पनि आफूलाई रहर लागेका वस्तुहरू किन्नमा केही रकम खर्च गर्छन् भने बाँकी रकम यात सहकारीमा शेयर किन्न खर्च गर्छन् या बैंकमा खाता खोलेर व्याजमा लगाउँछन् । हाम्रो देशमा ३ करोड जनसंख्यामध्ये धेरै जनताले ठूलो सानो कुनै न कुनै कृषि पेशा गरिरहेका छन् । त्यसैले धेरै किसानको हातमा पैसा आउनु भनेको हाम्रो देशको उत्पादन, उपभोग, विनिमय, वितरण उत्पादनका साधनहरूले राम्रो प्रतिफल प्राप्त गर्नु हो । तसर्थ हाम्रो देशका किसानहरूको आर्थिक प्रगति हुँदा अरू पक्षको पनि आम्दानी बढ्न सघाउँछ । यसलाई फेरि यसरी व्याख्या गरौं । हिजो खेतीबाट राम्रो उब्जा नहुँदा बेसाहा किन्नुपर्ने किसानले आफ्ना छोराछोरी सरकारी स्कूलमा पढाउँथ्यो भने सरकारको सहयोगले उब्जनी राम्रो भएपछि अन्न बेचेर आएको आम्दानीले छोराछोरीलाई बोर्डिङ्ग स्कुलमा पढाउँछ र बजारबाट नयाँ नयाँ वस्तु किनेर उपयोग गर्दछ । यसबाट बोर्डिङ्ग स्कुल सञ्चालकलाई पनि फाइदा, व्यापारीलाई पनि फाइदा र आफूलाई पनि आनन्द । यस्ता उदाहरण जति पनि छन् । तसर्थ किसान वर्गको उत्पादन नै राष्ट्रको उत्पादन हो, देशको विकास हो । यसलाई यसरी बुझौं ।