कोरोना महामारीको दोस्रो लहर आएपछि १३ बैशाखदेखि देशभरका विद्यालय बन्द छन् । शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठनपाठन भएको छैन । इन्टरनेटको पहुँच भएका ठाउँहरूमा अनलाइन कक्षा लिने गरिएको छ । दोस्रो चरणको लकडाउन खुकुलो भएसँगै विद्यालयहरूले भौतिक उपस्थितिमा कक्षा लिन खोजेको देखिन्छ । तर लकडाउन खुकुलो भएयता कोरोना संक्रमण बढ्दै गएको छ । साउनको एक साता यता संक्रमण दर तीब्र देखिएको छ । जसरी कोरोना फैलिँदै गएको छ, त्यसैगरी भौतिक उपस्थितिमा विद्यालयमा कक्षा सञ्चाल गर्ने कुरा घातक हुने निश्चित छ ।
दोस्रो लहरको कोरोना संक्रमणले बालबालिकालाई पनि क्षति गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार कोरोना संक्रमणबाट हालसम्म १९ वर्षसम्मका ९१ बालबालिकाको मृत्यु भइसकेको छ । दैनिक १० प्रतिशतभन्दा बढी बालबालिकामा कोभिड–१९ को संक्रमण देखिने गरेको छ । यो तथ्यांक विद्यालय बन्द रहेको अवस्थाको हो । विद्यालय सञ्चालन हुने हो भने संक्रमण झन फैलिने जोखिम छ ।
पछिल्लो समय शिक्षकहरूले कोरोेनाविरुद्धको खोप लगाएका छन् । यही कारण पनि शिक्षकहरू कोरोनासँग त्यति डराएको अवस्था छैन । फेरि शिक्षक विद्यार्थीसँग त्यति नजिक पनि हुँदैनन् । त्यसैले उनीहरू कोरोना संक्रमणबाट जोगिन सहज छ । तर विद्यार्थी भनेका चञ्चले स्वाभावका हुन्छन् । संक्रमणको डरले लामो समय घरमै थुनिएका बालबालिका भेट भए भने खेल्ने, रमाउनेलगायतका गतिविधि गर्छन् । यदि कुनै विद्यार्थीलाई संक्रमण भएको भए अन्यलाई पनि संक्रमण हुन सक्छ । अर्काेतर्फ विद्यार्थीले खोप लगाउन पनि पाएका छैनन् ।
तसर्थ संक्रमणको जोखिम कायमै रहेकाले भौतिक रूपमा विद्यालय खोल्न हतार गर्नु हुँदैन । विद्यालय बन्द रहेकै अवस्थामा त दैनिक १० प्रतिशतभन्दा बढी बालबालिकामा संक्रमण पुष्टि हुने गरेकोले हचुवाको भरमा विद्यालय खोल्ने काम विल्कुल गर्नु हुँदैन । अहिले कोरोना संक्रमण दर २० प्रतिशतभन्दा माथि छ । अर्थात् जोखिम उच्च छ । फेरि धेरै वयस्क एवं प्रौढ मानिसहरू पहिलो तथा दोस्रो लहरमा संक्रमित भइसकेको र यही समूहका धेरैले खोप लगाइसकेकाले अब संक्रमणको बढी जोखिममा बालबालिका छन् । त्यसैले तत्काल विद्यालय खोल्ने कुरा हतार हुन जान्छ ।
विदेशमा जस्तो पूर्ण स्वास्थ्य मापदण्ड पालना हुने अवस्था नेपालमा छैन । सबै अभिभावकले खोप पाएका छैनन् । बालबालिकाको लागि प्रयोग गरिने खोप अनुसन्धानकै अवस्थामा छ । जीवनभन्दा ठूलो कुरा अरू हुन सक्दैन । विद्यालय खुल्दा एक बालबालिकाबाट पचासौं घरमा कोरोना संक्रमण फैलिने जोखिम छ । त्यसैले हतार गरेर विद्यालय खोल्ने काम नगरौं । प्रभावकारी ‘प्रोटोकल’ र ‘गाइडलाइन’ विना विद्यालय खोल्ने काम गर्नु हुँदैन । फेरि नेपालमा नयाँ–नयाँ भेरियन्ट देखिंदै गएका छन् । जुन तीब्ररूपमा फैलिने खालका छन् । तसर्थ अहिले नै विद्यालय खोल्ने काम नगरौं । बरू विभिन्न विकल्प अपनाएर पठनपाठनलाई निरन्तरता दिनु नै बुद्धिमानी हुनेछ