अरु कुराले के गर्‍यो कुन्नि ‘भएको एउटा छोरालाई’ भन्ने वाक्यांशले असर गरेरै होला बाले मलाई आफ्नो निर्णय सुनाउनुभयो— “भो छोरा ! एअरफोर्समा नजाने !”

गजलसँग हिंडेको जिन्दगी

बुँद रानाको संस्मरण —

“कनिकाहरूमा खुसी
बटुल्नु त हो जिन्दगी !”

कौवाको अण्डाको खाँचो थियो । अण्डा प्राप्त गर्न गुँड खोज्न थालियो । खोज्दै जाँदा एउटा आँपको बोटमा कौवाको गुँड देखियो । अब त अण्डा पाइन्छ । अण्डा मिसाएर मगााझा बनाइन्छ । सबैको चङ्गा चट् पारिन्छ । यस्तै–यस्तै कल्पनामा रमाएर रुख चढ्न थालें । भात र सिसाको चुर्ण मिसाएर बनाउको माझा कच्चा सवित भएको थियो । आफ्नो चङ्गा धेरैपटक अरुहरूबाट काटिएको बदला लिनुपर्ने । चङ्गा लडाउन सिपालु साथीहरूको सल्लाह अनुसार कौवाको अण्डा चाहिएथ्यो । भनाइ अनुसार कौवाको अण्डाले माझालाई खुब धारिलो बनाउँथ्यो । बिलेड जस्तो ।

म बिस्तारै बिस्तारै एक पछि अर्को हाँगा समात्दै डाला टेक्दै रुखमाथि उक्लिँदैछु । गुँडलाई लक्ष्य बनाएर । आफ्नो घरबासमा डाँका पर्न लागेको कौवालाई थाहा नहुने कुरै थिएन । घरबास जोगाउन कागहरूको कोकोहोलो सुरु भयो । रुख माथि दर्जनौंको संख्यामा कागहरू का का का का गदै कावा खान थाले । उतिउतिमा झम्टेझैं गर्थे ठुङ्न ।

मेरो भने आरोहण जारी नै थियो । अब म गुँडको धेरै निकट पुगिसकेको थिएँ । अरु चरचुरुङ्गीको भन्दा कागको गुँड बेग्लै खालको देखियो । पहिलोपटक हेर्दै थिएँ । फलामे बार जस्तो गुँड । फलामका तारहरू बटुलेर बनाइएको । किन यति बलियो गुँड बनाउन पर्‍यो होला ? त्यो गरेको सुरक्षाकै निम्ति हुनु पर्छ । जुनसुकै बेला कौवाको आक्रमण खेप्नु पर्ने जोखिम लिएर गुँडमा पुग्न पुगियो । गुँडमा नजर लगाएँ । त्यहाँ अण्डा थिएन । थिए दुईथान बचेर । भर्खर भर्खर अण्डा बाहिर निस्केका । भयो, माछा–माछा भ्यागुता ।

माझा असरदार बनाउने धुन सवार छँदै थियो । कौवाको अण्डा विकल्पमा कुखुराको अण्डा छानियो ।

चङ्गा लडाउन खुब मजा हुन्थ्यो । प्रतिस्पर्धी प्रत्यक्ष देखिँदैनथ्यो । उ भिन्दै टोलबाट चङ्गा उडाइरहेको हुन्थ्यो । आकासमा जुध्न तत्पर चङ्गाहरू मात्र देखिन्थे । चङ्गा लडाउँदा मौका हेरेर कहिले तलबाट त कहिले माथिबाट पेच पारिन्थ्यो । दुई चङ्गा बीचको धागो जोल्ठिँदा परिणामका लागि कहिले धागोलाई ढिला दिने त कहिले छिटोछिटो आफैतिर तान्ने गरिन्थ्यो । भनिन्थ्यो, खस्रो माझा भएको धागोलाई सर्सराएर तान्नुपर्छ र मसिनेलाई खररर ढिल छाड्नुपर्छ ।

आफ्नो चङ्गाले अरुको चङ्गा काट्दा बुरुक्क उफ्रेर खुसी व्यक्त गर्ने सामान्य क्रिया हुन्थ्यो । काटिएका चङ्गा हात पार्नेहरूको जमात कतै चउरमा त कतै गल्लितिर हुने गर्थे । एउटा चङ्गा काटिनासाथ सबै त्यसैलाई हात पार्न दगुर्न थाल्थे । आकासतिर हेर्दै दगुर्नु पर्ने । यसरी दगुर्दा दुईतीनपटक खाल्डोमा परेको छु । धन्न खुट्टा भाँचिएन, मक्र्यो मात्र ।

चङ्गा विश्वमै उडाइन्छ । मनोरञ्जनात्मक खेल हुँदा हुँदै पनि कतिपय अवस्थामा यो जोखिमपूर्ण पनि हुन्छ । खासगरी घरको छानामाथिबाट चङ्गा उडाउँदा निकेै होश राख्नुपर्छ । चङ्गाबारे यो लेखिरहँदा चीन भ्रमणमा जाँदा देखेँ । वृद्धहरूले नातीनातिना साथमा राखेर चङ्गा उडाउँदै गरेको । एउटा धागोमा एकसाथ दर्जनौं चङ्गा उडिरहेका । माल चराझैं ।

चङ्गाको प्रसंगमा धागो (माझा) आइसक्यो । छुटेको भनेको लट्टाइ हो । बजारबाट किनी ल्याएको बाँसको चोयाको लट्टाइ बलियो टिकाउ हुन्थेन । मैले आफै बनाउँथे । मेरो लट्टाइ हेर्नेहरू सबै मोहित हुन्थे । वजनदार हुन्थ्यो । साइजमा ठूलो पनि । दुवै हातले हत्केलामा राखेर लट्टाइ नचाउँदा लामो न लामो डोरी पनि छिनभरिमै लट्टाइमा बेरिन आइपुग्थ्यो । एकाधपटक यस्तो लट्टाइ बनाएर व्यापार पनि गरेको हुँ ।

अण्डा चोर्न जाँदा कौवाले तर्साए मात्र ठुँगेनन् । दण्ड दिएनन् । काँक्राे चोर्न जाँदा त्यो छुट पाइएन । अचम्मको बाल्यावस्था । हुने परिणामबारे केही नसोचेर झट्ट जाइलाग्ने ! आवासक्षेत्र भन्दा झण्डै एककिलोमिटर जति पर किसानहरूको खेत थियो । त्यहाँ उनीहरू मौसम अनुसारका तरकारी फलफूल उब्जाउने गर्थे । हाम्रो साथीहर मध्य एउटाले त्यो खेतबारीमा काँक्राे फलेको देखेको रहेछ । भन्यो— जाम काँक्राे खान ! भनिन्छ नि बाँदरहरूलाई लिस्नु ! के चाहियो काँक्राेकाे नाम सुन्ने बित्तिकै सबैको मुख रसाएछ । कसैले कुनै तर्क गरेन— भो नजाम् ! छिनभरमै अप्रेशन काँक्राको जत्था तैयार भैहाल्यो । प्रस्थान गरिहाल्यो । काँक्राे चोर्ने बटालियनमा कतिजन थियौं संख्या यकिन भएन । ७÷८ जना त पक्कै थियौं । अर्काको बारीमा अनाधिकार दिनदहाडै काँक्राे चोर्न जाने । कत्रो हिम्मत । कस्तो साहस । त्यो साहस नभै दुस्साहस नै थियो । कहाँबाट आउँथ्यो ? थाहै हुन्थेन ।

बारीमा पसेर काँक्राेमा हात हाल्न के भ्याएका थियौं प्रतिकारी किसानहरूको समूह चिच्याएको सुनियो— “मारो सालेको !” किसानले कसैले लौरो, कसैले ढुङ्गा समातेका देखिन्थ्े । भाग्न बाहेकको हाम्रो विकल्प थिएन । भाग्यौं । पत्ताचोट । भागेर अन्यत्र जाने कुरै थिएन । आयौ आफ्नै लोबीभित्र । आआफ्नो आश्रयमा लुसुक्क छिरेर सम्झ्यौं सुरक्षित भयों ।

रिसले चुर किसानहरू कोलोनीभित्रै छिरेर चिच्याउन थाले । हाम्रो बालीनाली नोक्सानी गर्नेलाई हामी त्यसै छाड्दैनौं । हाम्रो काँक्राे चोर ! पल्टनका केही सिपाहीहरूले एकाध काँक्राे टिपिभ्याएका रहेछन् । भाग्ने बेलामा फालेका तिनै काँक्रा किसानले साथमा प्रमाणका लागि ल्याएका थिए । देखाउँदै भन्न थाले— यो नोक्सानीको भर्पाइ कल्ले दिन्छ ? टोलमा राम्रै होहल्ला मच्चियो । भीड जम्म भयो । भीडले मिटिङ्को रूप लियो । काजीमामा अर्थात् लम्बुमामाको रोहबरमा भएको मिटिङले निर्णय लियो— अब उप्रान्त कोलोनीका केटाकेटीहरू किसानको खेततिर नजाने । काँक्राकाे क्षतिपूर्ति स्वरूप दस रुपियाँ किसान वर्गलाई उपलब्ध गराउने । दण्ड निम्ति तोकिएको बिगो काजीमामा स्वयम्ले तिरदिएका थिए । किसानहरू केके–केके बर्बराउँदै बाटो लागे । लाग्यो समस्या टर्‍यो । ग्रहशान्ति भयो ।

घरको ढोका ढक्ढक्याइयो । खोलें । देखें अगाडि लम्बुमामा उब्भिएका । सोधे— तँ पनि थिस् ? ढाँट्ने हिम्मत भएन ।

‘अ’ भन्ने अर्थमा मुन्टो मात्र हल्लाएँ । मलाई बरको बोट मुन्तिर आउन भनियो । मामाले काँक्रा चोरहरू जम्मैलाई घरघरबाटै जम्मा पारिसकेका रहेछन् । बरको बोटमुनि अब मामा र हामी चोर भान्जाहरू थियौं । मामाले चोर्नु गलत काम हो भन्न सम्झाउन थाले । नैतिक शिक्षा दिने क्रममा चोर्ने मान्छेलाई दिइएका विविध दण्ड पनि सुनाए । ती दण्डहरूमा चोरको चोर्ने हात काटिने कुराले हामीलाई भयभीत बनाएथ्यो । मामाले आफ्नो हिसाबले अर्तिबुद्धि दिइसकेपछि हामीलाई केर्न थो । लौ भन त चोर्ने काम राम्रो हो कि होइन ? हामी सबैले एकैसोरमा भन्यौं— “राम्रो होइन” ।

तत्पश्चात् मामाले निर्णय सुनाउँदै भने— तिमीहरूले नराम्रो काममा हात हाल्यौ । त्यसको सजाएँ पाउनुपर्छ । सजाएँ थियो— दुई मिनेटसम्म एउटा खुट्टामा उभिने । कान समातेर बीसपटक उठबस गर्ने । गर्नैपर्थ्याे, गर्‍यौं । साह्रै ठूलो दण्ड भोगेजस्तो लागेन तर त्यसपछि चोर्नतिर ध्यान गएन ।

तिनताका नैतिक शिक्षामा धेरै ध्यान दिए जस्तो लाग्छ । ‘गुरु गोविन्द दोऊ खडेका के लागूँ पाएँ ?बलिहारी गुरु आप की जिन गोविन्द दियो बताए !” यो दोहाले मार्गनिर्देश गथ्र्यो । ईश्वर यिनै हुन् भनेर चिनाउने अरु कोही नभएर एकमात्र गुरु हुनाले गुरु ईश्वरभन्दा महान् हुन्छन् भन्ने शिक्षाले शिक्षित थियौं हामी । गुरु र शिष्यको सम्बन्धलाई चित्रित गरिएको एउटा कथा शीर्षक— ‘गुरुभक्त अरुणिमा’ सम्झना भयो ।

कथाको सार यस्तो थियो । गुरुले भर्खर रोपेर भ्याएको धानखेत हेरेर आउन अरुणिमालाई अह्राउँछन् । अरुणिमा खेतमा पुग्छन् । कुलोको डिल फुटेर पानीको भल खेतमा पस्नै लागेको देख्छन् । लौ बर्बाद हुनेभयो, रोपेको धानको बिउ भलले बगाउने भो ! तत्काल डिल टाल्ने कुनै उपाय नदेखेर कुलो फुटेको ठाउँमा आफै तेर्सो परेर पल्टन्छन् । उता गुरुलाई निकै बेरसम्म पनि अरुणिमा आश्रममा नफर्किदाँ चिन्ता लाग्छ । उनी आफै खेतमा पुग्छन् र देख्छन् अरुणिमा आफै कुलोमा तेर्सिएर पानीको भल छेक्दै गरेको । गूरुलाई भर्खर रोपेको धनको खेतको चिन्ता लाग्दैन । उनले अरुणिमालार्य मायाले उचाल्छन् । भावविभोर भई अकंमाल गर्छन् ।

यस्तै गुरुभक्तिका कथा गुरु द्रोणाचार्य र शिष्य एकलव्यको पढिन्थ्यो । भनिहालें ‘गुरु !’ यो शब्दप्रतिको यस्तो श्रद्धाभाव थियो कि आफुलाई पढाउने विषय शिक्षक बाहेकका शिक्षकहरूको पनि चरण स्पर्श गरेर वार्षिक परिक्षामा बस्ने गरिन्थ्यो ।

खेल्दा खेल्दै, पढें झै गर्दागर्दै, पढे झैं यस अर्थमा कि स्कूलको पढाइ बाहेक घरमा कहिल्यै ध्यान दिएर पढ्ने गरेका थिइनँ । मेट्रिक जाँचमा बस्ने हैसियतको लागि हुने परीक्षा ‘सेन्टअप्’ आइसकेन्थ्यो । त्यो जाँच दिइयो । ‘सेन्टअप्’मा उत्तीर्ण भएछु ।

अब विद्यालय जानु थिएन । मेट्रिक परीक्षाको तैयारी पनि खासै गर्दैनथें । यसै खाली खाली बसिरहेको बेला एउटा अखबार हेर्न पुगें । त्यहाँ जागिर सम्बन्धी विज्ञापन छापिएको रहेछ । एअर फोर्सको लागि आवेदन आह्वान गरिएको । योग्यता ‘सेन्टअप्’ उत्तीर्ण भनिएको । आवेदन फाराम भरें । स्वीकृत भएछ । अन्तर्वार्तामा बोलाइयो । तोकेको दिनमा गएँ । अन्तर्वार्तामा सफल भएछु । अन्तर्वार्ताकारबाट निर्देशन दिइयो— ‘ट्रेनिङके लिएर कलकत्ता जाना पडेगा । एक हप्तेके बाद इसी दिन चले आना !’

अन्तर्वार्ताबाट घर फर्केर बालाई सबैल बेहोरा बताएँ । एअर फोर्समा छोराले जागिर पाउने भएपछि बा खुसी नै हुनुहुन्थ्यो ।

खुसी र दुःख मान्छेले एक्लै व्यहोर्न सक्तैन । बाँड्न चाहन्छ । यो उसको नैसर्गिक प्रकृति वा भर्नौ प्रवृत्ति हो । बाले पनि आफ्ना साथीहरूलाई मैले एअर फोर्समा जागिर पाएको कुराको खुसी बाँड्न थाल्नुभएछ ।

यसैक्रममा बालाई एकजनाले भनेछन्— “एअर फोर्सको तालिम निकै डरलाग्दो हुन्छ । माथि आकासबाट प्यारासुटको मद्दतले भैंमा कुद्नुपर्छ । संयोगले प्यारासुटको छाता खुलेन भने मान्छे भुइँमा सोझै बजारिने हो । फर्सी फुटेझैं फुट्ने हो । हाडखोरको पत्तै लाग्दैन । भएको एउटा छोरालाई पनि कहाँ त्यस्तो ठाउँमा पठाउनुुहन्छ ?”

अरु कुराले के गर्‍यो कुन्नि ‘भएको एउटा छोरालाई’ भन्ने वाक्यांशले असर गरेरै होला बाले मलाई आफ्नो निर्णय सुनाउनुभयो— “भो छोरा ! एअरफोर्समा नजाने !” जिद्दी लिने, मरिहत्ते गर्ने खालको मेरो स्वभाव थिएन । निर्धारित तालिम लिन गइएन । एअर फोर्सको सैनिक भइएन ।

हुँदाहुँदै पश्चिम बंगालको बोर्ड परीक्षा (सन् १९६६) दिने दिन पनि आयो । परीक्षा दिइयो । परिणाम आयो । तेस्रो श्रेणीमा पास हुनेहरूको सूचीमा मेरो नाम पनि परेको रहेछ । त्योभन्दा माथिल्लो श्रेणीको त आश नै थिएन । किनभने स्कूल जीवनमा त्यहाँ कहिल्यै उक्लेकै थिइनँ । पास हुनु नै मेरा लागि ठूले कुरा थियो । भएँ । खुसी लाग्यो । मभन्दा बा निकै खुसी हुनुभएको रहेछ । बाले मेरो टाउको मुसार्दै भन्नुभयो— “गरिस् छोरा, राम्रो गरिस् मेरो घिड्किसो पूरा गरिस् ।” यो खुसीको भागिदार अरुलाई पनि बनाउनु थियो । भोलिपल्ट बाले छिमेकीहरूलाई ‘रसोगुल्ला’ (रसभरी) वितरण गर्नुभयो ।

सँगै परीक्षा दिएको सुरत गुप्ता पनि पास भएको थियो । हामी पढ्दा एउटै बेन्चमा बस्थ्यौ । अघिपछि पनि उसँग बाक्लै भेटघाट हुन्थ्यो । उसको सानो चमेना पसल थियो । सुरत मेरो सहपाठी मध्ये सबैभन्दा मनमिल्ने साथी । उसले आफ्नो पसलबाट मलाई पनि पुग्नेगरी खाला सामग्री ल्याउँथ्यो । खाजा खाने मेरो पैसा जोगिन्थ्यो । जोगाएको पैसा सिनेमा हेर्न काम लाग्थ्यो ।

सुरत र मैले कलेज पढ्ने सल्लाह गर्‍यौं । कलेज हाम्रो म्युनिसिपालिटीबाट लगभग दस किलोमिटरको दूरीमा थियो । रघुनाथपुर कलेज भनिन्थ्यो । इन्टरसम्म पढाइने । साइकल टिपेर डबल सवारी रघुनाथपुरतिर हुइँकियौं । एडमिशन फाराम लिन । ल्यायौं । फाराम लिएर घर आएपछि मात्र मैले बाबासँग आफ्नो मनको इच्छा जाहेर गरें— “बाबा कलेज पढ्छु ।” मेरो कलेज पढ्ने इच्छा उच्च शिक्षाको निम्ति नभएर कलेजको वातावरणमा एकछिन रमाइलो गर्ने हिसाबले थियो ।

मेरो इच्छा सुनेर बाले भन्न थाल्नु भो, निकै गम्भीर हुँदै— “बाबु ! तँलाई कलेजमा पढाउने मेरो बुता छैन । म सक्दिनँ । जतिसक्थें, गरें । मेट्रिक पास भइस्, मलाई पुग्यों । मेरो घिडकिसो पूरा भयो । अब पहाड जाने हो ।” मैले केही भनिनँ । मनमनै सोंच्न थालें— त्यो पहाड भन्ने कस्तो होला ?