चर्तुभुज आत्रेय
वर्षेनी ७ साउनको दिनलाई सम्झदा मलाई पुष्पलालको याद आउँछ । पुष्पलाल जसले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरे । पुष्पलालले नेकपाको स्थापना गर्दा देशलाई अन्धकार, दारिद्रय तथा पछौटेपनबाट प्रकाश समृद्धि एवं प्रगतिको युगतर्फ लैजान सकिन्छ भन्ने आत्मविश्वास लिएका थिए । नेपालका हरेक जनसमुदायलाई व्यक्तिवादी परिधिको घेराबाट बाहिर निकाली समाजको बहुसंख्यक अंशको हितमा लगाउन सकिन्छ भन्ने आत्मविश्वास लिएर नै नेकपा स्थापना गरेका थिए । त्यसैले त हो पुष्पलालको महत्व बढेको र नेकपालाई विशाल जनसमुदायले आफ्नो आस्थाको केन्द्र मानेको छ ।
हो, पुष्पलालको महत्व हिजोको याममा जस्तो थियो अहिलेको परिपेक्षमा पनि उस्तै छ, तर दुःखका साथ भन्नुपर्छ उनैले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टीको महत्व अहिले दिनानुदिन घट्दो क्रममा छ । यसको कारण हो आफूलाई नेकपाको हाकिम सम्झने र कार्यकर्ता साथी (कमरेड) हरूलाई कारिन्दा ठान्ने नेतृत्व वर्गको प्रवृत्ति । आज कम्युनिष्ट पार्टीको नेतृत्वदायी समूह आफूले आफैमाथि विश्वास गर्न छाडेर अरूहरू माथि विश्वास गर्न थालेको छ । कमरेड केपी ओलीले महन्थ ठाकुर र राजेन्द्र महतोमाथि विश्वास गर्छन् । कमरेड माधव नेपालहरू आफ्नै सहकर्मीहरूको विश्वास गुमाएर शेरबहादुर देउवाको भर पर्नु हुन्छ । एक जमानाका तेज तर्राठ कमरेडहरू प्रचण्ड र बाबुरामको हालत पनि उस्तै छ ।
हिजो आफूले अंगालेका मान्यताहरूप्रति आज आफैले अनास्था गर्नुको कारण हो– सत्ता लिप्सा । हिजो आफूले जनाएको आस्थाप्रति आज अनास्था जनाउनुको कारण हो– स्वार्थीन्धता स्वार्थले मान्छेलाई अन्धो बनाउँदो रहेछ । हामीले राष्ट्रको अपेक्षित उन्नति र समृद्धिको अभीष्टसम्म पुग्न श्रीमान नेताहरूलाई आशाको केन्द्रविन्दुमा राख्यौ र आस्थाको शिखर मान्यौं । हाम्रो लक्ष्य थियो गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार ।
हाम्रो यस लक्ष्यलाई पूरा गरिदिने माध्यम उहाँहरू नै हो भनेर भर प¥यौैं । सत्य कटु हुन्छ, चाहे कटु होस् चाहे मिठो आज सत्य बोल्नु पर्दा श्रीमान नेताजीहरू काण्डै काण्डमा रमाउन थाल्नुभएको छ । श्रीमान नेताहरूले आफू रमाउनका लागि हामीलाई रमिते बनाएर गरिएका काण्डखेतीका मुकदर्शक छौं हामी कम्युनिष्ट पार्टीका कार्यकर्ता । त्यसैले अन्धकार दरिद्रपना र पछौटेपनबाट मुक्त बनाई यो देशलाई प्रकाशको युगतर्फ, समृद्धिको दिशातर्फ र प्रगतिको चुचुरोतर्फ लैजाने दिशा निर्देश गर्न फेरि अर्काे पुष्पलाल र फेरि अर्का श्रीमानहरूको पर्खाइएमा छ । देश पुरानो पुष्पलाललाई नेताहरूले खाए । पुष्पलाललाई खाए, पुष्पलालले निर्माण गरेको पार्टीलाई खाए, पुष्पलालले बसालेको पार्टी– अनुशासन पद्दतिलाई खाए । आफूले खाएको थालमा आफैले हग्ने बानी परेकाहरूले पुष्पलालले सिकाएको संस्कार पनि खाए । आफूले गरेका दाबीहरू खाए, बाचाहरू खाए, आफूले खाएका कसम खाए, प्रतिज्ञा खाए, मूल्य–मान्यता र आदर्श खाए । आफ्नो दायित्व खाए, कार्य नीति खाए, रणनीति खाए । त्यसैले माथि भनेझैं पुष्पलाललाई खाए । व्यापक राष्ट्रिय हितलाई खाए ।
देशले अँगालेको असंलग्न परराष्ट्र नीतिलाई खाए । राष्ट्रिय उद्योग खाए, व्यापार खाए, स्वदेशी वस्तुमा आधारित निर्यात खाए । धागो कारखाना खाए, भुकुटी कागज उद्योग खाए, हेटौंडा कपडा कारखाना खाए, बाँसबारी जुत्ता तथा छाला कारखाना खाए, भक्तपुर इट्टा, टायल कारखाना खाए, जनकपुर चुरोट कारखाना खाए, केही कम्युनिष्ट पार्टीका नेताले खाए, केही कांग्रेसका नेताले खाए । प्रिय पाठक, मैले माथि नै भनिसकेको छु– सत्य कटु हुन्छ । चाहे कटु होस्, चाहे मीठोमा या नमिठो होस्, त्यसैले संस्कृतमा एउटा कथन छ– सत्यं बु्रयात् । सा“चो बोलम् । आफ्नो ब्रह्मले देखेको सत्यलाई उपेक्षा गरी ढाकछोप गर्दा स्थिति झन् झन् जटिल बन्दै जान्छ । साधारण जनताका आधारभूत आवश्यकताका वस्तुहरू दाल, चामल, पीठो, लत्ताकपडा, औषधि, ग्यास, चिनी आदि उपभोग्यवस्तु जनताको क्रयशक्तिले भेटाउन छाडेको छ । छोइनसक्नु अवस्थामा पुगेको खाने तेलमा मिसावटको समस्या झन जटिल बन्दै गएको छ ।
औषधि पसलहरूमा औषधिको मूल्य एकनास छैन । फरक–फरक औषधि फर्ममा फरक–फरक मूल्य छ । यी यस्ता सबै बेथितिहरू जताततै किन छन् छरपष्ट छन् ? आज देशमा जे जति दुर्दशाहरू व्याप्त छन्, त्यसको प्रमुख कारण एउटा सत्य नबोल्ने, अथवा आफ्नै आँखा अगाडिको सत्यलाई ढाकछोप गर्ने र अर्काे सत्यलाई देखेर जानेर बुझेर पनि नदेखेझैं, नजानेझैं अनि नबुझे झै गर्ने अवसरवादी ढाँट चरित्र ।
यो ढाँट तथा अवसरवादी चरित्रलाई हामी सबैले तिलाञ्जली दिन सक्यौं भने मात्र पुष्पलालले पार्टी स्थापना परिकल्पना गरेको आधुनिक नेपाल सुखी नेपालीको सपना साकार होला नत्र भने देशको अवस्था झन् दयनीय र जनताको स्थिति झन् चिन्तनीय हुनेछ । त्यसैले सात साउन पुष्पलाललाई सम्झन यो कटु सत्यलाई नभुलौैं ।