आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३ औं स्मृति–दिवस । पुष्पलालको जन्म १५ असार १९८१ मा रामेछापमा भएको हो । उनी पिता भक्तलाल र माता तुलसीकुमारीका माहिला छोरा हुन् । उनका पिता भक्तलाल पनि राजनीतिक रूपमा सचेत थिए । उसो त उनका दाजु गंगालाल नेपालको राजनीतिक इतिहासमा अविष्मरणीय र अमर नाम हो । १९९७ सालमा दाजु गंगालालसहित अन्य तीन जनालाई तत्कालीन जहानियाँ राणा शासकले हत्या गरेपछि पुष्पलालले १९९८ सालमा नै केही राजनीति सचेत र विद्रोह चेत भएका साथीहरूसँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए ।
नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान अद्धितिय छ, अजर अमर छ । किनकि पुष्पलालले कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद नगरेको भए नेपालमा कम्युनिष्ट आन्दोलनको विजारोपण केही पर धकेलिन सक्थ्यो । पुष्पलालले माक्र्सवाद–लेनिनवादलाई आफ्नो राजनीतिक दर्शन ठानेकै कारण उनले २००६ सालमा भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका हुन् ।
पुष्पलालको जीवन हेर्दा कतिपय सन्दर्भमा लेनिनसँग मेल खान्छ । जसरी लेनिन आफ्ना दाजुको मृत्युदण्ड पश्चात जारशाही विरोधी आन्दोलनमा अविश्रान्त लागे, पुष्पलाल पनि त्यसरी नै आफ्ना दाजु सहिद गंगालालको प्रेरणाबाट आजीवन सामन्तवाद विरोधी संघर्षमा होमिए । नेपाली वामपन्थी आन्दोलनका धेरै नेताले आफ्नो आदर्शलाई बिक्री गरेर सम्झौतापरस्त राजनीतिलाई अंगाले पनि उनले जीवनपर्यन्त आफ्नो निष्ठाबाट विचलित भएनन् ।
हक्की र स्वाभिमानी पुष्पलालको देशभक्तिको भावना अत्यन्त बलियो थियो । भारतको वनारसमा राजनीतिक शरणार्थी भएर बस्नु परे पनि भारतले नेपालमा गर्ने गरेको हस्तक्षेपको उनी आजीवन चर्काे आलोचक रहे । नेपालको मामलामा भारतीय कम्युनिष्ट नेताहरूका कतिपय सल्लाहलाई समेत नेपालको पक्षमा नहुने देख्दा उनले नकारे । सन् १९५० को असमान सन्धि, कोशी गण्डक सम्झौतालगायत भारतका प्रत्येक हस्तक्षेपकारी घटनाको विरोध गर्दै नेपालको स्वतन्त्रता, स्वाधीनताप्रतिको आफ्नो अडान कायम राखे ।
जुन बेला गणतन्त्रको कल्पना गर्न पनि गाह्रो थियो, उनले त्यही बेला गणतन्त्रको पक्षमा आजीवन आवाज जारी राखे । सारा राजनीतिक दल र शक्तिहरू कोही निरंकुश राजतन्त्र र कोही संवैधानिक राजतन्त्रको पक्षमा लागेका बेला पनि पुष्पलालले सैद्धान्तिक, वैचारिक र नीतिगत रूपमा आफूलाई गणतन्त्रको पक्षमा दृढतापूर्वक उभ्याएको देखिन्छ ।
यसरी हेर्दा नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिमा पुष्पलालले देखाएको बाटो उत्सर्ग र संघर्षकै बाटो हो, जुन आज पनि उत्तिकै सान्दर्भिक छ । जनबलबाट मात्रै नेपाली जनताको शासन व्यवस्था प्राप्त हुने भएकाले जनताप्रति भरोसा राख्ने व्यवस्था गणतन्त्र देशमा कायम छ । आज पुष्पलालले देखेको सपना पूरा गर्नु सबैको कर्तव्य हो ।