नवलपरासी । सडकमा अत्याधिक धुँलो उडाउन थालेपछि जिल्ला ट्राफिक कार्यालय पूर्वी नवलपरासीले टिप्परहरूको साइलेन्सर काट्ने अभियान सञ्चालन गरेको छ ।
धुँलोका कारण अन्य सवारी साधनको आवतजावत र पैदल यात्रीलाई सास्ती हुने गरेको छ । धुँलोका कारण सडक नदेखिँदा अन्य सवारी साधनको दुर्घटना बढ्ने र सञ्चालनमा समेत कठिनाई भएपछि मंगलबारदेखि अभियान सुरु गरिएको अस्थायी ट्राफिक पोष्ट दाउन्नेका सहायक निरीक्षक (सई) मीनबहादुर कुँवरले बताए । यो अभियान दाउन्ने क्षेत्रमा पर्ने राजमार्गबाट सुरु गरिएको हो ।
अधिकांश टिप्परहरूको साइलेन्सर भूँईतिर फर्किएको छ । मर्मत हुँदै गरेका सडकहरू र अन्य कच्चि सडकमा सञ्चालन हुने टिप्परहरूको लोडका कारण पिकअप बढी लिनुपर्ने र त्यसको हावाले अत्याधिक धुँलो उडाएपछि साइलेन्सर काट्न थालिएको कुँवरले बताए । बुटवल–नारायणगढको राजमार्ग अहिले मर्मत हुँदै छ । सोही राजमार्गको दाउन्ने क्षेत्र पहाडी मार्गमा पर्ने र पिकअप बढी लिनुपर्ने भएकाले त्यस क्षेत्रमा अत्याधिक धुँलो उड्ने गरेको छ । धुँलोका कारण त्यस क्षेत्रमा रातपरे सरह सवारी साधनले दिउँसै लाइट बालेर हिंड्नु पर्ने अवस्था छ ।
नदीजन्य पदार्थ बोकेका टिप्परहरू सोही राजमार्ग भएर चल्ने गरेका छन् । ‘भूँईतिर फकाइएका टिप्परहरूको साइलेन्सर काटिएको र छोटा तथा माथि उठेका साइलेन्सरहरूलाई फलामको पाता जोडेर माथि फर्काइएको छ ।’ –कुँवरले भने । १÷२ वटा बाहेक सबै टिप्परको भूँइतिरै साइलेन्सर जडान छ । अन्य ट्रकहरूको भने अधिकांश साइलेन्सर माथि नै रहेकोले समस्या नभएको उनको भनाइ छ । यो अभियान निरन्तर चल्ने ट्राफिक प्रहरीले जनाएको छ ।