चर्तुभुज आत्रेय
बीपी र पुष्पलाल नेपालको जनताले पढ्ने फाँटका दुई दीपशिखा हुन् । दुवै दीपशिखाको आलोकले नेपाली राजनीतिलाई गन्तव्यतर्फको दिशा निर्देश गरेको छ । अहिले समयका पाइलाहरू धेरै अगाडि बढेका छन् । त्यसैले अँध्यारो रातमा टिंटिमाउने जुनकिरीहरू स–सानो प्रकाश लिएर भए पनि यत्रतत्र छरिएका छन् र उज्यालो छर्ने प्रयास त गर्दैछन् । तर बीपी र पुष्पलालको विचारले अँध्यारोमा जुनको प्रकाश बनेर राजनीतिलाई जसरी गन्तव्यको मार्ग प्रशस्त गर्ने सामथ्र्य राख्थ्यो त्यो सामथ्र्य भएका राजनीतिक व्यक्तित्वहरू अझै जन्मन सकेका छैनन् । हुन सक्छ विभिन्न प्रतिकुलताले गर्दा नयाँ पुस्ता ओझेलमा परेको हुँदा त्यो प्रतिभाले आफ्नो पहिचान दिन नसकेको होस्, तर देशले भने बीपी र पुष्पलालको अभाव पूरा गर्ने खाटी राज नेता मागेको छ ।
अहिले जनताका समस्या र देशको अवस्थालाई बुझ्ने र तदनुरूप काम गर्न सक्ने समर्थवान नेतृत्व चाहेको छ देशले । देशको राजनीति हाँक्न आज विदेशको सहयोग चाहिने विडम्बना कसरी आयो ? यस प्रश्नको आधारभूत तथ्य बुझ्न उही बीपी र पुष्पलाललाई बुझ्नु पर्छ । बदलिएको परिस्थिति र आवश्यकतालाई मनन गर्न बीपी र पुष्पलाललाई पढ्नु पर्छ । नेपालको सत्तामुखी राजनीतिक धरातलबाट क्रमशः ओझेल हुँदै जान थालेका बीपी र पुष्पलाल जनमानसमा भने हिजो जस्तो दिशानिर्देशक र पथ प्रदर्शकका रूपमा थिए । आजको बदलिएको परिस्थितिमा पनि उही रूपमा यथावतै छन् । गणतन्त्र स्थापनापछि यताका १५ वर्षसम्मको सिंहावलोकन गर्दा सत्तामुखी राजनीतिको हलाहल विषले मरणासन्न बनेको देशको दुर्दशा र जनताको हविगतले यही बताउँछ ।
आफ्नो समयमा बीपी र पुष्पलालले देशमा क्रान्ति अपरिहार्य छ भने उनीहरू पछिका नेताले यस क्रान्तिमा आम जनताको सहभागिता मागे । हामीले सहभागिता जनायौं बीपी र पुष्पलालका प्रतिनिधि पात्र सम्झेर नेताहरूलाई क्रान्तिका हाम्रा र अभिभावक मान्यौं । बीपी र पुष्पलालमा झैैं हामीमा पनि विश्वास र भर पर्नुहोस् हामी क्रान्तिदूत हौं, हमी सच्चिएका छौं भनेपछि यिनीहरूमा पनि दृढ संकल्प, समर्पणभाव र लगनशीलता छ भन्ने ठानेर क्रान्तिले देश विकासको गतिमा तीब्रता ल्याउनेछ भन्नेमा शतप्रतिशत विश्वास ग¥यौं र भर प¥यौं । तर त्यो सबै भ्रम रहेछ ।
बीपी र पुष्पलाल दुवैले दुरूपयोग नहोस् भनी बारम्बार क्रान्तिको भन्ने गर्नुहुन्थ्यो । राजनीतिक क्रान्तिले मात्र क्रान्तिको लक्ष्य पूरा हुँदैन, नेता र कार्यकर्ता दुवैमा मानसिक क्रान्ति एवं परिवर्तन पनि सँगसँगै हुनु पर्दछ । यदि मानसिक परिवर्तन भएन भने बीपीको भाषामा ‘क्रान्तिको फाइदा सुकिला मुकिला नेता र उनको वरिपरि घुम्नेहरूले मात्र लिन्छन् सर्वसाधारण जनताले केही पनि पाउँदैनन् ।’ यसै भनाइलाई पुष्पलालको भाषामा भन्दा ‘राजनीतिक क्रान्ति सम्पन्न भइसके पनि यदि नेता र कार्यकर्ता दुवै थरी पक्षमा मानसिक परिवर्तन भएन भने अवसरवादले टाउको उठाउँछ, फलस्वरूप अवसरवादी नेता र उनको चाकरी गर्ने चाटुकारहरूले क्रान्तिका उपलब्धिहरूको दुरूपयोग गर्छन् । त्यसैले कार्यकर्ता हमेसा सतर्क हुनु पर्दछ भने जनता हमेसा संगठित हुनु पर्दछ । पार्टीको नीति र सिद्धान्तअनुसार पार्टीलाई चलायमान गराउन दत्त चित्तता, समर्पण मात्र र लगनशीलता हुनुपर्दछ ।
०६२÷०६३ को क्रान्ति सम्पन्न भइसकेपछि अब देशको राजनीति विकासोन्मुखी हुनेछ भन्नेमा हामी दृढ विश्वस्त थियौं । देश र जनताको गरिबी केही वषएमै हट्नेछ भन्नेमा ढुक्क थियौं । भ्रष्टाचारको र भ्रष्टाचारीको जरो उँखोलिनेछ भन्नेमा आश्वास्त थियौं । राजनीतिक नेतृत्वमा, सरकारमा र प्रशासनमा स्वच्छ छवि भएका व्यक्तिहरूले स्थान पाउने छन् । दलहरूभित्र अब गुटबन्दीले स्थान पाउने छन् । दलहरूभित्र अब गुटबन्दीले स्थान पाउने छैन र मन्त्री नेताहरूले कार्यकर्तालाई गुलाम ठान्ने र गर्ने व्यवहारको अन्त्य हुनेछ भन्ने सम्झेका थियौं । अहिले खेदका साथ भन्नु परेको छ–हामीले जे आशा लिएका थियौं त्यो त सर्वथा भ्रम रहेछ । ठूला दलहरूले चुनावी घोषणा पत्रमा जहिले पनि भ्रष्टाचार, ढिलासुस्ती र महँगी एवं कालो बजारीलाई नियन्त्रण गर्ने प्रतिज्ञा गरेर जनताको मन जिती विजयी हुन्छन् त व्यवहारमा चुनाव जितेर मन्त्री बनिसकेपछि आफ्ना सबै कबूलहरू बिर्सिदिन्छन् । ठूला दलहरूका हर गतिविधिले यही प्रकट गर्दछ । देशको पछौटेपनका आधारभूत कारण यिनै हुन् । साउन ६ गते बीपी जयन्ती र साउन ७ गते पुष्पलाल स्मृति दिवस परेकोले वर्तमान नेपालको राजनीतिका दुई प्रमुख धार कांग्रेस र कम्युनिष्ट पार्टी र दुवै पार्टीका शीर्ष नेताहरूको गिदीमा गोबर नभरियोस्, आफूले खाने थालमा आफैले हग्ने काम नहोस्, बीपी र पुष्पलाललाई शब्दले हैन भावनाले सम्मान गरून् ।