मुस्लिमहरूको दोस्रो महान पर्व इद उल जुहा (बकर–इद) आज भव्य रूपमा मनाइँदैछ । मुस्लिम समुदायले यो पर्वलाई निकै महत्वका साथ लिने गर्दछन् । पवित्रा महिना रमजानको करिब ७० दिनपछि यो पर्व आउने गर्दछ । मुस्लिम समुदायको आग्रह र सम्मानका लागि नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ । नेपालमा सबै धर्मावलम्बीहरूको चाडपर्वलाई सम्मान गर्ने र खुसी साटासाट गर्ने प्रचलन छ ।
मुस्लिम समुदायले आजको दिनमा एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्बानी अर्थात् बली दिई मनाउने गर्दछन् । इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बली दिन जंगलमा लगेपछि छोरालाई बली चढाउन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्वालाई राखिदिएको किंवदन्ती मुस्लिम धर्मग्रन्थमा उल्लेख छ ।
आजको दिनमा बिहानै स्नान गरी मस्जिदमा गई मुस्लिम समुदायका भक्तले नमाज पढेपछि एक अर्कालाई हद मुबारक भन्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । त्यसपछि मुस्लिम धर्मग्रन्थ कुरानअुनसार खसी, बोका, राँगा, भेंडा, उँट आदि चौपायालाई कुर्वानी अर्थात् बली दिने गरिन्छ ।
यसरी बली दिइएको पशुको मासु तीन भाग लगाइन्छ । त्यसमध्ये एक भाग आफ्नो लागि, अर्काे एक भाग आफ्ना नजिकका मित्रलाई र अन्तिम तेस्रो भाग गरिब तथा असहायलाई दिने गरिन्छ । बकर–इद पर्वको महत्वपूर्ण विशेषता भनेको गरिब मुस्लिम समुदायले पनि धनी समुदाय सरह खुसियाली साटासाट गर्ने अवसर प्राप्त गर्दछन् । कोही खुसी र कोही निराश हुनपर्ने अवस्था आउँदैन ।
मुस्लिम समुदायको बकर–इद पर्वको खुसियालीमा अन्य धर्मावलम्बीहरू पनि जोडिने गरेका छन् । मुस्लिम समुदायले खुसियाली साट्दै भोजन ग्रहणका लागि हिन्दूहरूलाई आमन्त्रण गर्ने प्रचलन बढ्दो छ । यसै पनि नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलुक हो । त्यसैले यहाँ सबै धर्मको उच्च सम्मान छ ।
अर्काेतर्फ अहिले सदाको जस्तो अवस्था छैन । कोरोना महामारीको जोखिम छ । मुस्लिम समुदायले सामुदायिक रूपमा नवाज पढ्ने धार्मिक प्रचलन रहेकाले संक्रमण फैलिन सक्ने जोखिम छ । अहिलेको अवस्थामा इस्लाम धर्मावलम्बी नेपालीहरूले स्वास्थ्य मापदण्ड पालना गरी बकर–इद मनाउँदा कोरोनाबाट जोगिन सकिने छ । जेहोस् नेपालमा विभिन्न समुदायका चाडवाड, रीतिरिवाज, धर्म, संस्कार र संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएका छन् । आजको दिनमा सम्पूर्ण मुस्लिम समुदायमा बकर–इद पर्वको हार्दिक शुभकामना !