साउन महिनालाई शिव भगवानको महिनाको रूपमा मानिन्छ । त्यसमा पनि साउन महिनाका सोमबार हिन्दू महिला र भक्तजनहरूका लागि विशेष महत्वको रुपमा रहने गर्दछन् । यी दिनमा उपबास बसेर शिवालयहरुमा दर्शन एवं पूजा गर्ने गरिन्छ । बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । सोमबारको दिन पूजा आरधाना गरे शिव भगवान खुसी हुने र मागेको वर दिने भन्ने विश्वास छ ।
‘ऊँ नमः शिवाय’ शिवजीलाई प्रसन्न पार्न जपिने मन्त्र हो । अविवाहित स्त्रीले राम्रो बर पाउन शिवजीको पूजा आराधना गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुख, शान्ति र पतिको दिर्घायूका लागि शिवजीको पूजा गर्दछन् । शास्त्रमा शिव एकदमै शान्त स्वभावका देवता हुन भनेर लेखिएको छ । यसको अर्थ उनलाई सजिलैसँग खुसी बनाउन सकिन्छ ।
जेहोस् साउन ४ गतेको पहिलो सोमबार देशैभरका शिवालयहरू धर्मावलम्बीहरूले भरिभराउ भए । साउनका सबै सोमबारमा यस्तै भीड हुने आँकलन गर्न सकिन्छ । धार्मिक रूपमा शिवजीको पूजा गरेर मागेको वर प्राप्त हुन्छ वा हुँदैन, त्यसको एकिन कसैले गर्न सक्दैन । आस्था हुनेले पूजाआजा गर्ने हो । आस्था नहुनेको हकमा बेग्लै कुरा हो । धर्मलाई अफिम मान्ने विचार समूहहरु पनि नेपालमा छन् ।
तर अहिलेको मूल कुरा शिवालयहरू कोरोना संक्रमणको मुहान नबनुन् भन्ने होे । साउनको पहिलो सोमबार शिवालयहरूमा व्यापक भीड देखियो । अझै मास्क नलगाई मन्दिर जाने जमात पनि देखियो । मास्क खोलेर तस्वीर खिच्नेहरु पनि उत्तिकै देखिए । शिवालयहरुमा कोरोना संक्रमण हुनु अघिको अवस्था जस्तै छ । साउनका सबै सोमबार भक्तजनको व्यापक भीड हुने देखिन्छ । यसले कोरोना संक्रमणलाई बल पुगेको छ ।
धर्मकर्म गर्ने हो, तर बाँचेर गर्ने हो । कोरोना महामारीको बेलामा शिवजीको पूजा गर्दा स्वास्थ्य मापदण्ड पालना गरेर गर्नु उत्तम हुनेछ । यसमा नागरिक स्वयंले पहल लिनु पर्दछ । अनिवार्य मास्क लगाउँदै भौतिक दुरी कायम गरेर पूजा गर्न सकिन्छ । साउनको पहिलो सोमबार जस्तो भद्रगोल पाराले पूजाआजा गर्दा संक्रमित हुने सम्भावना अत्यधिक छ ।
तसर्थ सात्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा मनाइने साउने सोमबार कोरोना महामारी फैलाउनेबारे नबनुन् । शिवालयहरू कोरोनाको मुहान नबनुन् । हरेक नागरिक कोरोनाको प्रिय नहोउन । तर कामनाले मात्र संक्रमण रोकिने होइन । त्यसको लागि व्यक्ति–व्यक्ति सचेत हुनै पर्दछ । सबैले होशियारी अपनाउनै पर्दछ । स्वास्थ्य मापदण्ड पालना नगरे कोरोनाको शिकार भइन्छ भन्ने हेक्का सबैले राखौं ।

=”13611″][/dflip]