नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई कम्युनिष्ट आन्दोलनको गद्दारको संज्ञा दिएका छन्। सोमबार ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधनका क्रममा आक्रोशित मुद्रामा प्रस्तुत भएका ओलीले आइतवार संसदमा भएको घटनालाई असाधारण र चरम अनैतिकको संज्ञा दिए।

’हिजो संसदमा कांग्रेस दलका नेता शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका केही सांसदहरुको कदम असाधारण, अस्वभाविक र चरम अनैतिक हो’, उनले भने, ’यो कुरा हाम्रो पार्टीका लागि शर्मनाक र लज्जास्पद हो।’

ओलीले आफ्नो बहुमत नभएको कमिटीमा आउँदिन भन्ने नेपालले अध्यक्ष पद खोजेको आरोप पनि लगाए।

’माधव नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार हुन्। उनको हिजोको कृत्य कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको अपराध हो’, उनले भने, ’कम्युनिष्ट आन्दोलन सक्ने गरी भइरहेको कार्यको पराकाष्टा हिजो देखिएको छ।’