पक्षमा १६५, विपक्षमा ८३ मत, एमालेका २२ सांसदले दिए देउवालाई मत
लुम्बिनी संवाददाता
बुटवल
पुनःस्थापित प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ (६) बमोजिम प्रधानमन्त्री देउवाले विश्वास मत लिएका हुन् ।
सर्वोच्च अदालतको फैसलामा टेकेर प्रधानमन्त्री बनेको एक साता नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे । मतदानमा जम्मा २ सय ४९ मत खसेको थियो । आइतबार राति भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा भएको मत विभाजनमार्फत भएको मतदानमा देउवाले बहुमत प्राप्त गरेको घोषणा गरेका हुन् ।
प्रधानमन्त्री देउवाको पक्षमा काँग्रेससहित माओवादी केन्द्र, जसपाका दुवै पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका थिए । त्यस्तै प्रस्तावको विपक्षमा एमालेका सांसदले मतदान गरेका थिए । एमालेका माधव नेपाल पक्षका केही सांसद तटस्थ बसेका थिए भने माधव नेपालसहित केही एमालेले नेताले देउवालाई मत दिएका थिए । ओली पक्षका समेत गरी एमालेका २२ सांसदले देउवालाई मत दिएका थिए । एमाले उपाध्यक्ष समेत रहेका भीम रावलले भने आइतबार दिउँसो सांसद पदबाट राजीनामा दिएका थिए ।
देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।
त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधर सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढालगायतले देउवालाई मत दिएका हुन् । एमाले कार्यालय सचिवसमेत रहेका सांसद शेरबहादुर तामाङले चार सांसदले देउवालाई मत दिएको पुष्टि गरेका छन् ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन गर्ने नाममा केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बाध्य पारेको बताएका छन् । निवर्तमान प्रधानमन्त्रीले मध्यरातमा प्रतिनिधि सभा भंग गर्ने सिफरिस गरी राष्ट्रपतिलाई समेत बाध्य पारेको देउवाले बताए ।
प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताए । आफ्नो सरकारको प्राथमिकतामा खोपमात्रै रहेको बताए । उनले भने –‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमकिता खोप, तेस्रो प्राथमिकता खोप ।’
प्रधानमन्त्री देउवाले विकास भन्दा नागरिकको जीवन रक्षा आफ्नो प्राथमिकतामा रहेको बताए । प्रधानमन्त्री देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा उपस्थित नभएमा असन्तुष्टि जनाएका छन् । विश्वासको मतमाग्दा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले ओली संसद आएको भए आफूलाई खुशी लाग्ने बताए ।
देउवाले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेकामा एक्लै जस नलिन नेकपा एमालेलाई आग्रह गरे । प्रतिनिधिसभामा सबै सांसदले एकमतले नक्सा पारित गरेको भन्दै देउवाले एक्लै जस नलिन आग्रह गरे । प्रधानमन्त्री देउवाले मधेसको मुद्दामा आफू छलफल गर्न तयार रहेको पनि बताए ।