शिक्षकले चुरोट सल्काए र त्यसको सर्को तान्दै मुखमा टाँसिरहेको त्यो सेतो रुमालबाट धुवाँ फाल्न थाले । चुरोटको सर्को लिंदै, धुवाँ रुमालबाट फाल्दै, रुमाल सार्दै गर्दा केही बेरमै रुमाल भरी काला धब्बा छापिए ।

गजलसँग हिंडेको जिन्दगी

बुँद रानाको संस्मरण —

“गरे के पो हुँदैन र गर्ने काम गरे पछि
ढुङ्गा पनि मुँगा बन्छ घन छिनु परे पछि ।”

कक्षा कोठामा म कहिल्यै अघिल्लो बेन्चमा बसिनँ । सबभन्दा पछाडिको बेन्चमा बस्न मन पराउँथे । अघिल्लो बेन्चमा बस्न मन नपराउने पहिलो कारण थियो म जेहेन्दार थिइनँ । केही सोध्नु परिहाले शिक्षकले अघिल्लो बेन्चकालाई सोध्ने गर्थे । म यो समस्याबाट बच्न चाहन्थें । दोस्रो र त्यसमा पनि खास कारण थियो पछाडिको बेन्चमा बसेर इतर गतिविधि गर्न पाइने । इतर गतिविधि भन्नाले आफुलाई मन लागेको चित्र कोर्ने, कविता, कथा जस्तै जस्तै केही लेखिरहने ।

पढाउँदै गर्दा एकदिन मेरो बेन्च अर्थात् पछाडिको बेन्चमा शिक्षकका आँखा पर्न गएछन् । मैले भनिहालें म त्यतिबेला बेन्चमा बस्नुको फाइदा लिइरहेको थिएँ । मेरो अन्य गतिविधि चालु थियो । मेरो गतिविधिले छेवैको सहपाठीलाई पनि आकर्षित गरेको रहेछ । उसको पनि पढाइतिर ध्यान थिएन ।

“पिछे के बेन्चमें क्या चल रहा है ?”— ठूलो स्वरले शिक्षक गर्जेका थिए । मलाई उछिन्दै मेरो गतिविधिमा सहभागि सहपाठी जुरुक्क उठेर भनिहाल्यो— “सर, लोकबहादुर कविता लिखरहा है” ।

लोकबहादुर ! कपि लेकर मेरे पास आओ !” शिक्षकको आदेश नमान्ने कुरै भएन । डराइ डराइ नजिक गएँ । मनमनै डराएको थिएँ । अब खाने भएँ चड्कन च्युरा । पढाइको बेला पढ्नमा ध्यान नदिएर अरु नै गतिविधि सञ्चालन गरेको अभियोगमा । मानसिक रुपले आफुलाई तैयार पारिसकेको थिएँ, सजायँ भोग्न ।

शिक्षकले मेरो रफकापीमा एकछिन नजर डुलाए । उनलाई मेरा केही थान कच्चा हरफहरुले प्रभाव पारेर होला सिंगो कक्षालाई सम्बोधन गरेर भन्न थाले— “लोकबहादुरकी कविता तुम भी सुनो ।” अनि मैले जे जति लेख्न भ्याएथें कपीमा, सबै पढेर सुनाए । अन्त्यमा संक्षिप्त टिप्पणी पनि गरे— “लगता है लोकबहादुर भविष्य में कवि बनेगा ।”

त्यो कविता उसै पनि पूर्ण थिएन । जति थियो त्यो पनि सम्झना छैन । तर के सम्म सम्झना छ भने कवितामा दुखित पीडितहरु सम्बोधित केही थिए । त्यसको दुईवटा हरफ अझै सम्भन्छु । त्यो थियो—
‘द्वार द्वार दुखियारी दिखती
दर्दभरी कहानी लिखती ।’

जीवन यात्रा जारी थियो । बिना लक्ष्य । बिना उद्देश्य । विशुद्ध प्राकृतिक रुपमा । डाक्टर र इन्जिनियर बन्ने लक्ष्य लिनलाई तदनुकूलको परिस्थिति परिवेश थिएन घरको । जेनतेन एकपेट पाल्नसम्म पुग्ने परिवारको छोरो । अलिकति भए पनि पढ्नुपर्छ, पढ्नु राम्रो कुरा हो। पढेकालाई कसैले ठग्न सक्तैन । यस्तैयस्तै भावनाबाट अभिप्रेरित । भनिहाले डाक्टर, इन्जिनियर हुनु थिएन । अलिकति पढ्नु थियो । त्यसैले होला वार्षिक परीक्षामा तेस्रो श्रेणीमा उत्तिर्ण हुन्थें । यो श्रेणीलाई उपहासमा ‘गान्धी क्लास !’ भन्ने गरिन्थ्यो । गान्धीसित सम्बोधित एउटा अर्को प्रचलित भनाइ थियो— “मजबुरीका नाम महात्मागान्धी ।” जुन गान्धी उर्फ मोहनदास कर्मचन्द गान्धी अर्थात् महात्मा गान्धीले गुलाम भारतलाई स्वतन्त्र तुल्याउन अंग्रेजहरुका विरुद्ध आजीवन संघर्ष गरें, संघर्षमात्र गरेनन् अपितु अंग्रेजलाई आफ्नो देश फर्किन बाध्य बनाए, तिनलाई त ‘मजबुरीका नाम’ नभनेर ‘बहादुरीका नाम महात्मा गान्धी’ भन्नुपर्ने हो । उल्टो बेतुकको टुकका सुन्दा अचम्म लाग्थ्यो ।

कुराको उल्टो बुझाइका सन्दर्भमा एउटा घटना सम्झिन पुगें । हाम्रो आवास क्षेत्रकै नजिक विज्ञान शिक्षकको डेरा थियो । उनी मलाई माया गर्थे । भन्थे— “तुम्हें कुछ पूछना हो सिखना हो, मेरे घर चले आना !” कहिलेकाहीं जान्थें । खास गरी वार्षिक परीक्षा आउने बेलामा । मैले पनि गुनको बदला उनले अह्राएको सानोतिनो काम गरेर तिर्थे । लेख्दै गर्दा उनको नाम सम्झना भयो । जनार्दन साहु । हामी विद्यार्थीले आपसमा शिक्षकहरुको नाम राख्ने गर्थ्यौं । हाम्रो नामावलीमा कोही पेटू ! कोही लम्बू ! कोही तिलकधारी ! कोही लीलीपुट ! हुन्थे । आकृति र प्रकृति हेरेर आफुखुसी नाम राख्ने चलन हिजोमात्र थिएन । आज पनि जारी नै छ । एकखालको विकास संस्कार । हामी जनार्दश सरलाई लीलीपुट भन्ने गथ्र्यौं । उनको कद होचों हुनाले । एकदिन सरले मलाई दुई रुपियाँ र झोला दिंदै भन्नुभयो— “लोकबहादुर ! सब्जी लेआओ !”

आइतबार हात लाग्ने गर्थ्यो । हाटमा गएँ । सब्जी खोज्न थालें । एक ठाउँमा भेटियो । टोकरीभरि थियो । दुई रुपियाँ तिरें । टोकरीभरिको सब्जी झोलामा अटेसमटेस कोचारेर फर्कें । सरको हातमा झोला सुम्पें । झोला समात्ने बित्तिकै सरले सोध्नुभयो— “लोकबहादुर ये क्या ले आये ?” मैले सहज भावले भनें— “सर आप ही ने तो कहा था सब्जी लाने के लिए !” सरबाट प्रतिप्रश्न आयो— “बाजारमें आलु, गोबी, टमाटर कुछ भी नहीं था ? तुम सिर्फ साग ले आये ?” सरको प्रश्नले थाहा पाएँ मबाट भुल भै सकेको रहेछ । मैले सब्जीको अर्थ साग भन्ने बुझेको रहेछु । सर एक्लै थिए । परिवार साथमा थिएनन् । एकटोकरी साग के गरी खपत गर्ने ? अलिकति झिंझिंदै, अलिकति हाँस्दै सरले भन्ने थाले— “अरे मूरख ! सब्जीका मतलब साग नहीं होला !!”

उपदेशात्मक ज्ञान भन्दा प्रयोगले सिद्ध गरेको ज्ञान प्रभावकारी र दीगो हुने गर्छ । त्यसैले भन्ने गरिन्छ— ‘उपदेश दिन सजिलो, उदाहरण बन्न गाह्रो ।’

आफ्ना अग्रजहरुले अथवा उमेरले बुढापाकाहरुले कसैले चुरोट, कसैले बिंडी सल्काएर ल्याउन अह्राउँदा उनीहरुले थाहा नपाउने गरी बाटोमै एकाध सर्को तान्ने बानी पर्न लागेको थियो । चुरोट बिंडी खानेहरुकै सिको गेर घिरौंला, लौका, फर्सीका सुकेका झालको सुकेका डाँठ चुरोट, बिंडीकै आकारमा टुक्रयाएर त्यसैलाई सल्काउँदै लुकी लुकी तान्न मजा मानिन्थ्यो । घुम्रपानको बानीले मानौं स्थायी डेरा जमाउन खोज्दै थियो ।

प्राइमरी स्कूलमा चारकक्षा पढ्दा ताकाको कुरा हो यो । सधैं शिक्षकले आउने बित्तिकै पाठ पढाउन लाग्थे । त्यो दिन त्यसो भएन । शिक्षकले आफुले गृहकार्य गरी ल्याएका सामग्रीहरु एकपछि अर्कोगरी झिक्न थाले । पैन्टको पाकिटबाट सलाइ र रुमाल निस्किए । कमेजको पाकेटबाट एक खिल्ली चुरोट । झिकेर टेबुलमा राखिएका सामग्रीहरु एक एक गरी उठाउँदै सोध्न थाले— “ए क्या है ? ए क्या है ?” विद्यार्थीहरु सबैले एकसोरमा नाम भन्दै गए ती वस्तुको सिगरेट, माचिस, रुमाल ।

शिक्षकको पालो रुमाल टिपेर त्यसलाई फैलाउँदै विद्यार्थीतिर देखाएर सोधे— “इस रुमालका रंग बतलाओ ।” रुमाल सेतो थियो । सबैले भने— “सफेद है सर ।” शिक्षकले फेरि सोधें— “इसमें कहीं कुछ दाग हो तो बताओ !” जवाफमा सबैले बोले— दाग नहीं है सर !”

केही बेरलाई शिक्षक/विद्यार्थी बिचको प्रश्नोत्तर स्थगित भयो । शिक्षकले चुरोट सल्काए र त्यसको सर्को तान्दै मुखमा टाँसिरहेको त्यो सेतो रुमालबाट धुवाँ फाल्न थाले । चुरोटको सर्को लिंदै, धुवाँ रुमालबाट फाल्दै, रुमाल सार्दै गर्दा केही बेरमै रुमाल भरी काला धब्बा छापिए ।

हामी रल्ल परेर त्यो सबै दृश्य हेरिरहेका थियों । रुमाल सेतो छ । धुवाँ पनि सेतै छ । रुमालबाट धुवाँ बाहिर निस्किँदा रुमालमा कालो दागी बस्छ ! जादु गरेजस्तो । कस्तो कस्तो अचम्मको घटना हामी साना विद्यार्थीहरुका निम्ति ।

त्यो प्रदर्शन पश्चात शिक्षकले आफ्नो प्रवचन थाले— “देखो बच्चों, सिगरेट और बिडी पिना कितना खतरनाक होता है तुम इस रुमालको देखकर समझ सकते हो । यह रुमाल कुछदेर पहले कित्ना साफसुघरा था अब देखो इसमें कितनी गन्दगी आगाई ! गन्दगी किसनेलाई ? धुवें ने । धुवाँ कहाँ से आया ? सिगरेट से !” यति भनिसेकपछि उनले फेरि थपे— “हम जिस फेफडेसे साँस लेते हैं और साँस छोडते हैं वह फेफडा सफेद रुमालकी तरह साफसुथरा होता है । जब कोई सिगरेट पिता है फेफडा गन्दा होजाता है । जहाँ गन्दगी होती है वहीं रोग आजातें है । जैसे टीबी, केन्सर ।”

शिक्षकले धुम्रपानबाट हुने हानीबारे बताउँदैछन् म भने हिजो अस्तिको कुरा सम्झिंदैछु । चुरोट बिडीको एकाध सर्को तानेको, चुरोटको विकल्पमा घिरौंला, लौकाका सुकेका डाँठ छानेको । शिक्षकको आजको त्यो प्रदशनले मलाई लाग्यो म सम्भावित दुर्घटनामा पर्नबाट जोथिएँ । फोक्सो बिग्रिने कुराले मेरो सातो लगेको थियो । मैले धुम्रपानलार्य मनमनै भनें— टाटा बाइ बाई !

जिउडाल सामान्य खालको भए पनि बा’को नाक विशेष खालको थियो । मंगोलियनहरुको भन्न कत्ति न मिल्ने । चुच्चो । चुच्चो नाक साथै धर्मपरायण व्यवहारका कारणले सबैले ‘बा’लाई ‘पण्डितजी’ भनी सम्बोधन गर्थे । घरमा देवीभागवत, रामायण, स्वस्थानी व्रतकथा आदिका पुस्तक हुन्थे । बनारसबाट मगाइन्थ्यो पात्रो । बा’ले पात्रो हेर्ने गर्नुहुन्थ्यो । छिमेकीले सोध्थे— कहिले हो पूर्णे ? कहिले हो औंसी ?

नियमित कार्यक्रमकै रुपमा माघ महिनामा स्वस्थानीको व्रतकथा घरमा पाठ गरिन्थ्यो । श्रद्धालुहरुको राम्रै उपस्थिति हुने गर्थ्यो । बा’को सहायकको भूमिकामा म हुन्थें । बा’ले कहिलेकसो लौ अब तैले पढ त भन्नुहुन्थ्यो र मैले स्वस्थानी कथा पढ्थे । मैले पढेको धेरैले मनपराउँथे । मन पराउनाको कारण थियो— मेरो लयात्मक वाचन शैली र ध्वनिको घोर धनत्व ! मैले आजापूजामा रुचि राख्दा बा’ खुसी हुनुहुन्थ्यो । मलाई देवी देवताको स्तुति घोक्न लाउने त बानी नै भैसकेको थियो बा’को । यसै क्रममा या कुन्देदु तुषार हार, कर्पूर गौरं, सरस्वति मयादृष्ट्का आदि कण्ठ पारिसकेको थिएँ । सतीदेवीका अङ्ग पतन भएका पीठहरु एकसय आठ र तिनको उत्तिकै ठेगाना मलाई आउँदो भैसकेको थियो— काशी विषलाक्षी, नैमिशारण्य–लिङ्ग धारिणी इत्यादि । हनुमान चालिसा त मुस्किलले दुईपटक मात्र पढें हुला कण्ठ भयो । अहिले पनि त्यो चालिसा श्वररर भन्न सक्छु जस्तो लाग्छ ।

म धर्मपरायण थिएँ कि थिइनँ त्यो भन्न सक्त्तिनँ । धर्मभिरु चैं पक्कै थिएँ । घर बाहिर कतै जानुपर्दा बाटोमा भेटे जति मन्दिरका देवतलाई नढोगी मनले मान्दैन्थ्यो । लाग्थ्यो कुनै एउटालाई ढोगिनँ भने त्यो देवता रिसाउँछ । अरुलाई ढोग्ने मलाई हेप्ने भन्छ र सराप दिन्छ । सरापले दुःख पाइन्छ । मन्दिरमा पसेर टीका लगाइमाग्दा मख्ख पर्थे । बा’ले मलाई धर्मपरायण बनाउँदै हुनुहुन्थ्यो ।

एकप्रकारले भनौं मेरा आध्यात्मिक गुरु हुनुहुन्थ्यो मेरा बा । सामाजिक व्यवहारबारे उपदेश दिंदा बा’ले भन्नुुहुन्थ्यो— हेर छोरा ! रिस भनेको आगो हो । कहिल्यै कसैसित रिस नगर्नू । यो उपदेशलाई अझ सशक्त बनाउन बा’ले दिने गरेको यो अर्ति अझै विचित्रको छ— “कसैले टाउको मै दिसा गरिदियो भने पनि बरु पखाल्नु ! किन यसो गरिस् भनेर झगडा नगर्नू !” अचम्म लाग्छ बा’को यो खालको चिन्तन प्रणाली सम्झिँदा ।

अर्काले जालसाजी गरेर सारा श्रीसम्पत्ति सिरिखुरी पारेर सुकुमबासीको अवस्थामा पुगेको मान्छे । कसरी त्यस्तो सहनशील हुन सक्छ ? यो कुन खाले मनोविज्ञान हो ? जेहोस्, मलाई यो भन्न मन लाग्छ— बा’ छुट्टै लोकमा फिट हुने मान्छे, झुक्किएर यो लोकमा जन्मिनु भएछ ।

अरु कुरा त्यस्तै हो, बा’ले रिसबारे दिनुभएको अर्तिले मलाई त्यति साह्रो प्रभाव पारेन । कतै विधि विपरीतका गतिविधि हुँदा, सोझै भन्नुपर्दा अन्या हुँदा मलाई रिस उठ्थ्यो, उठ्छ । रिस शब्द प्रयोग नगर्ने हो भने पनि त्यस्तो क्रियाको प्रतिक्रिया जनाउन मन लाग्छ । जनाउने गरेको छु ।

एकदिन कक्षा आठका सहपाठी पूरन हरिजनलाई कक्षामा रुँदै गरेको देखें । मैले सोधें— “के भो ?” उसले जवाफमा कक्षाकै कुनै एक छात्रको नाम लिएर भन्यो मलाई फलानाले गाली गर्‍यो, पिट्यो । त्यो फलानो भन्नेसँग जान्न चाहें किन पिटेको रहेछ— “तुमले पूरनको क्यूँ मारा”। उसले बडो रवाफ साथ जवाफ दियो— “तुमसे मतलब ? मारुँगा, और भी मारुँगा ।” ऊ फेरि पूरनलाई झम्टन पुगिहाल्यो । मलाई सह्य भएन । म उसलाई प्रतिकार गर्न सक्रिय भइहालें । उसमा मेरो हात छुटिहाल्यो । मेरो आक्रमणबाट बच्न उ भाग्दैछ, म खेद्दैछु । कक्षाकोठाभित्र महाभारत सुरु झै सकेथ्यो । आतंकित विद्यार्थीहरु सबै कोठा बाहिर निस्के । प्राङ्गण्मा विद्यार्थीहरुको भीड लाग्यो । कुरा प्रधानाध्यापक समक्ष पुगिसक्यो । मलाई प्रधानाध्यापकको कक्षमा डाकियो । त्यो घटनाको मूल नाइके म हुन पुगेको थिएँ । गएँ । प्रधानाध्यापक रिसले चूर थिए । कड्किंदै भने— हात आगे करो ! मैले हात थापें । पालैपालो । दाहिनेदेब्रे । उनले मेरो हातमा बेध्याको दुईवटा छडी टुक्याए ।

जिन्दगीमा पहिलोपल्ट भोगेको सजाउँ थियो त्यो । प्रधानाध्यापकले दुईवटा छडी टुक्रा टुक्रा हुने गरी पिट्दा पनि मेरो आँखाबाट एक थोपा आँसू चुहेन । कसरी खटाए हुँला ? के को शक्ति आयो होला ? सम्झिँदा आश्चर्य लाग्छ ।