“तुमको कितना बार बोलना पडेगा जब मैं खाना खाता हुँ, बाँसुरी मत बजाओ ! अब दुबारा बजाओगे तो मन्तर मारके तुम्हारा बाँसुरी मुँह के अन्दर घुसेड दुँगा !”

गजलसँग हिंडेको जिन्दगी

बुँद रानाको संस्मरण —

“सेती हो जिन्दगी यो काली हो जिन्दगी
बग्न नजाने गन्दा नाली हो जिन्दगी !”

जिन्दगी अथाह छ । अथाह भएकै कारणले यसको परिभाषा पनि व्यापक छ । त्यसैले जिन्दगीलाई अनेकानेक बिम्व प्रतीकमा सजाइने गरिन्छ । त्यसरी नै पढ्ने र बुझ्ने गरिन्छ । कसैलाई लाग्ला जिन्दगी चिनी हो । होइन भन्न सकिन्न । मीठो हुन्छ । सन्तुलन मिलाउन सकेमा ‘ग्लुकोज’को उपहार अन्यथा भएमा ‘डाइबेटिज’ मधुमेहको शिकार बनाउँछ चिनीले ।

त्यस्तै जिन्दगीलाई जूनसँग तुलना गर्ने हो भने पनि ठिक्कको नून प्रयोगले सोडियम र स्वादको प्राप्ति हुन्छ अन्यथा हुँदा चर्को हुन जान्छ । स्वाद दिनले उच्चरक्तचाप दिन बरे लाउँदैन ।

पहिलो चरणको जिन्दगी आफ्नो गतिमा बगिरहेछ । भर्खरै बाल्यकालका अनेकन खेलहरुको चर्चा गरिसकिएको छ । भन्ने नै हो भने जिन्दगी पनि एउटा खेल नै हो । क्रिडा हो । विजय/पराजय खेलका अपरिहार्य परिणाम हुन् ।
खेलको प्रसंगलाई विश्राम दिनु अघि सबभन्दा कान्छो घटनाको रुपमा एउटा खेलको कुरा राख्न तम्सिएँ ।

म र साथी बसन्त साँझपख साइकलमा डुल्दै थियौं । डुल्ने क्रममा साउथ इस्टर्न रेलवे क्लब निर पुग्यौं । बेलामौका त्यहाँ मनोरञ्जनात्मक कार्यक्रमहरु हुने गर्थे । ठूलो क्षेत्र ओगटेको थियो । चारैतिर पर्खाल । पर्खाल भित्रको प्राङ्गणमा एउटा अग्लो मञ्च देखापर्‍यो । किन केका लागि बनाइयो होला ? जिज्ञासा जाग्नु स्वाभाविक थियो । जाग्यो । सोध्यौं । त्यहाँ एकदिन अघि मात्र बक्सिङ प्रतियोगिता सम्पन्न भएको थाहा लाग्यो । पर्खालको ढोका खुल्ला थियो । मौका मिल्यो । हामी पर्खाल भित्र छिर्‍यौं । मञ्चनिर पुग्यौं । त्यहाँ पुग्नासाथ मनमा एउटा भावना जागिहाल्यो । यो मञ्च अब हाम्रो हो । भावना र कल्पनाको केही ठेगान नहुने । कति बेला कुन रुपमा जाग्छन् थाहा हुँदैन । मञ्चको सिंढी उक्लियौं । अब हामी दुईजना मात्र भयौं मञ्चमा । मञ्चले मलाई बक्सिङ् खेल खेल्ने चस्का जगायो । मैले भनें— ‘हामी पनि बक्सिङ् खेलौं है ! झुटमुटको । ढाँटेपाटेको ।’

बसन्तको स्वीकृति मिल्यो । शुरु भयो बनावटी बक्सिङको खेल । खेल आरम्भ भएको केही छिनमै बसन्तले हानेको मुक्काले मलाई रन्थनिने बनायो । बदलाको भावना तत्काल जागिहाल्यो । मनले भन्यो— तँलाई यस्तरी हान्नेलाई तैंले पनि मजा चखा ! अनि के थियो मेररा दुबै हात मसिन झैं चल्न थाले । मेरो प्रहार बसन्तको मुखमै पर्न गएछ ।उसको ओंठ फुट्यो । रगत देखियो । बसन्तले जवाफी हमला गरेन । बगेको रगत थाम्नतिर लाग्यो । मुख थुनेर । मलाई लाग्यो मैले बढी नै गरें । साथीको काँधमा हात राखेर सान्त्वना दिन थालें । फकाउनु पर्ने नै थियो । भनें— “सरी यार ! मैले जानेर होइन !” उ केही बोलेन । यो घटनाले हाम्रो मित्रतामा थोरै भए पनि नकारात्मक असर पारेन । कस्तो निश्छल हुन्छ बचपन ।

यो घटनाले म भित्र हौसला बगाएको हुनुपर्छ । बक्सिङ् सिक्ने हौसला । आँगनमा बाँसको धारो छ, सात फिटको गाडियो । धारोमा फलामे तारले जुटको बोरा बाँधें । बोरामा बालुवा भरियो । तैयार थियो बक्सिङ् अभ्यास गर्ने धोंक्राे । थालियो धोंक्राेमा मुड्की बजार्न । बिहान/साँझ । बिनागुरुको एकलव्य अभ्यास ।

म स्कूल गएको बेला टोलका केटाकेटीहरुले मेरो देखासिकी गर्न थालेछन् । तँछाड्मछाड । तिनको त्यो चाला देखेर आमालाई लागेछ । कति बेला अप्रिय घटना हुन्छ । कि खाँबो ढल्छ कि बोरा झर्छ । दुवै अर्थमा केही भइहाल्यो भने केटाकेटीहरु घाइते हुन पुग्छन् । अनर्थ हुन्छ । गालपर्छ ।

मनमा यस किसिमको शंका उत्पन्न हुनासाथ आमाले त्यो बोरा झार्ने निधो गर्नुभएछ । थाल्नु भएछ, बोरा अड्याउन बाँधिराखेको फलामे तार फुस्काउन । दाहिने हातले तार खोल्ने प्रयास गरिरहँदा बायाँ हात खाँबोमा आडलाएको आमालाई पत्रै भएनछ । तार खुकुलिंदै जाँदा बोरा तल खस्किने क्रममा देब्रे हातको माझी औंलामा पर्न गएछ तार ! माझी औंलाको अघिल्लो नङ सहितको भाग च्वाट्ट चुँडाले छ तारले ।

साँझ स्कूलबाट घर आउँदा आमाको औंलामा बेण्डेज देखें । घटनाको वृतान्त सुनाउनु भयो आमाले । सुनाउँदा आफैलाई दोष दिंदै भन्नुभयो— मेरो बुद्धि ! मैले हात त्यो खाँबोमा किन पो राख्नु पर्थ्यो । आमालाई आफ्नो घाउचोटको पीरभन्दा पनि मेरो चिन्ता परेछ । सान्तवना दिन थाल्नुभयो— तैंले त्यो धोंक्राे घर भित्रै झुण्डयाएर खेल्ने गरे हुन्छ । मेले भने आमलाई मेरो कारणले त्यत्रो चोट पुग्यो भनेर मनमनै प्रतिज्ञा गरिसकेको थिएँ— अब उपरान्त बक्सिङ् खेल खेल्दिनँ ।

घरमा मुरली थियो । मुड चलेको बेला बा’ले बजाउनु हुन्थ्यो । लामो न लामो धून निकालेर । लोकलय हुनुपर्छ त्यो । बाले मुरली बजाउँदा छेवैं बसेर हेर्ने र सुन्ने गर्थे धून । मुरली बजाउँदा घरीघरी बाले गला फुलाउनु हुन्थ्यो । सोध्थें— के गरेको ? बा’ले भन्नुुहुन्थ्यो ‘पवन फेरेको !’

बा’को मुरली प्रेमबारे कहिलेकाहीं आमाले चर्चा गर्नुहुन्थ्यो । राम (मेरा) हेर्न जाँदा बा’ले आफुसँग मुरली लान बिर्सिनुहुन्थेन । पिठ्यूँमा घुसारी राखेको मुरली हावा चल्दा आफै बजे झैं गथ्र्यो ।

बाबाहरु तीन भाइमा बाबा माइलो । जेठा बा’को आफ्नै विशेषता थियो । सबैले उनलाई होटोंटे ! भनी बोलाउँथे । सबैलाई हटाउने सामथ्र्य भएको हुनाले उनको नाम होटोंटे रहेको । आमाबाट प्राप्त जानकारी । मेला जात्रा हुँदि कतै बबाल भएमा आफुसँग भएको बाँसको लाठीले घचेड्दै— हट ! हट ! हट ! भन्दै बबाल शान्त गराउनु हुन्थ्यो जेठा बा’ले । मेरा कान्छा बा’को पीर मान्दै आमाले भन्नुहुन्थ्यो— सानैमा, कुन्नि के मा चित्त नबुझेर त होला घरबाट निस्किएको देवर फर्किदै फर्किनु भएन । धेरै पछि सेङ्लेङतिर गएको भन्ने थाहा पाइयो ।

मुरली घरमै थियो । नजानी नजानी फुक्ने गर्थे टीं टीं टीं टीं । मुरलीभन्दा बाँसुरीको सोर ठुलो हुने हुनाले मन बाँसुरी तिर तानियो । मेलाबाट किनेको बाँसुरी त्यति राम्रो हुँदैनथ्यो । बाँसुरी घरमै बनाउने कोसिस थालें । माकुराको जालो झार्ने बाँसको डण्डी काटेर । हलो काटी मुङ्ग्रो । जालो झार्ने डण्डीको क्षति । बज्ने सुरताल मिलोको बाँसुरी बन्ने कुरै भएन । किनेर भए पनि बाँसुरी सिक्ने प्रयास छोडिएन । आखिर सिकियो । पन्ध्र अगस्त स्वतन्त्रता दिवस, २६ जनवरी गणतन्त्र दिवसमा हुने खेलकूद अघिको मार्चपासमा स्कूलको बैण्डबाजाको अगुवाई बाँसुरीबाटै गर्ने योग्य भइसकेथें म । एकपटक त विद्यालय स्तरको नाटक प्रतियोगितामा आफ्नो विद्यालयको नाटकमा बाँसुरीबाट पाश्र्व धून बजाउने जिम्मा नै पाएँ मैले । त्यो जिम्मेवारी कसरी पूरा गरे हुँला ? सम्झिँदा अचम्म लाग्छ ।

अक्सर बाँसुरीमा फिल्मी गीतहरु बजाउँथे । जानेकै त्यति । कहिलेकसो शास्त्रीय संगीतको धून झिक्ने गर्थें । आफ्नै मनलाग्दी पाराले । जबकी त्यसको कखरासम्मको ज्ञान थिएन ।

हाम्रो फेमिली क्वार्टरकै छेउमा एकजना मद्रासी बस्थे । जगन्नाथन् । उनी पनि बा’जस्तै रेलवेका सिपाही । कालको वर्णका । निधारमा ठाडो रातो टीका हुन्थ्यो उनको । उनी आफुलाई कालीमाईको साधक हुँ भन्ने गर्थे । उनको पाखुराका ठाउँठाउँमा घाउ चिरेको खत देखिन्थ्यो । भन्थे— म मसानको खप्परमा रगत चढाउने गर्छु । उनलाई देख्दा कताकता मनमा डर लागेझैं हुन्थ्यो ।

एकदिन घरभित्र म बाँसुरी बजाउनमा मस्त थिएँ । ढोका ढक्ढकियो । खोलेर हेरें । जगन्नाथन् की श्रीमती रहिछन् । सोधें काम कुरो । उनले भन्न थालिन्— “कान्छा तुम्हारा अंकल खाना खा रहे हैं, बाँसुरी मत बजाओ !” जगन्नाथन्ले बाँसुरी बजेको बेला खाना खाँदारहेनछन् । मैले, भनेको मानें । बाँसुरी बजाइन । भोलिपल्ट फेरि त्यही क्रम दोहोरिएछ । मैले बाँसुरी बजाउँदै गर्दा जगन्नाथन्ले खाना खाइरहेका रहेछन् । उनले जुठो हातसँगै आएर रिस पोख्न थालें— “तुमको कितना बार बोलना पडेगा जब मैं खाना खाता हुँ, बाँसुरी मत बजाओ ! अब दुबारा बजाओगे तो मन्तर मारके तुम्हारा बाँसुरी मुँह के अन्दर घुसेड दुँगा !”

रिसले चुर उनका आँखा आगोको फिलिङ्गो जस्ता राता ! उनी आँखा देखाउँदौ फर्के । तत्काललाई डराएँ । त्यो डर धेरै बेरसम्म टिकेन ।

भोलिपल्टबाट फेरि थालियो बाँसुरी बजाउन । मैले मनलाई सम्झाइ बुझाइ सकेको थिएँ । कथंकदाचित् जगन्नाथले मन्तर हानिहालेछन् भने पनि मेरो ओंठमा तेर्सो पारेर बसेको बाँसुरी उछिट्टिएर कि दाहिने जाला कि बायें । मुख भित्र पस्ने कुरा त असम्भव छ ।

जगन्नाथले मन्त्र फुक्ने बाहेक अरु दण्ड दिन सक्तैनथे । जम्काभेट हुँदा आँखा तरेर हेर्ने गर्थे । मनमनै भन्थे होलान्— अटेरी केटो ।

यो बाँसुरीको कुरा बाँस जत्तिकै अग्लो लामो हुन थाल्दो भए पनि एउटा अर्को प्रसंग छुटाउन मन लागेन । हाम्रै टोलासित झण्डै टाँसिएको अफिसर्स क्लोनी थियो । त्यहाँ बस्थे रेलवेका अफिसर भए पनि संगीतज्ञ, श्यामल चटर्जी । उनका घरमा संगीत सिक्न आउने केटाकेटीहरुको घुइँचो लाग्दथ्यो । घुइँचो लाग्नेमा नब्बे प्रतिशत जति बंगाली छोरीहरु हुन्थे । प्रतिशतमा केटीहरुको संख्या बढी हुनुको कारण थियो बंगाली समाजको प्रथा । यो प्रथामा छोरी केटीको विवाह निम्ति योग्यताको एउटा कसी हुन्थ्यो— संगीतकला । अहिले त्यो प्रथा कायम छ कि छैन ? यसै भन्न सकिन्न । आजको युगले आधुनिक भन्दा पनि उत्तरआधुनिक सोंचको रफ्तार लिइरहेको छ । त्यो प्रथा धेरै पछाडि छोडिन पनि सक्छ ।

एकदिन संगीतका गुरु श्यामल चटर्जी र म आमने सामने हुन पुग्यौं । उनले बडो मायालु भावले मेरो काँधमा हात राखेर भने— “कान्छा ! तुम बाँसुरी मे सिर्फ हिन्दी गाने बजाते हो । मेरे घरमें आओ मै तुम्हें शास्त्रीय संगीत सिकाउँगा । बहुत काम आएगा । मैं तुम से सिकानेका फिस नहीं लुँगा । फ्री में सिकाउँगा । ठीक है !”

गुरुका ती वचनले म द्रविभुत हुन पुगेछु । हुन्छ वा हुन्न भन्नलाई वाक्य फुटेन । मैले टाउको मात्र हल्लाएँ, हुन्छ भन्ने अर्थमा ।

गुरुले भने मैले सुनें । त्यो प्रसंग त्यत्तिकै बिलायो । त्यति राम्रो प्रस्ताव बिलाउनुको कारणमा पहिलो कारण थियो मेरो लाज मान्ने बानी । दोस्रोमा बंगाली छोरीहरुले नेपाली छोराहरुलाई उपहास गर्नुपर्दा यदाकदा प्रयोग गर्ने गरेको शब्द— “गुर्खा छेले !”

त्यो शब्द मैले एकाध चोटि सुनिसकेको थिएँ । त्यो सुन्दा मैल एकाध चोटि सुनिसकेको थिएँ । त्यो सुन्दा चसक्क मुटु चस्के झैं हुन्थ्यो । अर्थका हिसाबले ‘गुर्खा छेले’ अर्थात् ‘गोर्खाली केटो’ त्यति अपमानजनक त थिएन । कुन्नि किन हो त्यो सुन्दा अपमान बोध हुन्थ्यो ।

अहिले सम्झन्छु म नलजाए, मैले ‘गुर्खा छेले’प्रति पूर्वाग्रह नराखेको भए के हुन्थ्यो !

बाँसुरीको कुरा भयो । अब अलिकति बेन्जोतिर लागौं । हामी बस्ने आवास क्षेत्र ‘बाह्र खोली’ नामले चिनिन्थ्यो । सामान्य खालका सबै खाले सुविधायुक्त बाह्रवटा घर, बाह्र परिवारका लागि छुट्याइएको हुनाले, बाह्रखोली नाम राखिएको । बाह्रखोलीमा एउटा नयाँ परिवारको आगमन भयो । त्यो परिवारको जेठो छोरा, हाम्रै दमाली भन्न मिल्ने, बेटु थियो । बेटुले बेन्जो बजाउन जानेका रहेछन् । उनी बेन्जो बजाउँथे । हामी लठ्ठ परेर सुन्थ्यौं । मलाई पनि सिक्न मन लाग्यो । बेन्जो किनियो । बेटुलाई सिकाउन अनुरोध गरें । मेरो अनुरोध स्वीकार भएन । बरु हेरी हेरी सिक्ला भनेर उनले लुकीलुकी आफ्नो बेन्जो बजाउन थाले । जबरजस्ती झोँकै झोंकमा सिक्न खोज्दा एउटा बेन्जोले बिदा माग्यो । अर्को किनियो । उही एकलव्य साधना । आफै एक्लै तुन्द्रुङ गर्न छाडिएन । भनिन्छ मिहिनेत र लगनको फल मिठो । त्यस्तै भयो । बेन्जोले पनि सुर समात्यो । भनौं बेन्जो पनि सिकियो । बेन्जो सिकेको हुनाले हार्मोनियम सिक्न सजिलो भयो ।

भैरहवामा पाइला टेकेको संवत् २०२३ सालमा हो । भैरहवा आएको अर्को वर्ष अर्थात् २०२४ सालदेखि २०३४ सम्म झन्नै एक दशकसम्म अमरज्योति सांस्कृतिक परिवारको हार्मोनियम मास्टर नै भइरहें ।