सुनिश्चित बहुमत नभएपछि प्रदेश सरकारलाई बजेट पारित गराउन सकस भएको छ । आफ्ना सांसदहरूको नै विश्वास नभएपछि यस्तो अवस्था आएको हो ।
लुम्बिनी संवाददाता
बुटवल
लुम्बिनी प्रदेश सरकारको बजेट सत्तारुढ दलसंग स्पष्ट बहुमत नभएपछि बिचरा परेको छ । पेश भएको २६ दिनपछि छलफलमा पुगेको बजेट नयाँ आर्थिक वर्ष लाग्दासम्म पारित हुन सकेको छैन । बिहीबार बजेट पास गर्ने कार्यसूची थियो । तर सत्तारुढ दलसंग स्पष्ट बहुमत नभएपछि प्रक्रिया मै प्रवेश भएन ।
बजेट संसदमा निर्णयार्थ पेश हुनुअगावै सत्तारुढ पार्टीले प्रदेशसभा बैठकबाट बाहिरिएपछि लुम्बिनी प्रदेशको बजेट अलपत्र परेको हो । सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले छलफलका लागि भन्दै सभामुखसंग समय मागेका थिए । सभामुखले समय दिन आनाकानी गरेपछि मुख्यमन्त्रीसहित सबै सांसदहरु बाहिरिए ।
त्यसअघि मुख्यमन्त्री शंकर पोखरेलले बजेट पारित गर्न सहयोग गर्न विपक्षी दलहरुसंग अनुरोध गरेका थिए । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले पनि दलहरुबीच सहमति कायम गरी बजेट पारित गर्नका लागि छलफलका लागि समय मागेका थिए । त्यसका लागि विपक्षि गठबन्धनले सहमति दिन मानेनन् । त्यसपछि सत्तापक्षका सांसदहरु बैठक छाडेर बाहिरिएका हुन् ।
सदनमा बोल्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले सरकार अल्पमतमा रहेकाले बजेट अवैध भएकाले पारित नहुने बताएका थिए । विपक्षी गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए ।
८३ सदस्यीय प्रदेशसभामा एमालेका ३८ र जसपाका तीनजना गरी ४१ जना सांसद छन्, भने विपक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुख सहित १९, जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४२ जना छन् । बिहीबारको बैठकमा सत्ता पक्षका सांसद अजय शाही बिरामी भएर अनुपस्थित भएकाले सरकारको पक्षमा बहुमत नपुग्ने सत्तापक्षले देखेको थियो । सोही कारण सत्तापक्षाका सांसद बैठकबाट बाहिरिएको विपक्षी गठबन्धनले बताएको छ ।
उता मुख्यमन्त्री पोखरेलले बजेटमा सहमतिमा आउन आग्रह गर्दै आफूले विश्वासको मत लिने बताएका थिए । सदनमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले विश्वासको मत लिन तयार रहेको भन्दै बजेटमाथि एकपटक छलफल गर्न आग्रह गरेका थिए । पोखरेलले भने–‘विश्वासको मत लिन म तयार छु । त्यसपछि के गर्ने भन्ने कुरा हो, त्यसमा गम्भीर हुनुहोस् । अहिलेको सरकार १६८ को १ अन्तर्गतको हो । मत लिँदा २ अनुसार नभए ३ मा जान्छ । ३ बनाउने अवस्था नआएकै राम्रो । त्यसपछि उपधारा ५ मा गएर चुनावमा जानुपर्छ । त्यसमा मेरो रुचि छैन ।’
उनले बजेटलाई असफल नगराउन विपक्षीलाई पटक–पटक आग्रह गरेका थिए ।
साउन १ गते अगावै बजेट पारित गरिसक्नुपर्ने संवैधानिक बाध्यता भएकाले सरकारलाई अब बजेट पारित गर्न संकट परेको छ । सत्तापक्षले बजेटमा प्रतिपक्ष सहमतिमा नआउँदासम्म सदन नचल्ने अडान लिएको छ । मुख्यमन्त्री पोखरेल प्रदेश सभाबाट बाहिरिइसकेपछि ५ बजे आधा घण्टाका लागि स्थगित भएको बैठक सुरु हुने संकेत देखिएको छैन ।
८३ सदस्यीय प्रदेशसभामा अहिले नेकपा (एमाले)को पक्षमा तीन जना जसपाको महन्थ ठाकुर पक्षकासहित ४१ र विपक्षी गठबन्धनमा सभामुखसहित ४२ जना छन् । एमालेको सूर्य चिन्ह लिएर नवलपरासीको निर्वाचन क्षेत्र नं. १ ९२०बाट निर्वाचित (हृदयेश त्रिपाठी) समूहका अजय शाही बिरामी परेको भन्दै अनुपस्थित भएपछि सरकारको बजेट पास नहुने देखिएको थियो ।
सत्ता पक्षले लामो समयदेखि सहमतिमै बजेट पारित गर्ने प्रयास गरेपनि अन्तिम समयमा आएर सरकार पक्षको प्रयास सफल हुन नसकेको हो ।

पास गर्ने सहमति नहुँदासम्म संसद चल्दैन’

बुटवल । सदनबाट बाहिरिएपछि लुम्बिनी प्रदेशको सत्ता पक्षले बजेटमा सहमति नहुँदासम्म सदन चल्न नदिने अडान लिएको बताएको छ । सत्तारुढ दल नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रतिपक्ष दलहरु बजेटमा सहमतिमा नआउँदासम्म सदन नचल्ने बताएका हुन् । बिहीबार प्रदेश सभाबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले भने–‘जबसम्म बजेटमा सहमति हुँदैन, तबसम्म सदन चल्दैन । सहमतिका लागि हामी प्रयासमा छौं ।’
बिहीबारको कार्यसूची अनुसार प्रदेशसभामा बजेट निर्णयार्थ पेस हुनुअगावै मुख्यमन्त्री शंकर पोखरेलसहित सत्ता पक्षका सांसदले संसद बहिस्कार गरेपछि सदन स्थगित भएको छ । सहमति जुटाउनका लागि प्रतिपक्षसँग थप छलफल गर्न समय मागेको भए पनि सभामुखले समय नदिएका कारण आफूहरुले बैठक बहिस्कार गरेको नेता ढकालले बताए ।
उनले भने–‘हामीले दलको तर्फबाट सभामुखसँग समय माग्यौं । एकछिन समय दिइयोस, छलफलमा गरेर निकास निकाल्छौं भनेका थियौं । तर उहाँले दिनु भएन, अरु प्रतिपक्षका सांसदले पनि दिएनन् । त्यसपछि हामी सदनबाट बाहिरिएका छौं ।’