लुम्बिनी क्षेत्रमा तीन बुद्ध जन्मिए पनि क्रकुछन्द र कनकमुनि बुद्धको प्रतिमा विश्वमै कही छैन । पहिलो पटक लुम्बिनीमा पूर्णकदको मूर्ति स्थापना गरिएको हो ।
लुम्बिनी सांवाददाता
बुटवल
हामीले सुन्ने र चिन्ने गरेका बुद्ध गौतमबुद्ध मात्रै हुन् । धेरैलाई गौतम बाहेक अन्य २७ बुद्ध पनि छन् भन्ने जानकारी छैन । लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतमले ज्ञान प्राप्ती गरी बुद्धत्व पाएपछि उनी बुद्ध कहलिए । २८ बुद्धमध्ये गौतम अन्तिम बुद्ध हुन् । लुम्बिनी क्षेत्र अर्थात प्राचिन कपिलवस्तुमा अन्य दुई बुद्ध पनि जन्मिएका थिए, उनीहरु हुन क्रकुछन्द र कनकमुनि बुद्ध । त्रिपिटकका धेरै भागमा गौतमबुद्धले नै अन्य २७ बुद्धको चर्चा गरेका छन् । तीनैमध्ये कपिलवस्तुमा जन्मिएका क्रकुछन्द र कनकमुनिका पूर्णकदको मूर्ति स्थापना गरिएको छ । यी मूर्ति मुलुकमै पहिलो पटक स्थापना भएका हुन् ।
कपिलवस्तु नगरपालिका वडा नं. ५ गोटिहवामा क्रकुछन्द बुद्ध र वडा नम्बर ११ आरौराकोटमा कनकमणी बुद्धको प्रतिमा अनावरण गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शनिबार दुबै स्थानमा निर्माण गरिएका बुद्ध प्रतिमाको अनावरण गरेका हुन् । कपिलवस्तु नगरपालिका वडा नं. ६ मा पर्ने निग्लिहवा कनकमुनी बुद्धको जन्मस्थल हो भने वडा नंं. ५ गोटिहवा क्रकुछन्द बुद्धको जन्मस्थल मानिन्छ । गौतमबुद्धभन्दा पनि पहिलेका बुद्धहरुले राज गरेका प्राचीन नगरहरुको प्रचारप्रसार र संरक्षण हुन नसक्दा यी स्थलहरुको महत्व ओझेलमा परेको भन्दै बुद्धप्रतिमा निर्माण गरिएको हो । बुद्धप्रतिमाको अनावरण गर्दै मुख्यमन्त्री पोखरेलले बुद्धप्रतिमाले कपिलवस्तु ऐतिहासिक सम्पदाले भरिएको ठाउँ हो भनेर चिनाउन थप सघाउ पुग्ने बताए ।
मुख्यमन्त्री पोखरेलले लुम्बिनी विकास कोषसंगको समन्वयमा विभिन्न बुद्धहरुको आकृति पहिचान गरिएको बताए । मुख्यमन्त्री पोखरेलले विश्वभरका पर्यटकलाई आकर्षित गर्ने गरी लुम्बिनीसंगै कपिलवस्तुमा रहेका शक्यमुनी बुद्धभन्दा अघिका बुद्धको प्राचीन बासस्थानको खोजी गरी ति स्थानहरुको विकासमा प्रदेश सरकार लागेको बताए ।
उनले कपिलवस्तुको तिलौराकोटसंगै निग्लिहवा र गोटिहवाको पनि थप उत्खनन् गर्न सके यी क्षेत्रहरुको महत्व र गरिमा बढ्न सक्ने बताए । गोटिहवामा निर्मित क्रकुछन्द बुद्धको प्रतिमासहितका बगैंचा ६० लाख १७ हजार ८ सय ५६ रुपैयाँको लागतमा निर्माण गरिएको डिभिजन वन कार्यालय कपिलवस्तुले जनाएको छ ।
त्यस्तै आरौराकोटमा ९० लाख ६ हजार ७ सय ९९ रुपैयाँको लगतमा कनकमुनि बुद्धको प्रतिमा सहितको बगैंचा निर्माण गरिएको हो । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा डिभिजन वन कार्यालयले दुवै बुद्धप्रतिमा र बगैंचा निर्माण गरेको हो ।
प्राचीन कपिलवस्तु नगरी शाक्यमुनी बुद्धले २९ वर्ष जीवन बिताएको स्थल हो । यहाँ बुद्धका पिता राजा शुद्धोधनले राज्य गरेको क्षेत्र रहेकोले कपिलवस्तुलाई पुरातात्विक, ऐतिहासिक तथा धार्मिक महत्वको क्षेत्रको रुपमा लिइन्छ ।
बुद्धस्थल तीर्थाटनको लागि नेपाल आएका भारतीय सम्राट अशोकले लुम्बिनी पछि निग्लिहवा र गोटिहवाको पनि तीर्थाटन गरेका थिए । गोटिहवा भगवान गौतम बुद्धभन्दा पहिलेका क्रकुछन्द बुद्धको जन्मस्थल र निर्वाण स्थल हो । तीर्थाटनमा आएका सम्राट अशोकले नै आफूले भ्रमण गरेको चिनो स्वरुप लुम्बिनी र कपिलवस्तुमा स्तम्भ बनाएर ठड्याएका थिए ।
जुन स्तम्भलाई अशोक स्तम्भको नामले विश्वभरका बौद्ध अनुयायीहरुले चिन्ने गर्छन् ।
उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले पर्यटन विकासका लागि दुई बुद्धको मूर्तिसहित बाटिका निर्माण गरिएको बताइन् । प्रदेश सरकारले पर्यटनबाटै समृद्धि हासिल हुने लक्ष्य राखेकाले यो त्यस अनुरुपको काम भएको उनले बताइन् । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले पञ्चशीलको पालना गर्ने हो भने समाज शान्त हुने र बौद्ध स्थलहरु सुरक्षित रहने बताए ।