कपिलवस्तुको विजनगर गाउँपालिकाले दम्पत्तिको जन्मने पहिलो छोरीको नाममा बंैक खाता सञ्चालन गरी १५ हजार जम्मा गरिदिने कार्यक्रम ल्याएको छ । ग्रामीण क्षेत्रमा छोरीलाई पढाएर भविष्य उज्ज्वल बनाउन यस्तो कार्यक्रम ल्याइएको हो । छोरीको बैंक खातामा परिवारले कम्तीमा पाँच हजार जम्मा गर्नुपर्नेछ । त्यो रकम २० वर्ष नपुग्दै निकाल्न पाइने छैन । कम्तीमा उच्च शिक्षा अध्ययनका लागि विमुख नहुन त्यसले सहयोग गर्नेछ । अर्काेतर्फ गर्भवती महिलाले नियमित चेकजाँच गरे नगरेको स्वास्थ्य संस्थाबाट जारी रिपोर्ट कार्ड अनिवार्य समेत गरिएको छ । जसले गर्दा गर्भावस्थामा चेकजाँच गर्नेको संख्यामा वृद्धि हुनेछ ।
छोरीको नाममा बैंक खाता सञ्चालन गर्ने कार्यक्रम विजयनगर गाउँपालिका पहिलो होइन । यसअघि नै कतिपय गाउँपालिकाले यस्ता कार्यक्रम सुरु गरिसकेका छन् । मूल कुरा धेरै पालिकाहरुले यस प्रकारको कार्यक्रममा ध्यान दिएका छैनन् । अथवा यस्तो कार्यक्रमलाई सामान्य ठानिएको छ । जनप्रतिनिधिको महत्वमा परेको छैन । तर यो कार्यक्रम हेर्दा सामान्य लागे पनि अर्थपूर्ण छ । एउटा बालिकाको जीवनमा ठूलो महत्व राख्ने यस्तो कार्यक्रम सबै पालिकाले कार्यान्वयनमा ल्याउन जरुरी छ ।
यहाँ बैंक खाताको मात्रै कुरा छैन, गर्भवती भएपछि नियमित चेकजाँच गरेर शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो बनाउने भूमिका यो कार्यक्रमले खेल्न सक्दछ । धेरै महिलाले गर्भवती भएपछि नियमित चेकजाँच गर्दैनन् । ग्रामीण क्षेत्रमा झन गर्दैनन् । यो कार्यक्रमले बच्चा जन्माउँदा हुने जोखिमबाट जोगाउँदछ । चेकजाँचमा प्रोत्साहन गर्दछ । अकालमा हुने मृत्युबाट बचाउँदछ ।
अहिले पनि हाम्रो समाज रुढीवादी चिन्तनले ग्रस्त छ । दुर्गम क्षेत्रमा झन बढी समस्या छ । छोराकै लागि धेरै सन्तान जन्माउने चिन्तनले गर्दा गरिबी कायम छ । छोरी जन्मिदा नाक खुच्याउने र छोरो जन्मिदा हर्ष बढाई गर्नेहरु अहिले पनि छन् । छोरीलाई पढाउन आनाकानी गर्ने प्रचलन कायमै छ । कम्तीमा यो कार्यक्रमले छोरीलाई पढाउन प्रोत्साहन गर्नेछ ।
अर्काेतर्फ २० वर्ष उमेर नपुगी रकम खाताबाट निकाल्न पाइदैन । २० वर्षसम्ममा कम्तीमा प्लस टु पढिसकेका हुन्छन् । त्यसपछि उच्च शिक्षा अध्ययनका लागि त्यो रकमले सहयोग पुग्नेछ । त्यति मात्र होइन २० वर्ष नपुग्दै गर्ने विहेबारीमा समेत कमी ल्याउने छ । बालविवाहलाई निरुत्साहित गर्न यस्ता कार्यक्रमले सहयोग पु¥याउने छन् । चेतनास्तरमा वृद्धि हुँदा स्वतः बालविवाह घट्न पुग्दछ । युवतीहरुले परिवारलाई सम्झाउने सामथ्र्य राख्ने छन् । अध्ययनपछि आफ्नो खुट्टामा आफै उभिन बल पुग्नेछ । युवतीहरुलाई आर्थिक रुपमा बलियो बनाउन यस्ता कार्यक्रमले भूमिका खेल्दछन् ।
यसरी के देखिन्छ भने कतिपय साना–साना कार्यक्रमले पनि मानिसको जीवन बदल्न सक्दछन् । त्यसमा पनि नारीको जीवनमा परिवर्तन ल्याउन सामान्य लाग्ने कार्यक्रम कोसेढुंगा सावित हुन सक्दछन् । यस्ता कार्यक्रम देशैभरका पालिकाले अभियानका रुपमा सञ्चालन गर्नुपर्दछ । किनकि महिला र पुरुष दुवैको बौद्धिक विकास नभएसम्म देश समृद्ध हुन सक्दैन । आर्थिक रुपमा मात्रै होइन, बौद्धिक रुपमा पनि सबै क्षेत्र बलियो हुनुपर्दछ ।