लुम्बिनीमात्रै होइन प्रवेशद्वारालाई पनि बौद्ध आध्यात्मिक बनाउन हिलपार्कमा ३५ मिटरको बुद्धमूर्ति बन्दैछ, सडक डिभाइडर बुद्धमूर्तिले सजिएका छन् ।
लुम्बिनी संवाददाता
बुटवल
बुद्धजन्मस्थल लुम्बिनी आसपासको क्षेत्रलाई बौद्धमय आध्यात्मिक शहर बनाउन स्थानीय तहले ठूला आयोजना अगाडि सारेका छन् । बुटवल उप–महानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिकाले नगरलाई नै बुद्धमूर्ति सजाउने योजना बनाएका छन् ।
बुटवल उप–महानगरपालिकाले यस क्षेत्रमै अग्लो बुद्धमूर्ति बनाउने योजना अगाडि बढाएको छ । तिलोत्तमा र सिद्धार्थनगरले सडक डिभाईडरमा बुद्धमूर्ति राखिसकेका छन् । लुम्बिनी बुद्धजन्मस्थल भएपछि बुद्धमय हुन सकेको छैन । लुम्बिनी आउने पर्यटकले यो क्षेत्र आध्यात्मिक नभएकोमा चिन्ता व्यक्त गर्छन् । सरोकारवालाहरूले पनि बुद्ध क्षेत्रलाई बुद्धमय बनाए पर्यटन विकास अझ बढ्ने बताउँदै आएका छन् ।
लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहको बीच क्षेत्रमा पर्ने बुद्धमा विशाल बुद्धमूर्ति बन्दैछ । यो मूर्ति निर्माण सकिए दैनिक तीन हजार पयर्टक घुम्ने अपेक्षा छ । यो करिव एक अर्बको परियोजना हो ।
बुटवलको हिलपार्कमा बिगबुद्ध पार्क निर्माणको कामले गति लिएको छ । बुटवलको हिल स्टेशनका रूपमा रहेको हिलपार्कलाई विस्तार गर्दै अब बिगबुद्ध पार्क बनाउने काम सुरु भएको छ ।
बुटवल नगरको पूर्वी तथा उत्तर पहाडी भागको उचो स्थानमा लुम्बिनी परिपथसंग जोडिने गरी हिलपार्क परिसरमा बुद्धको ३५ मिटरको अग्लो प्रतिमासहितको बुद्धपार्क निर्माण गर्ने योजना अगाडि सारिएको थियो । सोही योजनालाई कार्यान्वयन गर्ने क्रममा उप–नगरपालिकाले प्रस्तावित क्षेत्र हिलपार्कको जग्गा किटान गर्ने गरी अहिले क्षेत्र निर्धारण गरेर सार्वजनिक सूचना जारी गरेको छ । डीपीआरलगायतका आवश्यक काम यसअघि नै पूरा भइसकेका छन् । कोभिड महामारीका कारण ढिला गरेर अहिले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम अगाडि बढेको छ । यो संगै बुटवलको बुद्धकालीन सभ्यताको पहिचान बढाउने ड्रिम प्रोजेक्टको निर्माणकार्यले गति लिएको छ ।
बुटवलले बनाएको पाँच वर्षे आवधिक योजनामा हिलपार्कमा बुद्धप्रतिमा ध्यान केन्द्रसहितको पार्क निर्माण गर्ने योजनालाई पनि समावेश गरिएको थियो । योजनाअनुरूप ललितपुरको मल्टिडिसिप्लिनरी कन्सल्ट्यान्टले योजनाको पूर्वसम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारेको थियो । यो स्वीकृत भइसकेको छ ।
आयोजना स्थलमा माटो परीक्षण, सर्भे र डीपीआरका काम पूरा भइसकेका छन् । अहिले इआइएका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ ।
कन्सल्टेन्सीका अनुसार बौद्ध दर्शनका विज्ञ डा.विजयराज बज्राचार्य र देश विदेशमा बुद्धका प्रतिमा र अन्य विभूतिहरूकासमेत मूर्ति बनाएर ख्याती कमाएका मूर्तिकार राजकुमार शाक्यको राय तथा सल्लाहमा बौद्ध मान्यताअनुसारको प्रतिमा निर्माण गर्न डीपीआर बनाइएको हो ।
बुद्धका प्रतिमा कहीँ पनि आफुखुशी निर्माण गर्न र राख्न पाइँदैन । उप–महानगरले भने बौद्ध मान्यताअनुसारका सबै प्रक्रिया पूरा गरेर परिपक्व काम गरेको छ ।
परामर्शदाताले आयोजनाका दुई विकल्पसहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लिएर उप–महानगरका प्रमुख सुवेदी अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीसमक्ष पुगेका थिए । त्यहाँ अर्थमन्त्रालयका प्रतिनिधि तथा केही विज्ञहरूसमेतले प्रस्तावित आयोजनाको डीपीआर हेरेका थिए । त्यसपछि बुद्धप्रतिमाको आयोजनामा संघीय सरकार र प्रदेश सरकारले समेत लगानी गर्न चासो देखाएको आफुहरूको एउटा अर्को ‘ड्रिम प्रोजेक्ट’ सफल हुने चरणमा प्रवेश गरेको प्रमुख सुवेदीले बताए । परामर्शदाता (कन्सल्टेन्सी)ले दिएको दुई विकल्पमध्ये पहिलोमा बुद्धप्रतिमाको अनुहारमा मात्रै सुनको जलप लगाउन सकिन्छ । दोस्रोमा भने प्रतिमाको पुरै भागमा सुनको जलप लगाउन सकिन्छ । आयोजनाका उपलब्ध हुने स्रोत सुनिश्चिततालाई हेरेर आयोजनाको कुन विकल्पमा जाने भन्ने निधो गरिने उप–महानगरका प्रमुख सुवेदीको भनाइ छ । आयोजनाको स्रोत सुनिश्चितता भने ईआईए सकिएपछि हुनेछ ।
ईआईएका लागि उप–महानगरपालिकाले परामर्शदाता ह्यान्ड्स फर ग्रीनरी कन्जरभेसन प्रालि काठमाडौंलाई जिम्मेवारी दिएको छ । यो संस्थाले आगामी असोज १५ गतेसम्मको म्याद पाएको छ । ईआईएका लागि बुटवलमा आएका कम्पनीका ईआईए एक्सपर्ट लिलाराज पौडेलले समयसीमा भित्रै ईआईएको काम सक्ने लक्ष्यसहित आफूहरू ‘फिल्ड’मा खटिइरहेको बताए ।
उक्त ईआईए प्रतिवेदन वन मन्त्रालयले स्वीकृत गरेपछि जग्गा प्राप्ती र स्रोत सुनिश्चितताका कामहरू हुने नगरप्रमुख सुवेदीको भनाई छ । पार्क निर्माणस्थल चुरे क्षेत्रमा पर्ने भएकाले जग्गा प्राप्तीका लागि राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति र वन मन्त्रालयबाट स्वीकृति पाउन पर्ने हुन्छ । यसका लागि पनि आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ ।
बुटवललाई बुद्धावलीको ऐतिहासिक क्षेत्र मानिन्छ । बुद्धावलीको पहिचान बढाउने प्रयास स्वरूप हिलपार्कमा विग बुद्धपार्क बनाउन लागिएको हो । यसका साथै बुटवलले सडकको बीच डिभाइडरहरूमा सुरक्षा प्रवन्धसहित ससाना बुद्ध प्रतिमा राख्ने तयारी गरेको छ । बुद्ध र लुम्बिनी पर्यटकीय हिसाबले ‘क्यास’ गर्न सकिने, पर्यटन उद्योगको केन्द्र र ऐतिहासिक पूँजी भएको र बुटवलको ऐतिहासिकता लुम्बिनीसँग सिधा जोडिएकाले बुद्धमूर्ति बनाउने योजना प्रस्ताव गरिएको नगरप्रमुख सुवेदी बताउँछन् ।
विस्तृत परियोजना प्रतिवेदनका अनुसार बुटवलबाट ४२ किलोमिटर दक्षिण–पश्चिममा रहेको बुद्ध जन्मस्थल लुम्बिनीबाटै देखिने गरी हिलपार्कमा बुद्ध प्रतिमासहितको पार्क बनाउने योजना बनाइएको थियो । प्रतिवेदनका अनुसार पार्क चार वटा ब्लकमा निर्माण गरिने छ । पहिलो ब्लकमा बुद्धप्रतिमा बन्ने र त्यो आकर्षक हुने उप–महानगरका वरिष्ठ इञ्जिनियर सुमन श्रेष्ठले बताए । इञ्जिनियर श्रेष्ठ र अर्का वरिष्ठ इञ्जिनियर गौतम रौनियारसहितको टोलीले आयोजना स्थलको प्राविधिक निगरानी गरेका छन् ।
करिब आठ मिटरको गोलाकार आधार संरचनामाथि ३५ मिटर उचाईको शाक्यमुनी बुद्धको प्रतिमा बनाइने छ । बुद्ध अर्धकमलमाथि भूस्पर्श मुद्रामा बसिरहेका देखिनेछन् । बुद्धप्रतिमाको सतह तीन मिलिमिटर मोटाइ रहेको तामाले बनाइने छ । अनुहारमा सुनको जलप लगाइने छ । बाँकी शरिरमा सुनौलो ‘इपोक्सी’ अर्थात् नखुइलिने रंग लगाइने छ ।
सुनौलो रङमा पोतिएका शान्त मुद्राका बुद्ध करिब ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको मायादेवी मन्दिरतर्फ फर्किएर घोत्लिइरहेका हुनेछन् । प्रतिवेदन अनुसार बुद्धमूर्तिको अनुमानित लागत ८६ करोड ८० लाख ९२ हजार २ सय ८८ रुपैयाँ छ । पार्कको दोस्रो ब्लकमा तीन तले ‘मंक रेसिडेन्स’ अर्थात् भिक्षुगृह बनाइने छ । यसको अनुमानित लागत तीन करोड ६७ लाख ३४ हजार आठ सय सात रुपैयाँ रहेको छ ।
पार्कको तेस्रो ब्लकमा एक तले क्याफेटेरिया र चौंथोमा एक तले शौचालय बनाइने छ । यी दुई संरचनाको अनुमानित लागत क्रमशः ६७ लाख १४ हजार ६ सय ४३ रुपैयाँ र ३२ लाख ५८ हजार एक सय ८८ रुपैयाँ रहेको छ ।
यीबाहेक पार्कमा टेलिकम्युनिकेशन, सरसफाई तथा ढल प्रणाली, पानी आपूर्तिलगायतका संरचना बन्नेछन्, जसको अनुमानित खर्च चार करोड ८९ लाख एक हजार तीन सय ४७ रुपैयाँ रहेको छ । बुद्धपार्कको निर्माण सम्पन्न भएपछि दैनिक नियमित रूपमा हुने पूजाआजा, ध्यान तथा ममेडिटेशनको साथै अवलोकनका लागि आउने आगन्तुकहरूसमेत गरी दैनिक रूपमा करिब तीत हजारभन्दा धेरै मानिसहरूको आवतजावत हुने उप–महानगरको आँकलन छ ।