खेलहरूको कुनै स्थायी विधान हुन्थेन । खेल खेल्नु अघि सबैको सहमतिमा यसो गर्ने है भनेर बनाइन्थ्यो । विधान संशोधन गरिन्थ्यो ।

गजलसँग हिंडेको जिन्दगी

बुँद रानाको संस्मरण —

त्यो बेला सन् १९५८ तिर आजको जस्तो मनोरञ्जनका साधन थिएनन् । ठूलो मनोरञ्जन सर्कसले दिन्थ्यो । सर्कसमा जंगली जनावरहरूको कला प्रदर्शन निकै रोचक हुन्थ्यो । यी जनावरहरूमा खास गरी हात्ती, बाघ हुने गर्थे । सर्कसका कलाकारहरूले आङ सिरिङ्ङ गराउने खालका कला देखाउँथे । एउटामात्र पाङ्ग्रा भएको साइकल कसैले भुइँमा गुडाउँथे भने कसैले टाँगि राखेको तारको लठ्ठामा । बिचबिचमा मुखमा नानाथरी रङ दलेको लुगा पनि झ्यापुल झ्यापुल लगाएको जोकरले खुब हँसाउने गर्थ्यो ।

यसपछिको मनोरञ्जनको साधन थियो सिनेमा । सिनेमा श्याम श्वेत हुन्थ्यो । त्यतिबेला मानिसहरू फुर्सिदिला भएको हुनाले होला सिनेमा हलमा पसे पछि पूरा तीन घण्टा बिताउनु पथ्र्यो । घरबाट खाजा खान भनी स्कूल जाने बेलामा केही पैसा पाइन्थ्यो । कहिले एकाना । कहिले दुईआना । दुई आना पाउँदा आफुलाइ कुनै नवब भन्दा कम ठानिन्थेन । हुन पनि त्यतिखेर अधेला (एक पैसाको आधी, एक पैसा, दुई पैसाका सिक्कालाई) महत्त्व दिइन्थ्यो । भनौं तिनको मूल्य थियो ।

ठूलो मनोरञ्जन मध्य सर्कस, वर्ष दुई वर्षको अन्तरालमा हेर्न पाइन्थ्यो भने सिनेमा हेर्न सजिलो थियो । दिनहुँ हेर्न सकिने । तर अनुमति र टिकट काट्ने पैसा चाहिने ।

खेलकूदको क्षेत्र पनि फराकिलो थिएन । ठूला खेलहरूमा फुटबल हकीहरू थिए भने साना खेलमा कुस्ती, कपर्दीको गन्ती हुन्थ्यो । केटाकेटीहरूको दुनियाँका खेलहरू आफ्नै तालका हुन्थे । डण्डीबियो, भुरुङ, गुच्चा, चोरपुलिस, सालखप्पड । यी खेलहरूको कुनै स्थायी विधान हुन्थेन । खेल खेल्नु अघि सबैको सहमतिमा यसो गर्ने है भनेर बनाइन्थ्यो । विधान संशोधन गरिन्थ्यो । बाल राज्यका हामी नै सर्वेसर्वा । हाम्रा खेलहरूमा कागजको डुंगा बगाउनु, कागजकै जहाज उडाउनु, चंगा उडाउनु पनि सामेल थिए । खेल खेल्ने क्रममा चुरोटका बट्टा, सोडावाटर बोतलका बिर्कालाई पनि बाँकी राखिएन । चुरोटको अघिल्लो र पछिल्लो भाग च्यातेर त्यसलाई पनि घुच्चिसरह खेलियो । ती बट्टाहरूको पन्नाको मूल्य निर्धारण गरिन्थ्यो । सबभन्दा महँगोमा पासिङशो र सस्तोमा चार मिन्नारको चुरोटको बट्टा हुन्थ्यो । सोडा बोतलका बिर्का त सिक्कै गनिन्थ्यो । घुच्ची खेलिन्थ्यो । मैले केटाकेटीहरूको खेलमा वर्णन गरिएका सबै खेलको आनन्द लिएँ । यही आनन्द लिने क्रममा एकपटक गाइनेकिराको पुच्छरमा धागो बाँधेर चंगा उडाए झैं उठाएको के थिएँ, आमाले देख्नुभएछ । खुपसँग गाली खाएपछि दुर्दुहाई भयो । पछिपछिलाई त्यसरी आनन्द लिने साहस जुटेन ।

रोचक भएको हुनाले, थोरै गुच्चा खलको चर्चा गर्न मन लाग्यो । गुच्चा खेल्नु अघि खेल्न भनेर रोजेको सम्म ठाउँमा एक इंची चौडाइ र त्यतिकै जति गहिरो खोबिल्टो पारिन्थ्यो । खोप्पी खेलमा जस्तै । खेलाडी जतिले बनाइएको त्यो प्वाललाई लक्ष्य गरेर आफ्नो गुच्चा फाल्नु पथ्र्यो । सबैले फालिसकेपछि प्वाल र गुच्चाको दुरी तय गर्दै जसको गुच्चा प्वालको सबभन्दा नजीक हुन्छ त्यसलाई खेल्न पैला मौका दिइन्थ्यो । अनि खेल्नेले आफ्नो गुच्चाले छेउछाउका गुच्चालाई तारो बनाउन सुरु गर्थ्यो । चोट पर्दौ जाँदा एक, दुई, तीन…लाई यसरी भनिन्थ्यो— एकम् खाजा, दुबे राजा, तिरान भोजी, चौके चण्डाल, पाँका पण्डुल, छेके छक्का, सातके सुतली, आठम् गुठली, नौ नगाडा, दसके दस्सु !….दसभन्दा अगाडि भनिएन । जानिएन । यो खेलमा बढीमा दसजनाले खेल्न पाउने भए पनि त्यत्रो उपस्थिति बिरलै हुन्थ्यो ।

गुच्चा दुई थरीका हुन्थे । एक थरी काँचका र अर्कोथरी हाडका । हाडका गुच्चा भनिए पनि ती साँच्चिकै हाडका हुन्थे वा अर्थोका हामीलाई मतलब हुने कुरै थिएन । हेर्दा ती गुच्चा हाडजस्तै सेता हुन्थे । खेलमा होर्नेेले जित्नेसँग त्यहीं खेल मैदानमा गुच्चा किन्न सक्थ्यो । एकपैसामा दुई गुच्चा बेचेको सम्झन्छु ।
बाल संसार । राज्य सत्ता बालबालिकाको अर्थात् केटाकेटीको । यहाँ छिन्छिन्मा अनौठो घटना हुने गर्छन् । यो संसार विचित्रको छ । यसैलाई धर्मशास्त्रले पनि बाललीला भनेर मान्यता दिएको छ ।

एउटा त्यस्तै घटना याद आयो । यो घटनाको पक्की दाग भनौं वा छाप, मेरो शरीरमा स्थायी रूपमै अंकित छ । बिर्सिने कुरै भएन । एकदिन आलु र मैले सल्लाह गर्‍यौं । आलुलाई तरकारीको आलु ठानेर दन्त्यकथा भन्न थाल्यो नभन्नुहोला । यो खेल हामीले खेलेकै हो र परिणाम मैले झेलेकै हो । घटना साँचो हो । सल्लाह अरु केको हुन्थ्यो खेल खेल्ने सल्लाह थियो । प्रस्ताव मैले नै राखें ढुंगा हानाहान खेलौं । ‘हुन्छ’ भन्यो आलुले । आलुको वास्तविक नाम अर्थात् न्वारनमा पुरोतले जुराएको नाम पूर्णबहादुर थियो । पूर्णबहादुरलाई संक्षेपमा पूर्णे भन्ने गरे हुन्थ्यो । आलु भनियो । हामी नेपालीहरू नाम राख्न अति नै सिपाालु छौं । यसो आकार प्रकार, आकृति प्रकृति हेर्‍यो । भनिदियो— भुन्टे, जुँगे, लाम्घारे, डल्ले, चिपलमुण्डे, टख्लु, भोंडे, सिङ्खुट्टे…के के हो के के । कति हो कति नाम । यही हाम्रो विशेषताले उब्जाएको थियो त्यो नाम— आलु । यत्ति हो पूर्णे होंचो कदका थिए । सानो गाँठीका ।

सल्लाह अनुसार एउटा दूरी निश्चित गरेर आलु र म ‘ढुंगा हानाहान’ खेलमा जुट्यौं । फालेको ढुंगाले सोझै घाट नगरोस् भनेर हामी सचेत थियौं र त्यही हिसाबले हामी बिचको दुरी कायम थियो । पालैपालो ढुंगा फाल्न थालियो । एकअर्कालाई घाइते तुल्याउने उद्देश्य थिएन । तैपनि हानाहान जस्तो जोखिमपूर्ण खेल खेलियो । बाल मस्तिष्कको उपज त्यो खेलले गति लिंदै थियो एकाएक आलुले फालेको ढुंगोले मेरो दाहिने पाँसुलाको अघिल्लो नलीहाडमा छोयो । ढुंगो सोझै ठोक्किएको थिएन । परै टप्पा खाएर गति मन्द हुँदै आइपुगेको थियो । ढुंगोले थोरै छाला कोट्याएछ । रातो देखियो । ठ्याक्कै राती गेडी जत्रो आकारको घाउ लागेछ । ठूलो कुरा ठानिएन । तर के ठानियो भने खेल जारी राख्दा यो भन्दा ठूलो घटना हुनसक्छ । भयो खेल समाप्त ।

भनिन्छ कुरोले घोंच्छ, नपत्याउने खोलाले बगाउँछ । त्यस्तै भयो । भोलिपल्टबाट चोट लागेको त्यो ठाउँ, राखिन थाल्यो । बिस्तारै रयन (घाउबाट निस्किने तरल पदार्थ) बग्न लाग्यो । लक्षणले पाक्नु पथ्र्यो । घाउ पाक्यो । पाकेको घाउमा घरायसी औषधी लगाइयो । औषधीले काम गरेन । यसो उसो, यता उता गर्दागर्दै शायद हप्ता दिन बितिसकेको हुँदो हो । उपयुक्त उपचारको अभावमा घाउलाई मौका मिलेछ फैलिन । फैलियो राम्ररी । उपचारकरो अन्य विकल्प बल्ल खोज्न थालियो ।

हामी बसेको आद्रा म्युनिसिपेलिटीमा एउटा मात्र सरकारी अस्पताल थियो । थेगी नसक्नु बिरामीको चाप हुन्थ्यो । त्यहाँ जान बाबाको नोकरीको समयको तालमेल मिलाउनुपर्ने । आमालाई यस्ता कुराको अनुभव थिएन । भाषाको पनि समस्या थियो । नेपाली बाहेक अरु भाषा बोल्न सक्नुहुन्थेन । आखिरमा उपचार खोज्दै एउटा प्राइवेट क्लिनिकमा पुग्यौं । डाक्टरलाई घाउ देखाएँ । घाउ देख्नासाथ डाक्टर आफै झस्के झैं गरी बोले— “उरी बाबा, इतना बडा घाव ! ये तो हड्डी में घस सकता है, हड्डी में घुसेगा तो पाँव काट्ना पडेगा ।” उनले औषधी दिए— बारोलीन ! कुरा मात्र ठूला गरे झैं लाग्यो डाक्टरले ।

घाउमा बोरोलीन मलम लाउन थालियो । बिहान र राती । दुई टाइम । घाउमा मलम नटिक्ने भयो । रयनले गर्दा । लगाएको छिनघरी मै लुतुतुतु मलम बगाइदिन्थ्यो रयनले । ट्युबको मलम सिध्दिन लागेको छ । घाउ उस्तै छ । अब त सरकारी अस्पताल जानै पर्ने भयो । बाबाको निधो थियो ।

भाेलि अस्पताल जाँदै थियौं । आज टुप्लुक्क घरमा मामाको आगमन भयो । मामा चन्द्रबहादुर । मेरो छेवर गरिदिने । मेरा धर्म मामा । झण्डै छ फिट अग्ला उँचाइ अनुसारको जिउ मिलेको । हृष्टपुष्ट । हामी केटाकेटीहरू उनलाई लम्बुमामा भनेर बोलाउथ्यौं । जे हामीले खेल्यो त्यो खेलमा उनी पनि साझेदार बनिहाल्ने । भुरुङ् खेले भुरुङ्, गुच्चा खेले गुच्चा । यी मामाका बाँकी कुरा पछि कतै गरम्ला ।

भलाकुसारीका क्रममा मेरो घाउले प्राथमिकता पायो । बाले भन्नुभयो— “यसको घाउ देखाउन भोलि सरकारी अस्पताल लाँदैछु ।” त्यतिञ्जेल मामाले मेरो गोडाको घाउ देखिसक्नुभएथ्यो । बाबालाई सम्बोधन गर्दै मामाले भन्नुभयो— “भिनाजू मैले भनेको यौटा औषधि गरिहेरम्त । पिपलको सुकेको बोक्रा कुटेर त्यसको धूलो यो घाउमा छरे सन्चो हुन्छ । अरु क्यै गर्नै पर्दैन ।” मामाले भने जसरी धूलो बनाएर घाउमा छर्न थालियो । दुई दिन बिराएर घाउ सफा गर्ने गरियो । यो उपचारले चमत्कार नै गर्‍यो । घाउलाई निको हुन धेरै सास्ती व्यहोर्न परेन । दुई साता जतिमा घाउमा खाटा बस्यो । प्रतिस्पर्धामा बिचरा बोरोलीन परास्त हुन पुगेको र पीपलको बोक्रो विजयी भएको अनुभयो गरियो । वाह रे बोक्राे ! मनले भन्यो ।