प्यूठानदेखि बाग्लुङ्सम्म, भकार्लुङ्देखि ढोर पाटनसम्मका मान्छे वर्षको एक चोटि हिउँदमा बुटवल बजार गर्न आउँथे । उनीहरू घिउ बेचेर त्यसबाट आएको पैसाले वर्षदिनको लागि बजार गर्थे ।

अर्जुन ज्ञवाली

२०१८ साल मंसिर महिनाको कुरा हो । हामी १६ जना विद्यार्थी ठिटा काँशी पढ्न जाने भनेर खिदिमबाट चहला हुँदै दोभान/पाल्पा भकार्लुङको बाटो बुटवल झरेका थियौं । झमक्क साँझ परेको थियो । बुटवलको पुल्चोक मैनटोल बत्तीले झिलिमिली थियो । मोटरबाटो बनेको थिएन । उकालो, ओरालो ढुंगेलो, गोरेटो बाटो दुई दिनसम्म नापेर आउनुपर्दा हामी लखतरान परेका थियौं ।

झिलिमिली बत्ती, झिलिमिली दुकान, झिलिमिली मान्छे हेर्दाहेर्दै थकाइले पनि थकान मार्न लागेजस्तो गर्‍यो । भोलि बिहानै मोटर चढ्नुपर्छ, भ्याइंदैन, अहिले नै पारिको बजार हेरौं भन्ने भयो र पुलपारि गणेश टोलदेखि गढीटोल सम्म पुग्यौं । मेरी बास्सै नि ! त्यो बजार, पसलै पसल छन् । घिउ पसल । सोठी पसल । नून तेल पसल । कपडा पसल । तमाखु पसल । ढाक्रेहरूको ठेलमठेल भीड छ । पसलेलाई भ्याइनभ्याइ छ । घिउ पसलमा घिउ किन्ने तताउने चटारो छ । सोठी पसलमा त्यस्तै छ । नून तेल पसलमा राम हे राम ! दुवै हे दुवै……..को गीत संगीत छ । कपडा पसलमा गुन्यु चोली, भोटो, नानीबाबुलाई फ्लाटिनको भोटी आदि वरापरि किन्नेहरूको भीड छ । हेरें । हेर्दै हिंडे । अडिएर पनि हिंडे । घोरिएँ । घोरिंदै गर्दा मनमा कुरा खेल्यो । लाग्यो–मेरा बाले, हामीहरू धेरैका बाले आफ्ना लालाबालालाई हुर्काउन, पढाउन वर्षभरि संगालेको घिउको डोको वर्षैपिच्छे बिसाएका पसल यिनै हुन् । अहिले म पनि यहीं आउन पुगेंछु । अहिले म १४ वर्षको नाबालिग छु । म पनि त्यस्तै डोको बिसाउन आएको छु । फरक यत्ति पर्‍यो कि बा वर्षैपिच्छे घिउको डोको बिसाउन यहाँ आउनुहुन्थ्यो, म भने मेरी आमाले काँशी जाने छोरालाई काँशी पुग्दासम्म बाटामा खान पुग्नेगरी बनाइदिएको मालपुवाको पोको बिसाउन आएको छु । कुराको चुराले भन्यो— हेर है बाबु ! फरक अवश्य पनि छ । तर, बेग्लै खालको छ र संवेदनशील छ । यसलाई बुझिस् भने कुरो गहिरो छ । बुझिनस् भने घरमुनि पहिरो छ ।

पुल्चोक आयौं । साँझ छिप्पिन थालेको थियो । घिन्ताङ घिन्ताङ मादलु धुनमा समूह–समूहमा ढाक्रेहरूको झाम्रे नाच छ । ढाक्रेमा महिला ढाक्रे र पुरुष ढाक्रे छन् । त्यस कारण नाचगानमा प्रशस्त रतिराग छ । एउटा भट्टीमा बास माग्यौं । त्यतिबेला हामी होटलमा भात खान्नथ्यौं । हामी बाहुन प¥यौं । होटलमा भात खाए बाहुनको जात जान्थ्यो । भात खाएको भए सित्तैंमा बास पाइन्थ्यो । भात नखाएको हुनाले एक मोहोर तिरेर बास बसियो । पोकोमा रहेको ढकनी खाएर रात हाल्यौं । बिहान उज्यालो भएपछि एउटा ह्याण्डिल मारेर चल्ने बस चढेर गन्तव्यतिर लाग्यौं । त्यो बस यो केटाले पहिलो चोटि देखेको थियो । बस बाख्राको खोर जस्तो थियो, अलि ठूलो कुखुराको खोर जस्तो थियो । दुई चारवटा खडा र बाटोमा धुलो उडाउँदै फर्कने दुई चारवटा बस देख्दा बसहरू १२/१५ वटा हुँदा हुन् । पहिलोचोटी बस चढ्दा डरलाग्न सक्छ, रिंगाउन सक्छ, उल्टी हुनसक्छ भन्थे पहिलै बस चढेकाहरूले । यो सम्झेर अन्यमनष्क हुँदै बस चढें । तीनतिर काठका बेञ्च । बीचमा खाली । बेञ्चमा नअटाएका जति खाली ठाउँमा उठेर, बसेर जाने रहेछ । गोल्ठे ढुंगा बिछ्याएर माटाले सम्माएको सडक । कुहिरीमण्डल धुलो उडाउँदै बस हिंड्यो । वरीपरी कासको घारी । अग्ला ढुंगा परेका ठाउँमा बस बुरुक्क बुरुक्क उफ्रदो रहेछ । उफ्रदाँ छतको फलामा ठोकिएर टाउकोमा टुटुल्को नउठ्ने कोही भएन । बीचमा बिग्रदैं बनाउँदै बिहान हिंडेको बस साँझपख सुनौली पुग्यो । सडक २७–३० किमी दुरीको मात्र हुँदो हो । सुनौलीतिरबाट नुन, तेल, कपडा लत्ता बोकेर आउने ट्रकले धुलो उडाउँदै आउँदा र बाटो छेक्दा बित्यासै हुन्थ्यो । बस भाडा चाहिं दुई कि तीन रूपैयाँ कम्पनी भएजस्तो लाग्थ्यो ।

पछि चार–पाँच वर्षसम्म यही बाटो आउने जाने गरियो । २०२४ सालको कुरो हो, सिद्धार्थ राजमार्ग बनिरहेको थियो । म जीवनवृत्तिको हिसावले बुटवल झरें । त्यतिखेर ६ वर्षअघिको बुटवल र ६ वर्षपछिको बुटवलमा केही फरक थियो । बजारको सारमा तात्विक फरक थिएन । रूपमा भने केही फरक थियो । खस्यौलीतिर अलिअलि बजार बस्न लागेको थियो । बुटवल–भैरहवा सलल मोटर चल्न थालेका थिए । लुम्बिनी बस, यातायात बस, नेपाल दर्शन बस संस्थागत बनेर चलेका थिए । लुम्बिनी कलेज खुलेको थियो । फेन्सी दुकान भैसकेका थिए । विदेशी रंगीन पोशाक आइसकेका थिए । लाली पाउडर घसेर, चिटिक्क साडी, स्कट, सर्ट पाइन्ट भिरेर आवालवृद्धबनिता बजार हिंड्थे ।

त्यतिखेर मेरा भतिजा चुडामढी उपाध्याय भैरहवामा अञ्चल निर्देशन अधिकारी थिए । बुढो हाँगाले गर्दा उमेर सानो भए पनि म उनको काका थिएँ । अञ्चलमा पञ्चायतमा उनी सचिव थिए । अञ्चल पञ्चायतहरू चौधौं अञ्चलमा एक एकवटा साप्ताहिक खबर कागत निकाल्थे । लुम्बिनी अञ्चलमा अञ्चल पञ्चायतले ‘लुम्बिनी सन्देश’ नाउँमा खबर कागत निकाल्थ्यो । त्यसमा सम्पादक थिए मोदनाथ प्रश्रित । मोदनाथ प्रश्रित लुम्बिनी कलेजमा पढाउन गएपछि चुडामणिले मलाई बोलाएर लुम्बिनी सन्देशको सम्पादक बनाएका हुन् । एकवर्ष भैरहवा बसेर २०२५ सालमा बुटवल सरियो ।

लुम्बिनी अञ्चलको सदरमुकाम बुटवल तोकिएको भए पनि कार्यालयका लागि संरचना बन्दै भएको हुनाले अञ्चल प्रमुख अञ्चलाधिश भैरहवा बस्थे । त्यसैकारण पत्रिकाको छापाखाना पनि भैरहवा नै थियो । अब सर्दै जाने भन्ने भयो । अञ्चल निर्देशन अधिकारी, छापाखाना र पत्रिका परिवार अलि पहिल्यै बुटवल स¥यौ । बनिभ्याएका कार्यालय भवनमा छापाखाना सेट गरियो । केही कर्मचारी आवास पनि बनेका थिए । मैले एउटा ड्राइभर क्वाटरमा ठाउँ पाएँ । यो भवन दरबार लाइनमा थियो । त्यतिखेर तलब १५०बाट २२५ थियो । एक डेढ वर्षपछि अञ्चलाधिस सरे त्यसपछि त्यो क्वाटर छोड्नुपर्‍यो । पुल्चोक पुलपाले दिदिको घर दिपक भवन पुल्चोकमा डेरा सरे । तबसम्म म बुटवलमा घुलमिल भइसकेको थिएँ ।

घुलमिल हुँदै जाँदा बुटवललाई विभिन्न ब्राण्डमा बुझ्न थालें । मलाई लाग्यो बुटवल भनेको पश्चिमका ढाक्रेले ढाकरमा बोकेर ल्याएको घिउँ हो । अनि तिनले लाने नुन हो । तेल हो । छिटको सारी हो । गुन्युको धोती हो । सलाई हो । (सलाई निकै महत्वपूर्ण थियो । त्यसबेला पहाडमा । दिनको एउटा ।) अनि साेंठी हो । त्यसपछि समयक्रममा सडक यातायात हुँदै विदेशी सामान पनि बेच्ने बजार हो । (टेलरिनको कमिज । टेलरिन कमेच, अचेल मायाजाल अन्तै जमेछ । लोकगीत यहाँनेर राख्ने । फेन्सी पनि आयो ।) यस्तै यस्तै यसका थुप्रै ब्राण्ड । थुप्रै ब्राण्ड मध्ये चारलालको ब्राण्ड पनि एउटा ब्राण्ड हो ।

वि.सं. २०२८ तिरको बुटवल । तस्वीरः एलेन फेयरबेंक । साैजन्यः सुनिल उलकको संकलन

मलाई याद छ–त्यतिखेर चार लालको एउटा ब्राण्ड थियो । मुन्निलाल, सूर्यलाल, चिनियालाल र ओमशंकर लाल । उनीहरूको एउटै ढाँचाको सेतो कुर्ता सुरुवाल र कालो छाता हुन्थ्यो । मुन्निलाल जोगिकुटीतिरबाट निस्कन्थे । चिनियालाल कदम चोकतिर र ओमशंकर लाल पुल्चोकको पुलतिरबाट । सूर्यलाल खस्यौलीबाट । यिनी चारैजना समाजमा लव्धप्रतिष्ठ व्यक्ति थिए । दिनदिनै यिनीहरूको कहीं न कहीं सार्वजनिक रूपमै भेट हुन्थ्यो । मलाई लाग्थ्यो, यिनीहरू बुटवलका चिनारी हुन् । यिनीहरू जहाँ हुन्छन् त्यहाँ बुटवल हुन्छ । जहाँ बुटवल हुन्छ त्यहाँ यिनीहरू हुन्छन् ।

यी चारैलाल फरक फरक प्रकृतिका सार्वजनिक व्यक्तित्व थिए । एकथरी मानिस ओमशंकरका वरीपरी झुम्मिन्थे । ओमशंकर बस व्यवसायी पनि थिए । तिनको अड्डा राममन्दिर लाइनमा थियो । त्यहाँ एकथरी मान्छेको अड्डा लाग्थ्यो । चिनियालालको घर बुटवल नीम चोकमा थियो । तिनी चिनी व्यापारी पनि थिए । एकथरी मान्छे तिनको दुकानमा अड्डा लगाउँथे । मुन्नीलालको बुटवल बजार र जोगिकुटी दुई ठाउँमा घर थियो । दुई गुँड थियो । दुवैतिर बस्थे । धेरैजसो जोगिकुटी बस्थे । गरीखानेहरूसँग यिनको हिमचिम थियो । गरिखाने यिनको वरीपरी हुन्थे । यिनको लेखापढीमा पनि दख्खल थियो । सूर्यलालको घर खस्यौलीको राममन्दिर लाइनमा थियो । उनको घर पछि बनेको हो । उनी पत्रकार पनि हुन् । राष्ट्रिय पञ्चायतका सदस्य पनि भएका हुन् । उनी बुटवलका प्रधान पञ्चायत पनि भए । संयोगले उनको कार्यकालमा म पनि सदस्य रहें । उनले त्यतिखेरको खस्यौलीमा नेपाल सोभियत मैत्री पुस्तकालय स्थापना गरेका थिए । एकथरी मानिस त्यहिं अड्डा लगाउँथे । व्यापार संघको स्थापनामा पनि उनको भूमिका थियो ।

सूर्यलालसित मेरो अविस्मरणीय कथा जोडिएको छ । एउटा साता लुम्बिनी सन्देश प्रकाशित भएन । सूर्यलालले भने— यो साता किन अखबार निस्केन अर्जुन भाइ ?

मैले भने— दाई समाचार नै भएन । यो साता कुनै मन्त्री पनि आएनन् ।

अञ्चलाधिस त्यतिखेर राजाको प्रत्यक्ष प्रतिनिधी नै थिए । उनी कतै भ्रमणमा गएनन् । उद्घाटन विसर्जन केही भएन । त्यसो भएर अखबार निस्केन ।
दाईले भने— त्यस्तो पनि हुन्छ ? समाचार त जहाँ पनि हुन्छ । जानोस् न चण्डीको दुकानमा । हिजो जिराको भाउ के थियो । दाल, चिनी, तोरीको तेलको भाउ के थियो सोध्नुस । कान्ताको पसलमा जानोस् हिजो अस्ती चामल के भाउ थियो, मट्टितेल, साबुन, चुरोट, ल्वाङ सुकमेल यस्तै यस्तै दैनिक उपभोग्य वस्तुको भाउ के थियो ? आज के छ ? त्यहिं समाचार हो । अस्ती मात्र पशुपति इन्स्पेक्टर (नगरपालिकाका स्वास्थ्य अधिकृत)ले अस्पताल चौकीमा गाउँबाट आउने दुध जाच्दा बढी पानी हालेको बनेर थुप्रो दुध पोखिदिए । दुधको खोलो नै बगिदियो । यीनै त हुन् समाचार । समाचार त कवाडको थुप्रोमा पनि हुन्छ । जौहारीले धुलोमा सुनका कण भेट्टाएजस्तै कवाडको रासमा थुप्रा समाचार भेट्टाउन सकिन्छ ।

सुर्यलालदाईका यी कुरा वास्तवमा मलाई पत्रकारितामा गुरु मन्त्र भए । त्यसपछि समाचारको अभावमा लुम्बिनी सन्देशको अंक कुनै साता बन्द भएन । अहिलेसम्म त्यहि आलोकमा पत्रकारको नाउँमा दुई चार अक्षर कोरिरहेको छु । उनको यो भनाईलाई मैले पत्रकारिताको तालिममा धेरै ठाउँ प्रयोग पनि गरें । यसलाई पाल्पाका पत्रकार विनय कुमार कसजुले पनि धेरै ठाउँ प्रयोग गर्नुभयो ।

त्यस्तै खस्यौलीमा बुटवल टेक्निकल इन्स्टिच्यूट थियो । त्यसका संस्थापक थिए नर्वेली नागरिक हप्टन । तिनको नाममा अहिले हप्टन पथ बनाइएको छ । त्यस्तै एउटा ठूलो प्लाइउड फ्याक्ट्री थियो । राम्रो चलेको थियो, बीचैमा बन्द भयो । बन्द भएको थिएन, बन्द गराइयो । त्यस्तै बुटवलमा ठूलो धागो कारखाना खुल्यो । चल्यो । चल्दाचल्दै बन्द भयो । बन्द भएको थिएन, बन्द गराइएको थियो । यी सबै कथाको साक्षी बुटवलमा अहिले पनि चित्रमान गौचन जीवित छन् । तिनी बुटवलको इतिहासका जीवित साक्षी हुन् । कथैकथाको बुटवलमा एउटा धक्का खाने कथा पनि छ । एउटा ग्रान्डडिजाइनमा धक्का खाएको अर्थमा त्यो कथा उल्लेखनीय छ ।

२०२७–०३७ सालको कुरा हो । त्यस बखत बुटवलमा एउटा घिउ प्रशोधन कारखाना खुल्यो । केही समय चल्यो । अनि पछि त्यसै बखत छिटै बन्द भयो । ढाकरमा माल बोकेर हिंड्ने ढाक्रेको भाषामा त्यस कारखानालाई घिउ धुने कारखाना भनिन्थ्यो ।

बुटवल पश्चिम नेपालको एउटा ऐतिहासिक व्यापार केन्द्र थियो । अझै पनि छ । लामो कालखण्डसम्म त्यस क्षेत्रका बासिन्दाको लागि नून–तेल, लत्ता–कपडा, चिनी–चियापत्ती, सावुन, मरमसला, सलाई धरि दैनिक उपभोग्य वस्तु किनमेल गर्ने बजार रह्यो बुटवल । प्रकारान्तरले अझै पनि त्यस्तै छ ।

प्यूठानदेखि बाग्लुङ्सम्म, भकार्लुङ्देखि ढोर पाटनसम्मका मान्छे वर्षको एक चोटि हिउँदमा बुटवल बजार गर्न आउँथे । उनीहरू घिउ बेचेर त्यसबाट आएको पैसाले वर्षदिनको लागि बजार गर्थे । मोटरगाडी नचल्ने ताक पहाडमा टन्न भैंसी पाल्ने, गोवर सोत्तर गर्ने, मकै, गहुँ र धान खेती गर्ने चलन थियो । अन्नमा आत्मनिर्भर थिए किसान । वर्षभरि भैंसीको घिउ संगाल्यो, अनि हिउँदमा टिनका टिन घिउ लिएर नून, तेल, लत्ताकपडा गर्न बुटवल झर्थे । ढाकरमा टन्न घिउ बोकेर आउने ढाक्रेहरूको ठेलमठेल भीड लाग्ने हुनाले बुटवललाई ढाक्रे बजार पनि भनिन्थ्यो ।

बुटवलका घिउ व्यापारी ढाक्रेहरूसित घिउ खरीद गर्थे । प्रशोधन गर्ने भनेर एमानका कराहीमा खराउँथे । खारेको शुद्ध घिउ भनेर टिनमा भर्थे र बुटवल ब्रान्ड भनेर भारत निकासी गर्थे । कहिले न महिलेदेखि यो काम गर्दै आएका व्यापारीहरू एक किसिमका रैथाने व्यापारी भइसकेका थिए । ती व्यापारीमा थोरथार व्यापारी आफ्नै पैसामा खेल्ने हुन्थे भने कारोबार निकै ठूलो हुने हुनाले अधिकांश व्यापारी सीमापारि नौतनवाका साहूहरूको पैसा खेलाउँथे । मालामाल थियो नौतनवाका वडा व्यापारीहरूलाई । उनीहरू नौतनवामै बसेर बुटवलका व्यापारीहरू मार्फत नेपालको ठूलो घिउ निकासी व्यापार गर्थे । खाँटी वस्तु, सस्तो मूल्य । सस्तो श्रम । खाँटी वस्तुको नाममा उच्च दाम । काइदा जाने फाइदा । क्या मज्जा ।

बुटवल त्यतिखेर सूठो निकासी व्यापारमा पनि प्रसिद्ध हो । समय सन्दर्भमा फेरिन्छ । फेरियो । प्रशोधित वस्तुमात्र उपभोग गर्ने चलन आयो । अन्नहरू प्रशोधन गरेर खाने चलन आयो । दूध, घिउ, तेल, पानी पनि प्रशोधन गरेर उपभोग गर्ने चलन आयो । अनि व्यापार पनि प्रशोधित वस्तुको हुन थाल्यो । यसै क्रममा बुटवलमा घिउ प्रशोधन गर्ने भनेर घिउ प्रशोधन गर्ने कारखाना आयो ।

स्विट्जरल्याण्डका मार्क व्याकम्यान भन्ने वैज्ञानिकले नेपालमा कृषिजन्य वस्तुहरूको संभाव्यता अध्ययन गर्ने क्रममा गाई भैंसीको घिउ प्रशोधनको संभाव्यताबारे विस्तृत अध्ययन गरी एउटा रिपोर्ट तयार पारेका रहेछन् । त्यस रिपोर्टलाई समेत आधार मानेर एउटा उद्योगनीति तर्जुमा गरी नेपाल सरकारले नेपालमा घिउ प्रशोधन उद्योग कार्यक्रम ल्यायो । सरकारको सार्वजनिक आह्वान अनुसार योजना आयोगको मापदण्ड पूरा गरी बुटवलमा यो कारखाना आयो । कारखाना लिएर काठमाडौंबाट लोहनी परिवार आयो । लोहनी परिवार भनेको वेदप्रसाद, प्रकाशचन्द्र र वसन्त लोहनी ।

व्यवस्था रहेछ–अव उप्रान्त प्रशोधित घिउ मात्र विदेश निकासी गर्ने । प्रशोधित भन्नाले वैज्ञानिक ढंगबाट प्रशोधित । एउटा अंग्रेजी शब्द–“प्याश्चराइजेशन” pasteurization शब्दबाट प्रशोधनलाई अर्थ्याउन खोजिएको रहेछ । त्यसको अर्थ–आँखाले नदेखिने हानिकारक जीवाणुहरू नाश गर्नेसम्मको प्रशोधन । डेरी उद्योगमा दूध प्रशोधन गरेजस्तै । त्यस्तै त्यस्तै विभिन्न वस्तुगत उद्योगमा वस्तुहरू प्रशोधन गरे जस्तै ।

सरकारको जिम्मेवारी कच्चा पदार्थ उपलव्ध गराइदिने । कच्चा पदार्थ उपलव्ध गराइदिने भनेको घिउ किनेर उपलव्ध गराइदिने होइन, अप्रशोधित कच्चा घिउ निकासीमा प्रतिवन्ध लगाइदिने मात्र हो । कच्चा घिउ निकासीमा प्रतिवन्ध लगाइदिएपछि कारखानालाई स्वतः घिउ उपलव्ध हुने भयो । यसले धेरै पक्षमा प्रभाव पार्‍यो । एक, घिउको सम्पूर्ण कारोबार करको दायरामा आयो । दुई, मजदूरहरूलाई कानूनद्वारा निर्धारित न्यूनतम पारिश्रमिक उपलब्ध भयो । तीन, घिउ उत्पादक किसानलाई प्रोत्साहन मिल्यो ।

सफलताको सुनौलो सपना देखेर ऋण धन गरी आएको लोहनी परिवारले अदम्य साहसका साथ उद्योगको संरचना बनायो । एक हदसम्म संचालनमा पनि ल्यायो । संचालनमा कारखानाले पहाडका कतिपय सहकारी संस्था मार्फत घिउ नै क्रृण लिएर पनि काम गर्‍यो । जसरी तसरी कारखाना संचालनमा आएको मात्र के थियो, दांतमा ढुंगा लाग्न थाले । परिस्थिति सुल्टो हैन, उल्टो बग्न थाल्यो । कारखानाका विरुद्ध संगठीत रूपमै आन्दोलन सुरु भयो ।

आन्दोलन जमेर भयो । बुटवलमा आफूलाई रैथाने हुँ भन्ने घिउ व्यापारीले आफ्नो पुर्ख्याैली पेशालाई कारखानाले अपहरण गर्‍यो, एकाधिकार गर्‍यो भने । संचालक स्थानीय होइनन्, बाहिरबाट लुट्न आएका हुन् भने । त्यतिखेर पंचायतमा कट्टर निर्दलीयताको चकचकी थियो । कारखानावाला निर्दलीय होइनन्, बहुदले हुन् भनेर पनि पर्गेल्न खोजियो । त्यति मात्र होइन, प्रशोधनको नाममा घिउको प्राकृतिक स्वादलाई मासेर कृत्रिम स्वाद हालियो भनेर पनि हल्ला मच्चाइयो । विरोधमा हड्ताल भए । उद्योगी भनिरहेछन्— ए बाबा । हामीलाई घिउ व्यापारको एकाधिकार छैन । तपाई जो सुकै घिउ प्रशोधन गर्न ल्याउनुस्, हामी प्रशोधन गर्छौं । यो कारखाना पानीघट्ट जस्तै हो, जहाँ जो कोही मकै, गहुँ, कोदो पिसाउन सक्छ । धान मिल जस्तै हो, जहाँ जो कोही धान कुटाउन सक्छ । तेल मिल जस्तै हो, जहाँ जो कोही तोरी पेलाउन सक्छ । ढाकरभरी घिउ बोकेर आउने ढाक्रेसित घिउ किन्नुस्, तपाइलाई कोही रोक्दैन । पहिले जस्तै घिउ किन्नुस्, ल्याउनुस्, हामी प्रशोधन गरिदिन्छौं । प्रशोधित घिउ निकासी गर्ने एकाधिकार कसैलाई छैन । तपाइ पनि गर्न सक्नुहुन्छ । तपाई पनि घिउ किन्नुहोस्, हामी पनि किन्छौं । तपाईं आफ्नो घिउ प्रशोधन गराउनुहोस् । हामी आफ्नो घिउ प्रशोधन गराउँछौं । हामी मिलौं, निकासी गरौं । प्रशोधन शुल्क अलिकति बढी जस्तो लाग्छ भने आउनुस्, हिसाव किताव गरौं । हामी काठमाडौंबाट आयौं, के हामी नेपाली होइनौ ?बहुदल र निर्दलको कुराले घिउ प्रशोधनको प्रविधिमा कुनै अर्थ राख्दैन । प्रशोधित घिउ मात्र विदेश निकासी गर्न पाइने व्यवस्था सरकारले गरेको छ । आफ्नो वस्तुको गुणस्तर कायम गर्न विश्वका जुनसुकै सरकारले यस्तो व्यवस्था गरेको हुन्छ । तपाईंलाई हामीकहाँ प्रशोधन गराउन मन छैन भने अलि पर नेपालगञ्जमा यस्तै कारखाना खुलेको छ, त्यहाँ प्रशोधन गराउनुस्, निकासी गर्नुस् । निकासी गर्नु छैन, आफूले खरीद गरेको घिउ आफ्नै देशमा खपत गर्न सक्नुहुन्छ भने प्रशोधन किन गर्नु प¥यो, आफ्नै कराहीमा खराएर बेच्नुस् ।

तर, सिन्कीको दाममा कृत्रिम प्रशोधन गरेर प्रशोधनको लोगो टाँसी सरकारी दैदस्तुर छलछाम गर्दै बुटवल घिउ बेचेर विपुल धनराशि आर्जन गर्न पल्केका विदेशी मूल मालिकलाई यो वैज्ञानिक प्रशोधनको प्रावधान ठ्याम्मै पचेन ।
विरोधको आन्दोलन चर्कदै गयो । कारखानाका भर्सन उस पारबाट मगाइएका लाउडस्पीकर÷ध्वनिविस्तारक यन्त्रका अगाडि मधुर बन्दै गए । आखिरमा सीमापारिको टक्सारबाट निसृत भई सीमावारिका रैथाने व्यापारी मार्फत प्रवाहित कम्पनी द्रव्यको शक्तिशाली प्रकम्पनमा जसरी तसरी रिन धन गरेर नेपालीले निर्माण गरेको करोडौंको आधुनिक घिउ प्रशोधन कारखाना गल्र्याम गुर्लुम ढल्यो । घुमाइफिराई नगरिकन ठेट शब्दमा भन्दा दलाल पुँजीको शक्तिशाली धक्कामा नेपाली राष्ट्रिय पुँजीको एउटा नमूना उद्योगले ‘सेट व्याक’ (धक्का) खायो ।

सरकार जसले सार्वजनिक आह्वान गरेर बोलाई सुरक्षाको ग्यारेन्टी गर्दै अनुमति थमाएर पठाएको थियो, आफ्नो अनुमतिको स्तम्भ ढल्दा निरीह बनेर टुलुटुलु हेरिरह्यो । सँगसँगै जस्तो नेपालगञ्जमा कपास खेती गर्ने, त्यसलाई ल्याएर बुटवलमा धागो काट्ने अनि त्यसलाई हेटौडा लगेर कपडा बुन्ने भनेर सरकारबाटै आपसमा सम्बद्ध तीनवटा प्रोजेक्ट तयार गरियो । योजना अनुसार नेपालगञ्जमा ठूलो स्केलमा कपास खेती गर्न थालियो । बुटवलमा धागो कारखाना लगाउन थालियो । हेटौडामा त्यस्तै ठूलो कारखाना बन्यो । नेपालगञ्जबाट कपास ल्याउने, बुटवलमा कारखानामा धागो कात्ने अनि हेटौडा लगेर कपडा बुन्ने शुरु भयो । यो काम बिना अवरोध सुचारु भयो । तर नियति, दलाल पूँजीको त्यस्तै धक्कामा त्यसैगरी कपास खेती पनि मास्सियो । घिउ कारखाना जस्तै बुटवल धागो कारखाना र हेटौडा कारखाना गर्ल्यामगुर्लुम ढले ।

इतिश्री बुटवल महात्मे घृतघट्ट (घिउँ कारखाना) ध्वसं वर्णनोनाम तथा कारपास (कपास) बाली, बुटवल तागा तथा हेटौडा कर्पट (कपडा) यन्त्रालय ध्वसं वणर्नोनाम कालखण्डोध्याय ।

यो अव एकादेशको कथा हो । एकादेशको कथा बाहेक अरु हुनेवाला पनि छैन । हजुरबा हजुरआमाहरूले आफ्ना नाति नातिनालाई कथा हालेर जे जति मनोरञ्जन देलान्, त्यति मात्र यसको प्रयोजन छ । यो कथा लेख्नेलाई फूलको माला दिनुस् । भन्ने र सुन्नेलाई सुनको माला । आफ्ना नाति नातिनालाई यो कथा सुनाएर मनोरञ्जन दिने हजुरवा हजुरआमाको बैकुण्ठ बास होस् ।