लुम्बिनी संवाददाता
बुटवल
बुटवलको मुख्य सडक भत्किएर बिजोग भएको छ । प्रदेश सरकारका मुखयमन्त्री र मन्त्रीहरू दिनहँु ओहोरदोहोर गर्ने सडकको अवस्था बिजोग भएको हो ।
सडक भत्किएर हिंड्नै नमिल्ने हुँदासमेत मर्मत हुन सकेको छैन । बुटवलको चौराहादेखि पुष्पलाल पार्कसम्मको सडक भत्किएको छ । पुष्पलाल पार्कदेखि बसपार्कसम्मको सकड क्षत विक्षत नै छ । त्यही सडकको सामुन्ने भौतिक पूर्वाधार, आर्थिक मामिला र पर्यटन मन्त्रालय छन् । सडक भत्किंदा दुर्घटनाको जोखिम बढेको छ । बुटवलको राजमार्ग चौराहा नजिक आइतबार सवारी दुर्घटना भयो । जसमा दुई जना घाइते भए । सवारी दुर्घटनाको कारण थियो सडकमा भएका खाल्डाखुल्डी । बुटवलको राजमार्ग चौराहमा मात्रै होइन, चौराहा–गोलपार्क सडक खण्डको अवस्था पनि उस्तै छ । जुन बुटवलको निकै व्यस्त सडक पनि हो ।
सो सडक भएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री, प्रदेशका मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधिहरू दैनिक रूपमा ओरोर–दोहोर गरि रहन्छन् । तर, मुख्यमन्त्री, मन्त्री, स्थानीय तहका जनप्रतिनिधि कसैको पनि सो सडकको अवस्थाका बारेमा चाँसो नदेखाएको जनता समाजवादी पार्टी बुटवल उपमहानगर समितिले आरोप लगाएको छ । यो सडकमा जनप्रतिनिधिको ध्यान केन्द्रित गर्नका लागि जसपाले सो सडकखण्डको राजमार्ग चौराह र पुष्पलाल पार्कमा माननीय मुख्यमन्त्री ज्यू, यो जोखिमयुक्त खडक देख्नुहुन्छ कि नाई ? भन्ने व्यानर राखेको बुटवल उपमहानगर समितिका अध्यक्ष बामदेव भुसालले बताए । यदि यो सडकमा रहेका खाल्डाखुल्डी तत्काल मर्मत नगरे अझ बढी रचनात्मक आन्दोलन गर्ने भुसालले बताए ।
यो सडकखण्डमा वर्षैंनी खाल्डा–खुल्डीको मर्मत हुने गरे पनि वर्षायाममा सडकको अवस्था जस्ताको जस्तै हुने गरेको छ । यसले गर्दा दुर्घटनाको जोखिम समेत बढाएको छ ।
राजमार्ग अवरुद्ध
निरन्तर परेको पानीले डाइभर्सन बगाउँदा बुटवल–नारायणगढ सडकखण्ड मंगलबार बिहानदेखि अवरुद्ध बनेको छ । पश्चिम नवलपरासीको सुनवलस्थित बडेरा र ज्यामिरेमा बनाइएको डाइभर्सन खहरे खोलामा आएको बाढीले बगाएको हो ।
सडक विस्तारका क्रममा ती स्थानमा पुल निर्माण भइ रहेको छ । अवरुद्ध सडकको डाइभर्सन बनाउने काम भइरहेको र छिट्टै सडक सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । राजमार्ग भएर पूर्व पश्चिम जाने सवारीसाधनलाई भैरहवा परासी सडक हुँदै आवतजावत गराइएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मनोजकुमार यादवले जानकारी दिए ।