हेर्दाहेर्दै बा’को गृहस्थीको जहाज डुब्न गएको थियो । नटेक्ने डालो, नसमात्ने हाँगोको अवस्थामा प्रवासतर्फ प्रस्थान गर्नुको विकल्प थिएन । गुन्टा कसियो । त्यही गुन्टाभित्र तीन बर्से म बबुरो पनि गुटमुटिन पुगें ।

गजलसँग हिंडेको जिन्दगी

बुँद रानाको संस्मरण — २

ठाडामा ठड्याइयो । के के मिलेन । त्यहाँबाट सारियो, नरपानी । नरपानीको पानी पचाउन गाह्रो भएछ क्यारे । डेरा डण्डा उठाएर लगियो, चुत्राबेंसी । अर्घाखाँचीको सदरमुकामले कम्ती हण्डर त खाएन । चुत्राबेंसी पुग्नासाथ रातारात सन्धीखर्क हुन पुग्यो सदरमुकाम । हुनसक्छ ठाडा, नरपानी, चुत्राबेंसीका समर्थकहरु बिच सन्धी सम्झौता भयो । त्यही सन्धीको प्रतिफल हुनुपर्छ सन्धीखर्क । सरकारी कामकाजमा सन्धीखर्क भनिए तापनि मलाई भने चुत्राबेंसी नै मन पर्छ । त्यही भन्छु ।

यो नाम राख्ने चलन पनि विचित्रको छ । न्वारन गर्ने सर्वाधिकार पुरेतलाई दिएको छ हाम्रो समाजले । यसमा हाम्रो तर्फबाट हुने हस्तक्षेप पनि कम्ती छैन । कतिपय होइन धेरै जसो भन्दा हुन्छ । हामीले आफ्नो मनलाग्दी नाम राखेर हस्तक्षेप गरेकै हुन्छौं । उदाहरण नदिउँ लामो हुन्छ ।

चुत्राबेंसीसँगै गाँसिएर पश्चिमतिर उक्लिएको डाँडा हो—किम्डाँडा । डाँडैभरि किम्भुले अधिकार जमाउने भएकोले होला किम्मूडाँडा, किम्डाँडा हुन पुगेको । हो यही किम्डाँडाको पूर्व छेउमा रानाहरु बस्ने गर्थे । रानाहरुको बसोबास भएकाले त्यो ठाउँलाइ रान्टोला भनिन्थ्यो ।

अब अगाडिको वर्णन मैले मेरा बाबाआमा तेजबहादुर राना र रुपीमाया रानाबाट सुनी जानेको आधारमा गर्दैछु । देखीजान्नलाई त मेरो उपस्थिति हुनुपर्थ्यो । म त्यो बेलासम्म धर्तीमै थिइन ।

रान्टोलामा हाम्रो परिवार आर्थिक सामाजिक सबै हिसाबले सम्पन्न परिवारमा गनिन्थ्यो । दूध दही, अन्नपात जे पनि पुगेसरि । यहाँनिर बाले भन्नुभएको आफ्नो बाल्यकालको एउटा घटना छुटाउन मन लागेन । भएछ के भने—
“दिनहुँजसो खीर खाएर बा मिच्छिनुभएको रहेछ । मनमनै लागेछ, यो दूधमा पकाएको खीर पनि कति खानु । दूधको खीर यति मिठो हुन्छ भने घिउको खीर अरु कति मिठो हुन्छ होला । यस्तै मिठो मिठो कल्पनामा डुब्दै गर्दा एकदिन मौका परेछ । घरका सबैजना मेलापात गएका रहेछन् । घरमा खीर पाक्न थाल्यो । घिउ र चामलको खीर बन्ने कुरै थिएन । चामल डढेर खाग भएछ । त्यो क्षति देखेर पनि बुढाबा (बाका बा) कत्ति रिसाउनु भएनछ । बरु मुसुक्क हाँसेर भन्नुभएछ— बेलैमा चामल तारेको भए खट्टे खान्थिस्, खाइस् खाग । बुढाबाको यस्तो क्षमाशीलताको एउटा अद्भुत उदाहरण यस्तो पनि छ बा’को । यो उदाहरणमा बा’ले दुनियाँलाई नै चकित पार्नुभएको थियो ।

आफ्नी श्रीमतीले पराइ पुरुषसँग अनैतिक सम्बन्ध राखेकी रहिछन् । थाहा भयो । यो घटनाले मानिसक सन्तुलन कायम नरहन सक्थ्यो । रिस उठ्नु स्वाभाविक थियो । कुटपीटदेखि लिएर मुद्दामामिला, पंचायत, पारपाचुके जे पनि हुनसक्थ्यो । त्यो सबै केही भएन । बालाई रिसै उठेनछ । दशैंको साइत पारेर दुवैलाई टीकाटालो गरी बिदाई दिनुभएछ । त्यो बेलाको संवत् १९५० तिरको व्यवस्था अनुसार जार…………

जिन्दगी हिउँदको खोला झैं शान्त गतिमा आफ्नो यात्रामा थियो । सानातिना घटनाहरु आइलाग्थे । तिनलाई गन्दै नगन्ने बा’को बानी थियो । समस्या आए पनि विचलित नबनाईकन खुरुक्क गइहाल्थे ।

एकदिन एकाबिहानै ‘पारे’ आएछन् घरमा । ‘पारे’ अर्थात पराशर ! बा’का छिमेकी, दौंतरी । बोलाउने नाम पारे । एउटा प्रस्ताव लिएर आएका रहेछन् । भनी हालेछन्— “हेर राना ! हामी चट्टै खेलो हराएको के जाति भने झैं भयौं । यो तालले हुँदैन । मिलेर बेपार गरौं । पैसाको पैसा हुन्छ । इजेको इजेत । हामी साहुमहाजनमा गनिन्छौं ।”

बाले सोच्नुभएछ, पारेका कुरा ठीक हो । खेती लाउने बेला र खेती स्याहार्ने बेला खेताला कजाउने बाहेक अरु काम के नै गरिएको छ र ! अनि त बेपार गरेर साहुमहाजन बन्ने रहर मनमा जागिहाल्यो । निधो भयो नुवाकोटमा पसल थाप्ने । नुवाकोट तिनचार गाउँको पायक पर्ने ठाउँ थियो ।

बेपार थालियो । पहलिो वर्ष बेपारले राम्रो आप्दानी दियो । भएको नाफाले लगानी थप्न प्रेरित गर्‍यो । थपियो । थप्दै गइयो । दोस्रो तेस्रो वर्षदेखि नाफा जति उधारो खातामा देखिन थाल्यो । भनियो— उधारो भए पनि त्यो हाम्रै सम्पत्ति त हो, आज नभए भाोलि कस्सो नउठाइएला । उधारो रकम उठ्छ । हामीले लिनु पर्ने थुप्रो छ । के को चिन्ता । सही बुहारी रही बेपार । बेपार छाड्नु हुन्न । टिकाइ राख्नुपर्छ ।

बेपार धान्न अब रिणसापटी लिनु बाहेक अर्को उपाय थिएन । रिन काढियो । सापटी लिन थालियो । हुँदाहुँदा यो रिण सापटीको बाढीले आज खेतको यौटा गरो, भालि बारीको एउटा पाटो गर्दै बाँकी एउटा घर मात्रै राखी जम्मै बगाएछ । बचेको त्यो घर पनि पारेलाई जिम्मा लाएर बा’ले भन्नुभएछ— “लौ यो बेचेर मेरो थाप्लाको रिण तिरिदिनू । रिण नतिरेर मरे गति परिन्न !” कस्तो गज्जबको चिन्तन !

हेर्दाहेर्दै बा’को गृहस्थीको जहाज डुब्न गएको थियो । नटेक्ने डालो, नसमात्ने हाँगोको अवस्थामा प्रवासतर्फ प्रस्थान गर्नुको विकल्प थिएन । गुन्टा कसियो । त्यही गुन्टाभित्र तीन बर्से म बबुरो पनि गुटमुटिन पुगें ।

पाठकवर्गलाई यो घटना कपोलकल्पित जस्तो लाग्न सक्छ । तर भएको घटना आकासमा घाम जत्तिकै सत्य हो । जसले रान्टोलाबाट तेजबहादुर रानाको परिवारलाई लखेटिन बाध्य बनायो— त्यो तथाकथित व्यापराकाण्ड नै हो । ब्वाँसाले मुटुकलेजो थतिसक्दा पनि फोक्सो बाँकी छ–लैजा भन्ने । यस्तो चिन्तनको बिउ कताबाट कसोरी दिमागमा रोपिन्छ ? पक्कै पनि यस्तो खुराफाती दिमागले मात्र गर्न सक्छ ।