बुटवल । नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा स्वास्थ्य सामग्री अभाव हुन नदिन आइपास नेपालले लुम्बिनी प्रदेशमा स्वास्थ्य सामग्री सहयोग गरेको छ । आइपास नेपाल कोभिड–१९ प्रतिकार्य योजना अन्तर्गत आइपासले लुम्बिनी प्रदेश सरकार, प्रदेशभित्रका अस्पताल, स्वास्थ्य संस्था र स्थानीय सरकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न लागेको हो ।
आइपास नेपालले एक थान अक्सिजन कन्सन्ट्रेटर सहित अक्सिमिटर, पीपीई सेट, डिजिटल थर्मोमिटर, केएन ९५ मास्क, ह्याण्ड सेनिटाइजर, ग्लब्स, प्रसुतिको समयमा आवश्यक औषधि सहित झण्डै २५ लाख मूल्य बराबारको २० किसिमका स्वास्थ्य सामग्री सहयोग गर्न लागेको आइपास नेपालका लुम्बिनी प्रदेश संयोजक जीवन देवकोटाले जानकारी दिए । एक थान अक्सिजन कन्सन्ट्रेटर अर्घाखाँचीको शीतगंगा गाउँपालिका प्रदान गरिने देवकोटाले बताए ।
आइपासले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मुकाम बुटवलमा केही स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आइपासका प्रदेश संयोजक देवकोटाले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका फार्मेसी सुपरभाइजर रोशन तिमिल्सिनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
‘कोभिडमा राहत सामाजिक क्षेत्रको साथ, परोपकारी मनले बढाऔं सहयोगी हात’ नाराका साथ आइपासले लुम्बिनी प्रादेशिक अस्पताल, अर्घाखाँची अस्पताल, तौलिहवा अस्पतालसहित पाल्पाको पूर्वखोला र रम्भा गाउँपालिका, तानसेन नगरपालिका, अर्घाखाँचीको सन्धिखर्क न.पा., शीतगंगा, भूमिकास्थान, मालारानी र पाणिनी गाउँपालिका, रोल्पाको थवाङ, लुंग्री, रुन्टीगढी र माडी गाउँपालिका तथा ती स्थानीय तहका स्वास्थ्यचौकीहरुमा बुधबारदेखि स्वास्थ्य सामग्री प्रदान गर्न शुरु गरेको देवकोटाले जानकारी दिए ।
कोभिड–१९ को नियन्त्रणमा सहयोग पु¥याउन गत वर्षदेखि नैसहयोग पु¥याउँदै आएको संस्थाले एक महिनाअघि लुम्बिनी प्रदेशका लागि झण्डै पाँच लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको देवकोटाले बताए ।
‘सामाजिक क्षेत्र राष्ट्रिय गौरव, आजको प्राथमिकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ नारा अघि सारेको आइपास नेपालले परिवार नियोजन तथा सुरक्षित मातृत्वको क्षेत्रमा लुम्बिनी प्रदेशका पाल्पा, अर्घाखाँची र रोल्पामा काम गर्दै आएको छ ।