लुम्बिनी संवाददाता
बुटवल
लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा समर्थन गरेका तीन जना सांसदलाई एमाले र जनता समाजवादी पार्टीले स्पष्टीकरण सोधेका छन् । एमालेले उपनिर्वाचनमा दाङबाट निर्वाचित विमला वलीलाई स्पष्टीकरण सोधेको छ ।
सूर्य चुनाव चिन्हबाट निर्वाचन लडेर विजयी भएकी उनी अहिले आफू माओवादीमा प्रवेश गरेको बताउँदै आएकी छन् । एमाले संसदीय दलले वलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरे बमोजिम प्रमुख सचेतक भूमिश्वर ढकालले तीन दिने स्पष्टीकरण सोधेका हुन् । वलीलाई दलको कार्यालयमा आफै उपस्थित भएर स्पष्टिकरण दिन र नदिए पार्टी विधान र कानूनअनुसार कारबाही हुने बताइएको छ ।
त्यस्तै जनता समाजवादी दलले पनि नीति तथा कार्यक्रमको विपक्षमा मत जाहेर गर्ने दुई सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिएको भन्दै दुई जना सांसद सहसराम यादव र पुरमती ढेंगामगरलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको उद्योग मन्त्री समेत रहेकी पार्टीकी प्रमुख सचेतक कल्पना पाण्डेले जानकारी दिइन् ।
प्रदेशसभामा ६ जना सदस्य रहेका जनता समाजवादी पार्टीका चार जना सांसद भने सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रमको समर्थनमा उभिएका थिए ।
पार्टीको संसदीय दलको जेठ २९ गते बसेको बैठकले पार्टीका ६ जना सांसदलाई नै सरकारको नीति तथा कार्यक्रमको समर्थनमा उभिन ह्वीप जारी गरेको प्रमुख सचेतक पाण्डेले बताइन । पार्टीको आधिकारिक निर्णयबिना नै उक्त पार्टीका चार जना सांसद मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि प्रदेशसभामा प्रतिनिधित्व गरेका जनता समाजवादी पार्टीका सांसदहरू दुई कित्तामा विभाजन भएका छन् । उनीहरूले एक पक्षले अर्काे पक्षलाई ह्वीप जारी गर्दै कारबाही समेत गर्दै आएका छन् ।
यसअघि प्रदेश सरकारमा सहभागी भएका सन्तोष पाण्डेय, कल्पना पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझीलाई प्रदेशसभा सदस्यबाट समेत पदमुक्त गरिएकोमा सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पद थामिएको छ ।
यसअघि जनता समाजवादी पार्टीको तर्फबाट प्रदेशसभामा दलको नेता बनेका सहसराम यादव रहेकोमा गत बैशाख ५ गते बसेको संसदीय दलको बैठकले यादवलाई हटाएर सन्तोष पाण्डेयलाई दलको नेता बनाइएको पाण्डेले जानकारी दिइन ।
पछिल्लो पटक दलको नेता चयन भएका पाण्डेले प्रदेशसभामा रहेका दुई तिहाइ बढी सदस्यको निर्णयबाट आफू दलको नेता चयन भएको बताएका छन् ।