बुटवल । लुम्बिनी प्रदेश सरकारको नीति कार्यक्रममाथि शुक्रबार छलफल भइरहेको छ ।
प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रममाथि छलफल भइरहेको हो । नीति कार्यक्रम गएको मंगलबार प्रस्तुत भएको थियो ।
शुक्रबार प्रदेशसभामा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले भने, ‘संसद भित्रको राजनीति गणितलाई विश्वास गर्छु, अराजनीतिक गणितमा विश्वास गर्दिन । संसदमा बहुमत गुमे एक मिनेट पनि सरकारमा बस्दिन ।’
प्रदेश सरकार अल्पमतमा छ भन्नेहरुले संसदको गणितलाई ख्याल गरेर टिप्पणी गरे राम्रो हुने पोखरेलले बताए । सरकारले जनतासँग गरेको धेरै वाचा पूरा गर्न नसकिएको पोखरेलले स्वीकार गरे ।
नीति कार्यक्रममाथि उठेका प्रश्नको पोखरेलले जवाफ दिएका थिए ।
कांग्रेस सहितको चार दलीय विपक्षी गठबन्धनले मुख्यमन्त्रीको नियुक्ती प्रकृया अवैधानिक भएको र त्यसमा प्रदेश प्रमुख यादवले साथ दिएको भन्दै विरोध गर्दै आएका थिए । विरोध स्वरुप प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन विपक्षी गठबन्धनबाट प्रमुख सचेतकहरू मात्र प्रदेश सभा बैठकमा उपस्थित थिए ।