बारीमै कुहिए तरकारी, उत्पादनले बजार पाएन

दिपक न्यौपाने
बुटवल
कोरोना उद्धार परियोजनाअन्तर्गत रूपन्देहीको सैनामैनामा सञ्चालन गरिएको परियोजना असफल देखिएको छ । कृषिमार्फत किसानलाई राहत दिन यो कार्यक्रम सुरु गरिएको थियो । तर बजारकै व्यवस्थापन नगरी सुरु गरिएको कार्यक्रमले नोक्सानी बेहोरेको छ ।
४० लाखको लगानी रहेको कार्यक्रमबाट जम्मा ५० हजार आम्दानी देखिएको छ । सैनामैना नगरपालिका, सेतो गुराँस बाल विकास सेवा रूपन्देही तथा सयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना पहिलो वर्षमा असफल देखिएको हो ।
सैनामैना नगरपालिका वडा नम्बर ७ मा सञ्चालित उक्त परियोजनामा १५ जना कृषकहरूले मिलेर सामूहिक रूपमा तरकारीदेखि फलफूल खेती गर्दै आएका छन् ।
यद्यपि ९ महिनादेखि निरन्तर रूपमा खटिएका कृषकहरू उत्पादनले बजार पाउनेबेला कुहिएका बन्दागोपी र लौका हेरेर चित्त बुझाउन बाध्य भएका छन् । बहुतले वृक्षारोपण कार्यक्रमलाई सैनामैना नगरपालिकाले २५ लाख र युएनडीपीले झन्डै १५ लाख लगानी गरेर सञ्चालनमा ल्याएको हो । समूहका अध्यक्ष एवम् कृषक लक्ष्मण पौड्यालले सुरुमा जस्तो जोश जागर हराउँदै गएको हो कि भन्ने भान भएको बताउँछन् । अब आम्दानी लिनेबेला गोपी जति कुहिएर मल बनायौं,’ पौडेलले भने – ‘भनेजस्तो बजार पनि पाइएन । केही सामान्य तरकारी बेचेको भए पनि अरू बारीमै थन्किए । कोभिडमै उद्धारका लागि सञ्चालन गरिएको परियोजना कोभिडकै कारण मर्कामा परेको छ । बजारमा लगेर बेच्न पनि पाइएको छैन ।’
उनले लौका, बोडी, टमाटर, ठुलो कागती, लिची जस्ता तरकारी र फलफूल गरेर साढे ५ बिगाहामा उत्पादन सुरु गरेको दैनिक लुम्बिनीलाई जानकारी दिए । यतिका समयमा गरेको मेहेनतले जम्माजम्मि ५० हजार मात्र रकम समूहमा जम्मा भएको दुखेसो गर्छन् ।
‘मेहेनतका हिसाबले त हामी अहिलेलाई घाटामा छांै,’ कृषकमध्येका एक सदस्यले भने – ‘लामो समयसम्म रहने प्रोजेक्ट भएका कारण पछिलाई राम्रो होला भनेर धैर्य गरेर बसेका र्छौ ।’ उनले कृषकहरू पूर्ण व्यवसायिक नहँुदासम्म यसले प्रतीफल नदिने स्वीकारे ।
यता परियोजनाका प्रमुख दिनेश क्षेत्रीले वर्षौंदेखि खाली रहेको जमिनलाई खेतीमा परिणत गर्दै नेपालकै नमूना फर्म बनाउने लक्ष्यका साथ अगाडि बढेको बताउँछन् । रिसर्च सेन्टरका रूपमा परिणत गरेर कृषकहरूलाई धेरैभन्दा धेरै लाभ लिने वातावरण बनाइने क्षेत्रीले दाबी गरे ।
‘यो वर्षमात्रै १० लाख बराबरको तरकारी र फलफूल बेच्ने योजना थियो । तर सम्भव नभएकै हो, क्षेत्रीले आगामी योजनाबारे थप्दै गए – १ बिगाहामा फूलखेती समेत गरेर वार्षिक रूपमा ४० लाखको उत्पादन गर्नेगरी अगाडि बढ्ने छांै । तर त्यसका लागि १५ जना कृषकहरूले पनी विशेष चासोका साथ योजनालाई मूर्तरूप दिनेगरी लाग्नुप¥यो ।’–उनले भने
यस्तै सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले पहिलो वर्ष सोचेजस्तो सफल नहुनुमा कृषकहरू पनि दोषी रहेको बताए । ‘हामीले भरपुर सहयोग गरेका छौं,’ कार्की भन्छन्– ‘उत्पादन भएका तरकारीहरू घरघरमा पुगेर कृषकहरू आफैले बेच्नुप¥यो नी ! त्यसका लागि सबैभन्दा पहिला व्यवसायिक चेतना हुन जरूरी छ ।’ नगरप्रमुख कार्कीले परिस्थितिले कहिलेकाही समस्या परे पनि मल्टिलेयर विधिबाट भरपुर फाइदा लिन आग्रह गरे ।