दिपक न्यौपाने
बुटवल
वैदेशिक रोजगारबाट फर्केका रूपन्देही सैनामैना नगरपालिका वडा नम्बर ७ देवापारका विष्णुप्रसाद पान्डे (भास्कर) ले नेपालमै केही गर्नुपर्छ भन्दै माइक्रोबस किने । धेरै कमाइ हुने आशका साथ राम्रै चलेको माइक्रोलाई विस्थापीत गर्दै रात्रि बस सञ्चालन गरे । उदियमान व्यवसायमा गनिन थालेका उनले सरकारले सिन्डिकेट खारेज गरेसंगै चार जना साथी मिलेर फेरि सेभेन स्टार कम्पनी दर्ता गरी झन्डै करोड लगानी लगाए ।
ठ्याक्कै दुई वर्ष अगाडिदेखि उच्चस्तरको एसी बस चलाएका उनले दाउन्नेको उकालोे चढ्दा होस या झर्दा नै किन नहोस् स्वदेशमै जमिने भैयौ भन्दै सपना पनि देख्न थालीसकेका थिए । तर उनको यातायात व्यवसायमै जम्ने सपना गत वर्षदेखि भने धमिलीन थालीसकेको छ । सपना पनि मजाकजस्तो लाग्छ अचेल, सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण गत वर्षदेखि ओरालो लागेको व्यवसायकाबारे दुःखेसो पोख्दै पाण्डेले दैनिक लुम्बिनीसंग भने– ‘पहिलो लकडाउनमा ७ महिना त गाडी नै गुडेनन् । पाटपुर्जा खिया लागेर बिग्रीन थालेका थिए । २, ४ महिना के चल्न थालेको थियो फेरि यो महामारीले कठिन अवस्थामा ल्याइपुरायो । महिनाको लाखांै किस्ता तिर्नुपर्छ, कर्मचारीहरूलाई तलब दिने र रोकीराखेको गाडीमा मर्मतका लागि लाग्ने खर्च सम्झदा मन अमिलो भएर आउँछ ।’
यो बीचमा हजारौं यात्रुहरूलाई सकुशल गन्तव्यमा पु¥याएका उनले व्यवसायको पीडा जसोतसो धान्दै महामारीसंग मुकाबिला गरीरहेका थिए यद्यपि घरमा अर्को ब्रजपात आइप¥यो । कोरोना कहरकै कारण हजुरआमा र आन्टिलाई गुमाउनुप¥यो । छिमेकी र अन्य आफन्तिहरू समेत गुमाएका उनले अब भने गाडी बेचेर ऋणधन तिरी वैकल्पिक पेशातर्फ जाने सोंच बनाएका छन् ।
पान्डे त एक प्रतिनिधि पात्र मात्र हुन् । यहाँ हजारांै यातायात व्यवसायीहरू धरासायी हुने स्थितिमा पुगेका छन् । रूपन्देहीमा मात्र ९ वटा कम्पनीले सार्वजनिक सवारीको सेवा दिइरहेका छन् । जसमध्ये पश्चिम नेपाल बस व्यवसायी प्रालिबाट मात्रै २४ सय गाडीहरू गुड्ने गरेका छन् भने समग्र लुम्बिनी प्रदेशमा झन्डै ५५ सय सार्वजनिक सवारी सञ्चालनमा रहेका छन् ।
‘हाम्रो पीडा कसले सुन्ने ?,’ पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले भने – ‘बंैैक र बीमा कम्पनीहरूले ब्याज र किस्ता नछोड्ने र मजदुरहरू पाल्नुपर्ने अवस्थाले पेशा नै धरासायी स्थितिमा पुगेको छ । नेपालभरी सार्वजनिक सवारीका ८ लाख मजदुरहरू प्रत्यक्ष प्रभावित हुँदा रूपन्देहीमा मात्र ८ हजार प्रभावित छन् ।’
यस्तै सिद्धार्थ, बुटवल यातायात कम्पनीका सयौं गाडीहरूका कथा व्यथा र पीडा उस्तै छन् । ६ वटा एसी बस सञ्चालन गरेका रूपन्देही देवदहका सागर सापकोटा राज्यले यातायात क्षेत्र र व्यवसायीलाई कहिल्यै राम्रोसंग सम्बोधन नगरेकोमा दुःखी रहेको बताउँछन् । सापकोटाकै समकालीन व्यवसायी एवम् पश्चिम नेपाल बस व्यवसायी प्रालिका कोषाध्यक्ष मोहन पिएसले कोभिडबाट सार्वजनिक यातायात सबैभन्दा बढी प्रभावित रहेकाले आगामी दिनमा कमाउनेभन्दा पनि कसरी चलायमान बनाउनेतर्फ सोंच्नेबेला आएको स्वीकार्छन् । पश्चिम रूट संयोजक प्रकाश बञ्जाडेले तत्काल सबैभन्दा पहिले यातायात क्षेत्रका मजदुरहरूलाई भ्याक्सिन उपलब्ध गराउनुपर्ने अन्यथा यातायात क्षेत्र सञ्चालनमा आए पनि यो क्षेत्रले धेरै पीडा बोक्ने बताए ।