राधिका भुसाल
प्यूठान
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउनमै बजार अनुगमन गरिएको छ । बन्दाबन्दीका कारण कालोबजारी भएको जनगुनासो आएपछि बुधबार माण्डवी गाउँपालिका ३ जस्पुर बगांैचादेखि देविस्थानसम्म नौ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले निरन्तरता गर्दै आएको बजार अनुगमन यो विपत् अवस्थामा कालोबजारीलाई लक्षित गरी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज अर्यालले बताए । ‘विशेष गरी दैनिक उपभोग्य बस्तुहरूको हेरेका छौं,’ सहायक प्रजिअ अर्यालले भने–‘यस्तो समयमा हुने कालोबजारी, म्याद सकिएका सामानको बिक्री वितरणलाई रोक्नका लागि जिल्लाको सबै व्यापारिक केन्द्रहरूमा अनुगमन गर्दैछौं ।’ बजार अनुगमनका क्रममा सबै व्यापारीहरूलाई मूल्य सूची, होडिङ बोर्ड राख्न, खाद्य बस्तुलाई व्यवस्थित राख्न र नविकरण गर्न छुटेकाहरूलाई तुरून्तै नविकरण गर्न अर्यालले निर्देशन दिएका छन् । ‘यस्तो विपत्को बेलामा सकिन्छ एकअर्कालाई सहयोग गर्नुस्् यदि सकिन्न भने थोरै मात्र नाफा खाएर सामान बिक्री गर्नुस्,’ उनी भन्छन्– ‘यदि कोही कसैले कालोबजारी गरेमा कानुनी कारबाहीको दायरामा ल्याउने छौ ।’ आफु सुरक्षित भएर राज्यले तोकिदिएको समयमा अनिवार्य रूपमा पसल खुल्लाराखी सेवागा्रहीलाई सेवा दिनुपर्ने पसल सञ्चालकहरूलाई उनले जानकारी दिएका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लामोसमयसम्म भएको बन्दाबन्दीका कारण बजारमा म्याद गुज्रिएका, कालोबजारी जस्ता कामहरू भएका छन् या छैनन भनि हेर्ने काम गरिएको थियो । अनुगमनका क्रममा म्याद गुज्रीएका सामग्रीहरू नभेटिएकोमा प्रजिअ अर्यालले खुसी व्यक्त गरे ।
जसपुर बजारमा रहेको अर्घाखाँची डेरी उद्योगसहित छ वटा पसल र देविस्थामा तीन वटा गरी नौ वटा पसलमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख खेमबहादुर थापाले जानकारी दिए । अनुगमनका पसल दर्ताको प्रमाण पत्र, पसलमा भएका खाद्यबस्तुहरू म्याद हेर्नुका साथै दररेट समेत सोधपुछ गरिएको उनले बताए । अनुगमनका क्रममा जस्पुर बजारका सबै पसलहरूले अनिवार्य मूल्यसूची राख्न कार्यालय प्रमुख थापाले निर्देशन दिएका छन् ।
अनुगमनमा सहभागी माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले शिशिर रिजालले माण्डवी गा.पा. भित्र सञ्चालन भएका पसलहरूलाई पालिकामा दर्ता तथा नविकरण गर्न आग्रह गरेका छन् । त्यस्तै जसपुर बजार व्यवस्थापन समितिका अध्यक्ष लवकुमार अधिकारीले स्थानीय सरकारले पनि अनुगमनलाई विशेष ध्यान दिनु पर्ने बताउँदै सा–साना बजारहरूमा पनि पसलै पिच्छे दररेट फरक पर्ने भएको मूल्यमा एकरूपता ल्याउने पर्ने बताए । क्रमशः जिल्लाका सबै क्षेत्रमा अनुगमन गरिने स्रोतले जनाएको छ ।