पाल्पा । तानसेन नगरपालिकाले युनाईटेड मिशन अस्पताल तानसेन पाल्पालाई १६ लाख १४ हजार बराबरको कोरोनाविरुद्धको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
सि. आर एस. नेपाल ललितपुरको सहयोगमा तानसेन नगरपालिकालाई प्राप्त भएको स्वास्थ्य सामग्रीहरू मिशन अस्पताल पाल्पालाई हस्तान्तरण गरिएको हो ।
विभिन्न २६ प्रकारका प्रतिकार्यका स्वास्थ्य सामग्रीहरू तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले युनाइटेड मिशन अस्पतालका निर्देशक डा. रचेल कारकलाई हस्तान्तरण गरे ।
नगरभित्र सञ्चालन भएका स्वास्थ्य संस्थाहरूको लागि तानसेन नगरपालिकाले विभिन्न दाताहरूको लागि स्वास्थ्य सामग्रीको लागि पहल गर्दै आएको तानसेन नगरपालिकाले जनाएको छ । नगरपालिले युनडीपी, ताईपेई बुद्धिस्थ संस्था, चीनको लसान नगरपालिकासंग स्वास्थ्य सामग्रीहरूको लागी पहल भइरहेको नगरप्रमुख शाहीले बताए । नेपाल सरकार बाट अनुमती प्राप्त भएमा तत्कालै चिनको लसान नगरपालिका बाट ५० हजार खोप झिकाई नगरबासीहरूलाई तत्कालै खोप लगाउन सकिने गरी कुराकानी भएको नगर प्रमुख शाहीले बताए । सरकारले अनुमती नदिँदा सबै नगरबासीलाई खोप लगाउने वातावरण नबनेको नगर प्रमुख शाहीले बताए ।
कोरोना संक्रमित भएका नगरबासीहरूलाई पालिकाले अबका दिनमा अक्सिजन कमि भएका बिरामीहरूको लागि घर घरमा अक्सिजन सिलिण्डर उपलब्ध गराउने नगरप्रमुख शाहीले बताए । नगरप्रमुख शाहीले पालिकाले सञ्चालन गरेको आइसोलेसनमा उपचारको लागि आउने सबैलाई निःशुल्क रूपमा उपचार गर्दै आएको बताए । तानसेन नगर भित्र केही समय अक्सिजनको अभाव भए पनि अहिले पर्याप्त मात्रामा रहेकोले नगरवासीको आवश्यकताअनुसार उपलब्ध गराउन सकिने नगरप्रमुख शाहीले बताए ।
कार्यक्रम नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले मिशन अस्पतालले लामो समयदेखि पाल्पाको स्वास्थ्य क्षेत्रमा ठुलो योगदान पु¥याएको, तानसेनको एउट ईतिहास बनेको अस्पताललाई सहयोग गरेको बताइन । पैसा भएका नभएका सबै बिरामीले मिशन अस्पतालमा सहज रूपमा उपचार पाउँदै आएको नगर उप–प्रमुख पाठकले बताइन । कार्यक्रममा अस्पतालकी निर्देशक डा. कारकले सबैको सहयोगबाट नै कोभिड १९ लाई परास्त गर्न सकिने भएकोले सहयोगी संस्था नगरपालिका र सि आर एस लाई धन्यवाद दिइन । स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन तानसेन नगरपालिकाका सामाजिक विकास अधिकृत भरत आचार्यले गरेका थिए ।