प्रेम सुनार
गुल्मी
निषेधाज्ञाका कारण काम नपाउँदा मागेरै भोक टार्दै आएका एक मजदूरको मंगलबार सडकमै ज्यान गएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण रोक्न गरिएको निषेधाज्ञाको अवधि बढ्दै जाँदा दैनिक काम गरी पेट पाल्दै आएकाहरु समस्यामा पर्दै आएका छन् ।
कोरोनाको पहिलो लहरको बेलाजस्तो यस पटक राहत वितरण नभएका कारण पनि मजदूरहरु समस्यामा पर्दै आएका हुन् । सोमबार दिउँसो गुल्मीको सदरमुकाम तम्घासको पुतली बजारभन्दा केही पर बन्द सडक छेउको बन्द एक घरको सटर बाहिर एक भोको पेट टार्न सहयोगको अपील गरिरहेको अवस्थामा उनी भेटिएका थिए । राहत स्वरुप केही चामल पाएपछि उनी खुशी भएका थिए ।
बाग्लुङ्ग घर बताउने ती मजदूर बोमबहादुर परियारले आफ्नो जन्म २०१८ सालमा भएको र ९ वर्षको उमेरदेखि सडक मजदुरी गर्न थालेको बताए ।
मंगलबार दिउँसो तिनै सडक मजदुर परियार बसपार्क नजिकै सडकमै पल्टिरहेको अवस्थामा भेटिएका हुन् ।
घटना लगत्तै पुगेको जिल्ला प्रहरी प्रमुख एसपी गोपाल चन्द्र भट्टराई, डीएसी पुर्षोत्तमप्रसाद पाण्डेले घटनाबारे थप अनुसन्धान गरिरहेका थिए ।
बसपार्क क्षेत्रका बासीन्दाहरुका अनुसार त्यस क्षेत्रमा ती मजदूर परियार डन भनेर चिनिदा रहेछन् । शरीर हेर्दा मोटोघाटो देखिने उनलाई कामको लागि हौस्याउन डन भनेर फुरुक्क पार्ने गरिएको स्थानीयले बताए ।
सडकमा लडिरहेका उनलाई प्रहरीले गुल्मी अस्पताल पु¥याएकोमा डाक्टरले मृत घोषणा गरेको डीएसपी पाण्डेले बताए । जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगेकी मजदूर परियारकी श्रीमती ५० वर्षीय भिमकुमारी परियारले बाग्लुङबाट गुल्मीको तम्घासमा मजदूरी गर्न आएका बोमबहादुर ३७ वर्षदेखि घर नफर्केको बताइन् । उनीहरु बाग्लुङ्गको बुर्तिबाङ्गबाट २०४६ सालमा तम्घासमा मजदुरी गर्न आएको उनले बताइन् ।
भीमकुमारीका अनुसार उनीहरुका ८ वटी छोरी छन् । तम्घासको बाघमारेमा विशाल श्रेष्ठको जमिनमा सानो छाप्रो बनाएर बस्दै आएका छन् ।
श्रीमान बोमबहादुरसंग बिछोड भएको ६ वर्षपछि मंगलबार पहिलो पटक श्रीमानको रुपमा उनको मृत शरिर देखेको उनले बताइन । न आफूले श्रीमानको दुःख सुख हेर्ने न श्रीमानले आफ्नो दुख–सुख हेर्नेे भएका कारण यो अवस्था आएको उनको भनाइ थियो । त्यो परिवारलाई संरक्षण दिँदै आएका घरबेटी विशाल श्रेष्ठले मृतकका दाजु भाइको पत्तो लगाउन नसकिएको र दाहसंस्कार गराउन र काजकिरिया चलाउन मिडिया मार्फत सहयोगको अपिल गर्नु पर्ने अवस्था आएको बताए । लकडाउन यता आफ्नो समस्या पनि उस्तै भएको र छाक टार्न निकै समस्या परेको भीमकुमारीले दुखेसो गरिन ।