दोस्रो लहरको कोरोना महामारीपछि मुलुक लकडाउनमा छ । लामो समयदेखिको लकडाउनका कारण विपन्न परिवारलाई साँझ–बिहानको छाक जुटाउनै हम्मे परेको छ । पहिलो चरणको लकडाउनमा स्थानीय पालिका र मनकारी व्यक्तिले त्यस्ता परिवारलाई खाद्यान सहयोग गरेका थिए । तर यसपटक पर्याप्त सहयोग गरेको देखिंदैन । विपन्न परिवार कोरोनाले होइन, भोकले मर्ने चिन्तामा छन् । हुने खानेहरुले सहयोग गर्नुपर्ने हो । हुँदा खानेहरुको अवस्था नाजुक छ ।
अर्काेतिर बजारमा जुनसुकै वस्तुको मूल्य आकाशिएको छ । विभिन्न बहाना बनाएर अस्वाभाविक मूल्यवृद्धि आज मात्रै होइन, विगतदेखि नै हुँदै आएको छ । खाद्यान्न, खानेतेल, तरकारी तथा फलफूलमा अस्वाभाविक मूल्यवृद्धि गरिएको छ । एकातिर भोकले मर्ने डर छ भने अर्काेतिर सामान खरिद गर्न नसक्ने अवस्था सिर्जना हुँदै गएको छ । स्वास्थ्य सामग्रीमा पनि चर्काे मूल्यवृद्धि भएको छ । कोरोना महामारीमा रक्षाकवच मानिएको मास्कदेखि मानिसको रगतमा रहेको अक्सिजन मापन गर्ने अक्सिमिटरसम्ममा मूल्य वृद्धि गरिएको छ ।
अवस्था कतिसम्म छ भने कोरोना महामारीमा जीवन जोगाउन प्रयोग हुने सेनिटाइजर समेत नक्कली उत्पादन गरेको पाइएको छ । जो कारबाहीमा परिसकेका छन् । अर्थात कोरोना महामारीमा मानिसलाई चाहिने अत्यावश्यक सामानमा मूल्यवृद्धि नगर्नु पर्ने हो । कमाउने समय यही हो भने झै गरेर मानवीय मूल्यलाई तिरस्कार गर्नु लज्जाको विषय हो । महामारीको यो बेला ठगी अपराध मौलाउनु दुःखको कुरा हो ।
यति मात्र होइन, बजारमा नक्कली र गुणस्तरहीन वस्तु समेत बिक्री भइरहेको छ । कालो बजारी रोक्नका लागि कसैले चासो दिएको छैन । मनपरी मूल्यवृद्धि भएको कुरा सबैलाई थाहा छ । तर सबै तै चुप, मै चुपको अवस्थामा छन् । उपभोक्तालाई परेको मारका बारेमा कोही बोलेको छैन । मूल्यवृद्धि राजनीतिक दलहरुको एजेण्डा बन्दैन । प्रहरी प्रशासन मौन बस्छ । गुणस्तर तथा नापतौल विभागले कानमा तेल हालेको छ । अनि जनता मारमा नपरेर को परुन् ।
अब यस्ता ठगी धन्दा रोक्न उपभोक्ता स्वयं पनि जागरुक हुन जरुरी छ । प्रहरी प्रशासनलगायतका निकायमा दबाब सिर्जना गरेर उपभोक्तालाई चर्काे मूल्य तिर्नबाट रोक लगाउनै पर्दछ । बरु सचेत उपभोक्ताले मूल्यवृद्धिलगायत ठगी धन्दाको सूचना दिएर ठगीमा संलग्नहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउने वातावरण सिर्जना गर्नु पर्दछ ।
कोरोनासँगै मूल्यवृद्धिको मारमा जनता परेका छन् । सरकारको ध्यान कसरी जनतालाई कोरोनाबाट जोगाउने भन्नेमा छ । तर जनता भित्रभित्रै मूल्यवृद्धिको मारमा परेका छन् । सरकारका विभिन्न निकायहरुले कालोबजारीविरुद्ध कडा कदम चाल्नै पर्दछ । त्यसका लागि अनुगमनलाई तीब्र बनाइनु पर्दछ । सरकारले उचित सक्रियता अपनाएन भने जनता मूल्यवृद्धिको मारमा छटपटाई रहने छन् ।