खेलकुदमा निषेधाज्ञाको प्रभाव
दिपक न्यौपाने

बुटवल
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले हरेक क्षेत्रमा प्रभाव पारिरहेको छ । नेपाली खेलकुद क्षेत्र पनि यो महामारीबाट अछुतो रहेन ।
विभिन्न समयमा आयोजना गरिएका खेलकुद प्रतियोगिताहरू ठप्प नै छन् भने हरेक विधाका खेलाडीहरू पनि भाइरसको संक्रमणसंगै जुधिरहेका छन् ।
अझ खेलकुदको हब मानीने रूपन्देहीका विभिन्न ठाउँमा बनाइएका खेलकुदका संरचनामा खर्च गरिएको लाखौं लगानी डुब्ने अवस्थामा पुगेका छन् । यस्तै रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ४ लुम्बिनी रोडमा १ करोडभन्दा बढी लगानीमा स्थापना गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमी त खोरमै परिणत हुने अवस्थामा छ ।
‘स्थानीय खेलाडी उत्पादन र स्तरवृद्धिका लागि तामझामका साथ उपत्यका बाहिर पहिलोपटक बलिङ मेसिनको प्रयोग गरी १२ जनाको लगानीमा एकेडेमीको स्थापना भएको हो तर गत वर्ष तीन महिना पनि सञ्चालन गर्न पाएनौ,’ एकेडेमीका अध्यक्ष तिलब केसीले दैनिक लुम्बिनीसंग भने–‘करोडांै लगानी बालुवामा पानी होला जस्तै भएको छ । आकर्षक संरचना बनाएर कोर्ष डिजाइन गरेर व्यवस्थित हिसाबले सञ्चालन गर्दा नगर्दै महामारीमा परियो ।’ त्यसो त गत वर्षको लकडाउनमा एकेडेमीले अरू विकल्प नदेखेपछि सोही ठाउँमा हाँस र कुखुरा पालन गरेको थियो । ‘डेढ सय लोकल कुखरा पनि बेचियो, सञ्चालक केसीले बेलीबिस्तार लगाए – ‘हाँस र कोइलर कुखुरा पनि कति आफै नै प्रयोग गरियो भने कती बेचियो । धमाधम खेलाडीहरूलाई प्रशिक्षण दिनुपर्ने बेला हाँस पालेर बस्दा खल्लो महशुस भयो ।’
सुरुवाती समयमा नै ४० जना विद्यार्थीबाट सुरु भएको एकेडेमीले विद्यार्थीहरूलाई सहुलियत रूपमा क्रिकेट प्रशिक्षणको व्यवस्था गरेको थियो । रूपन्देहीकै नमूना प्रशिक्षण केन्द्रका रूपमा रहेको एकेडेमीमा विभिन्न क्षेत्रका १२ जना क्रिकेटप्रेमीहरूले लगानी गरेका थिए । प्रशिक्षक बसन्त शाही, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी शक्ति गौचनलगायतको प्रत्यक्ष निगरानीमा रहेको एकेडेमीमा प्रशिक्षीत खेलाडीहरू महामारीको अन्त्यपछि क्रिकेट कोर्ष गर्न पाउने आशामा भने बसेका छन् ।
एकेडेमीका अर्का सञ्चालक जेबी क्षेत्री उत्कृष्ट लयमा रहेको एकेडेमीका उत्पादित धेरै खेलाडीहरू सैनामैना प्रिमियर लिगमा छनौट भएको स्मरण गर्दै छात्रा खेलाडीहरूले पनि सम्भावना देखाएको बताए ।
‘हामीहरू दोस्रो वर्षको लकडाउनमा छौं, हुन त जताततै असर परिरहेको छ, क्षेत्रीले आगामी दिनमा आशावादी हँुदै अगाडि थपे – ‘अहिले हाँस, कुखरा पाल्ने खोर जस्तो देखीएला तर समय अनुकुल भएपछि फेरि पुरानो लयमा फर्काएर क्रिकेट खेलाडीहरूलाई प्रोत्साहन गर्ने छांै । लगानीको हिसाबले हामीहरू पुरै घाटामा छांै यद्यपी क्रिकेट खेलको विकासका लागि केही गर्नुपर्छ भन्ने भावना भएको टिमका कारण पनि हामी निराश हुने छैनौ ।’
‘सरकारी र निजी क्षेत्रबाट सैनामैनामा विभिन्न विधाका खेलकुदका संरचना बनिरहेका छन्,’ अर्का सञ्चालक एवम् क्रिकेट खेललाई असाध्यै माया गर्ने सैनामैना ७ का कृष्ण ज्ञवाली भन्छन् – ग्रामीण क्षेत्रको खेलको स्तर उकास्न र जोखीममा रहेका संरचनाहरूलाई बचाइराख्न खेलकुदका सम्बन्धित निकायहरूले चासो राखेको खण्डमा हामीलाई पनि थप हौसल्ला मिल्थ्यो कि !’
खेलकुदमा निषेधाज्ञाको प्रभाव
खोरमा परिणत हुँदै क्रिकेट एकेडेमी