(रोल्पा यात्रा वर्णन— २)
रामचन्द्र श्रेष्ठ
एकैछिन अल्मलिएपछि स्थानीय साथीहरुको संयोजनमा हामीले ‘होटल रोल्पा हेरिटेज’मा आफ्नो भारी बिसायौ । यो होटल यहाँको सबैभन्दा ठूलो होटल रहेछ । म, बुंद सर र मीनजीले ३ बेड भएको कोठा ओगट्यौ । हामीलाई लिवाङ घुम्ने हतार थियो । तर सरसफाइमा अल्मलिंदा अलि ढिला भयो । बुंद सर र म लिवाङ घुम्न निस्कियौं । एउटा घरको पेटीमा पाँचजना केटाकेटीहरु घिरिम्तै भएका थिए । मैले नजिकै गएर नियालें उनीहरु एउटा मोबाइलमा कुनै भिडियो हेर्दै थिए । अलि पर चार जना केटाकेटीहरु आगो तापिरहेका थिए । मलाई लिवाङ केटाकेटीहरुको संसार जस्तो लाग्न थाल्यो । हामीले बाटो बिराएका रहेछौं । बजारतिर निस्कनुपर्ने बेलामा बस्ती तिर पसेछौ । हिंड्दा हिंड्दै हिंडिरहेको बाटो नै सकियो । बाटोको छेउमा एउटा घर ठिंग उभिएर प्रवेश निषेध गरिरहेको थियो । अनि हामी फर्रक्क फर्कियौं । एउटा लावारिस मन्दिर भेटियो । मन्दिर बाहिरी आवरणले नै श्रद्धा र पुजामा बहिष्कृत भएको प्रतीत हुन्थ्यो । मन्दिरको बिजोग देखेर हामीले भित्र चिहायौ । त्यो हुनमानको मन्दिर थियो । मलाई ताज्जुब लाग्यो । मधेशतिर हनुमानको पुजा गरिन्छ । हनुमानको ठूलो ठूलो मुर्तिहरु खुल्ला स्थानमा राखिएको देखेको छु । हनुमानलाई स्थापना गरेर कुस्तीबाज बन्ने प्रयत्न गर्ने पनि थाहा पाएको छु । तर पहाडमा हनुमानको मन्दिर देख्दा भने आश्चर्य लाग्यो । त्यसबारे सोध्न, जान्नको लागि वरीपरी कोही थिएनन् । हनुमानलाई रातो रंगले रंगाइएको थियो । गधा पहेंलो रंगको थियो । बायाँ गोडाले टेकेको देखिन्थ्यो भने दायाँ गोडा मोडिएको जस्तो बनाइएको थियो । तर मोडिएको देखाउने क्रममा खुट्टा टुक्राइएको थियो । बुंद सरले तुरुन्तै टिप्पणी गर्नुभयो— बिचरा हनुमानको एउटा खुट्टा नै भाँचिदिएछन् । उहाँको पीर यस्तो थियो कि मानौं हुनमान साँच्चैनै एकखुट्टे भएका हुन् । हनुमानलाई टीठ व्यक्त गर्दै हामी फर्किदै थियौ । बुंद सरलाई होटलबाट बोलावट भयो । म एक्लै लिवाङ डुल्न निस्किए ।
एउटा चार तल्लाको घर देखियो । घरमा पसल थियो । पसल अगाडि ग्यास सिलेण्डर थुप्रो लगाइएको थियो । खाडीको ग्यासले हाम्रा चुल्होहरु बलेका छन् । ग्यास देख्नासाथ दिमागमा एउटा सोच पलायो । सरकारले ग्यास सिलेण्डरमा दिएको अनुदान हटाउने र सय वाट भन्दा बढी विद्युतको खपतमा अनुदान दिने योजना सुनाउँदै थियो । सरकारको तर्क विद्युतको बढी खपत र आत्मनिर्भर बन्ने प्रयत्न । उसो त पहिला पनि सिलेण्डरको रंग फरक गराएर व्यावसायिक र घरेलु प्रयोजनको बेग्लाबेग्लै बनाउने प्रयास गरिएको थियो । तर त्यसको नियमन प्रभावकारी भएन । विद्युतमा उत्पादन बढ्दै जाँदा ग्यासको खपत कम गर्दै जानु ठीक हो । तर अहिले नै अनुदान हटाउने हो भने निम्न मध्यम वर्गलाई पर्ने असर बढी हुन्छ । किनभने उनीहरुले ग्यासको ठाउँमा विद्युतको प्रयोगको लागि इण्डक्शन चुल्हो, राइस कुकर, वाटर ब्वाइलर लगायत किन्नपर्ने हुन्छ । ती सबै विद्युतीय उपकरणको लागि सरकारको अनुदान हुनेछैन । चार तल्ले घरको छेउमा स्लेटले छाएको दुइतल्ले घर थियो । त्यहाँ होटल थियो । सँगै जोडिएका यी दुई घरले लिवाङका बदलिंदा रुप देखाउँथे ।
बजारमा पेट्रोलले चल्लने साना अटोरिक्सा देखिए । एउटा पर्खालमा ठूल्ठूलो अक्षरमा ‘निःशुल्क सुरक्षित गर्भपतन’को सुचना थियो । यो देख्दा मलाई अघिल्लो वर्ष सुनछहरीमा देखेको सुचनाको सम्झना आयो । त्यहाँ पनि एउटा भित्तामा माओवादी आन्दोलनकालिन राजनीतिक नारामाथि यस्तै सुचना लेखिएको थियो । सुचनामा ९ हप्तासम्मको गर्भ सुरक्षित र पूर्ण गोपनियताका साथ गरिने जिकिर गरिएको थियो । सुरक्षित गर्भपतन नेपालले स्वीकारेको नविनतम् यौन अधिकारमध्ये पर्छ । सुरक्षित यौन व्यवहारको एउटा पाटो यो पनि हो । तर यसका कैयौं नकारात्मक पक्षहरु पनि उजागर हुँदैछन् । यस्तो सुचनासँगै सुरक्षित यौन व्यवहारका अन्य सुचना पनि सँगै लेख्ने हो भने यौन शिक्षालाई टेवा नै पुग्थ्यो होला । त्यस्तै अर्को भित्तामा ‘बंैक नै किन जाने ?’ भन्ने बैंकिङ शिक्षाको सुचना थियो । त्यसमा मोबाइल बैंकिकलाई बढी जोड दिइएको थियो । मैले त्यसपछि बैंकका केही बोर्डहरु गन्न थाले । ५ वटा पुगेपछि गन्न छोडिदिएँ ।
खासमा मलाई स्थानीय पत्रिकाको रुचि थियो । होटलको टेबुलमा एउटा पत्रिका देखेको थिएँ । पाएसम्म सबै स्थानीय पत्रिका किन्ने मनसायमा थिएँ । यो मेरो पुरानो रुचि हो । म सकेसम्म नयाँ ठाउँमा पुगेपछि स्थानीय पत्रिका किन्ने गर्छु । मेरो विश्वास छ कि त्यसमा स्थानीय खबरहरुले स्थानीय गतिविधी उजागर गरेको हुन्छ । तर मैले पाएन । दुईचारवटा स्टेशनरीमा पुग्दा पनि स्थानीय पत्रिकाको अत्तोपत्तो लागेन । एउटा स्टेशनरीमा भने पत्रिको चाङ थियो । पुग्दा पसलले छैन भन्ने उत्तर दिए । ‘शिक्षक’ मासिकको चाङ थियो । सोध्दा थाहा लाग्यो— डेढसय प्रति शिक्षक पुग्दो रहेछ लिवाङ । शिक्षक शिक्षालाई केन्द्रीत गरेर गरिने विशेष प्रकाशन हो । शिक्षक मासिकको शुरुवातदेखिको पाठक भएकाले मैले कैयौं नविनतम ज्ञान आर्जन गरेको छु । शिक्षकमा प्रकाशित हुने तीर्थबहादुर श्रेष्ठको नियमित स्तम्भले मेरो विज्ञानप्रतिको चाख बचाइरहेको छ । शिक्षकको चाङदेख्दा मलाई पुरानो साथी भेटेकोजस्तो आनन्द महसुस भयो । तर मलाई स्थानीय पत्रिका चाहिएको थियो । जुन स्थानीय परिवेशमै दुर्लभ प्रतीत भइरहेकोे थियो । भेट्टाउने आशामा मैले फोटोकपी सेन्टरहरुमा पनि सोधें । यहाँ पासपोर्ट साइजको फोटोको विज्ञापन भने रहरलाग्दो देखिन्थे । जसले सरकारी कामकाजलाई इंगित गर्देथिए । अत्ति भएपछि आजित भएर मैले पुस्तक पसलेलाई सोधें— ह्वैन यहाँ कतिवटा स्थानीय पत्रिका निस्कन्छ एउटा पनि देखिएन ? उनको जवाफ खरो र तीतो थियो— ‘तीनवटा निस्कन्छ क्या हो त्यो पनि साप्ताहिक तर कुनै काम लाग्दो हुँदैन । सप्पै सारेको हुन्छ ।’
पसलेको अभिव्यक्तिले किन स्थानीय पत्रिका लिवाङमा दुर्लभ रहेछन् भन्ने उत्तर दिंदैथियो । स्थानीय पत्रिकाहरुले जब स्थानीयपन गुमाउँछन् तिनको महत्ता र आयु उत्तिनै घट्न थाल्छ । रोल्पाको मात्र होइन जुनसुकै ठाउँको स्थानीय पत्रिकाले सोच्नैपर्ने विषय हो यो । हामीले स्थानीय पत्रिकामा स्थानीय सन्दर्भलाई कत्ति जोड दियौ ? स्थानीय खोजमुलक खबरलाई कति प्राथमिकता दियौ ? अहिले सोसल मिडियाले चुनौति दिइरहेको सन्दर्भमा स्थानीय पत्रिकाले स्थानीय खोजमुलक फिचरलाई जोड दिएन भने त्यसको आयु कति होला ? पछि मैले पसलेको त्यहिं तीतो जवाफ सम्झदै होटलमा रहेको ‘जूनकीरी सञ्चार’ साप्ताहिकलाई मसिनरी नियाँले । त्यो दुईरंगे पत्रिका थियो ६ पाने । त्यसको आकार पनि निकै टीठलाग्दो देखिन्थ्यो । त्यसले केही स्थानीय समाचारलाई नै अगाडिको पानोमा सजाएको थियो । त्रिवेणी गाउँपालिका जुगारका विद्यालय जाने उमेरका शतप्रतिशत विद्यार्थी विद्यालयको पहुँचमा भएको खबर थियो । त्यस्तै तमु ल्होसार भव्यतासँग मनाइएको अर्को खबर थियो । अनि एउटा तस्वीर पनि थियो । तर पत्रिकाको छपाई र सेटिङ साह्रै कमसल थियो जसले गर्दा कतिपय अक्षर पनि प्रष्ट देखिदैनथ्यो ।
बाटोमा ठाउँ ठाउँमा डस्बिनहरु देखिए । रातो रंगको नकुहिने र हरियो कुहिने फोहोरको लागि । यसले लिवाङ सरसफाईमा जोड दिंदैछ भन्ने संकेत गथ्र्यो ।
हिंड्दा हिंड्दै बाटोमा माधव दाई र यज्ञजी भेटिनुभयो । उहाँहरु लिवाङलाई एक फन्को लगाइसक्नुभएको रहेछ । हामी फेरिसँगै डुल्न थाल्यौ । बाटोमा ‘भैरहवा सुन चाँदी पसल’देखिएपछि मैले पसेर सोधें । पसले भैरहवाकै रहेछन् ०४३ सालदेखि लिवाङमा बसेका रहेछन् । मैले पसलको बोर्डको फोटो खिंचे । बोर्ड दुई थरी थियो । एउटा पुरानो फलामको पातामा रंगले पोतिएको थियो भने अर्को अलि ठूलो फ्लेक्स थियो ।
हामी चिया पिउन चाहन्थ्यौ । मान्छेको जमघट भएको स्थानमा चिया खाएर कुरा सुन्न चाहन्थ्यौ । तर त्यस्तो चिया पसल देखेनौ । सामान्यतया चिया पसल मान्छेका जमघट हुने स्थान हुन् । त्यहाँ मान्छेहरु चिया खाँदै अनेकन विषयमा भलाकुसारी गरिरहेका हुन्छन् । त्यस्ता चियापसलहरु पब्लिक स्पेश बनिरहेको हुन्छ । तर, लिवाङमा त्यसको अभाव देखियो । उसो त हामीले चौताराहरु मास्दै गएका छौ । प्रतीक्षालय मास्दैछौ । सार्वजनिक स्थलहरुको संरक्षणमा हाम्रो अरुचि उदेकलाग्दो छ । तैपनि हामी चियाकोलागि ‘जय माँ दुर्गा मिठाइ पसल’मा पस्यौ । पसल अलि ठूलो देखिन्थ्यो । पसलले भित्ताभरि अनेकन प्रमाणपत्रहरु सजाएका थिए । जसले उनी यहाँका पुराना र सम्मानित हुन भन्ने झझल्को दिन्थ्यो । पछि कुरा गर्दा थाहा लाग्यो उनी रौतहट रहेछन् । ती प्रमाणपत्रहरुको प्रदर्शन शायद स्थानीयकरण हुने प्रयत्न पनि होला । एउटा टेबलमा फिल्टर देखियो । साथमा स्टिलका गिलाहरु घोप्टाइएको थियो । छेउमा तामाको गाग्री पनि थियो । होटल सफा देखिन्थ्यो । चियाको पैसा तिर्ने बेलामा मैले केही कुरा गर्ने प्रयत्न गरे । तर उनले खासै रुचि राखेनन् । उनी ५२ सालदेखि लिवाङमा रहेछन् । युद्धकालको सन्दर्भ कोट्याउँदा भने साह्रै गाह्रो भएको बताए । ‘५ बजे नै कफ्र्यु लाग्थ्यो साह्रै सुनसान थियो ।’ सोध्नु त मन थियो कि धेरैले पहाड छोडेर हिंड्दा पनि उनी किन लिवाङ बसिरहे ? तर, अरुचि देखिसकेपछि कोट्याउन मन लागेन । चिया खाँदै गर्दा कार्यक्रम शुरु हुन थालेको खबर आइसकेको थियो । अनि हामी हतारियौ कार्यक्रमतर्फ ।
हतार हतार होटलको कार्यक्रम कक्षमा छिर्दै गर्दा भरिभराउ उपस्थिति देखिन्थ्यो । हामी पछाडिको पंक्तिमा बस्यौ । रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीको उपस्थिति भइसकेको थियो । हामीलाई सयपत्री फूलको मालाले स्वागत गरियो । लेखमणिजीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । स्वागत मन्तव्य दधिराम कँडेलले गर्नुभयो । उहाँले एउटा स्वागत कविता पनि वाचन गर्नुभयो । अनि रचना वाचन शुरु भयो । मैले ‘साहित्यको स्वाद’ शीर्षकमा आफ्नो पठन अनुभव चर्चा गरें । यो विषयमा बोल्ने सोच भने हिमालय बुक हाउसका माधव दाईको थियो । उहाँले मलाई भालुवाङमा खाना खाने बेलामा यसरी बोल्न भन्नुभएको थियो र शीर्षक पनि उहाँले नै जुटाउनु भएको थियो । मैले पुस्तकले जीवनमा ल्याएको परिवर्तनको चर्चा गरें । पुस्तकले बिना भिसा र पासपोर्ट संसार डुलाउने बताएँ । पुस्तकले मानिसलाई उर्जावान् बनाउँछ भन्ने उदाहरण म्याक्सिम गोर्कीबाट सापट लिएँ ।
कार्यक्रममा रोल्पाली रचनाहरुको स्वाद लिने औधी रुचि थियो । कसले के पढ्छ र टिपुँला भनेर म डायरीलाई तयारी अवस्थामा राखेको थिएँ । तर रोल्पाली रचनाको लगभग शुन्यता भयो । हेर्दाहेर्दै कार्यक्रम त रोल्पामा हाम्रो गोष्ठी पो बन्यो । रोल्पालाई सुन्न होइन रोल्पा सुनाउ गएजस्तो पो आभास भयो । धन्न रोल्पाको प्रतिनिधित्व भनेर रञ्जित मगरले गजल सुनाइन् । गजलको शेरमा उनी भन्दैथिइन्—
के थाहा फूलको बदलामा पत्थर पनि आउन सक्छ
आज पर्खाल भत्काउनेले भोली घर भत्काउन सक्छ ।
यसकारण हाम्रो सम्बन्ध सूर्य जस्तै बनाउन मनपर्छ
न त कसैले र्हेन सक्छ न त आँखा लगाउन सक्छ ।
मेयर पूर्ण जिसी भने साहित्यका अनुरागी हुनुहुँदोरहेछ । मैले गरेको किताब चर्चाको सिलसिला जोड्दै उहाँले भियतनामी उपन्यास ‘न्युगेन भान ट्रवाइ’, चिनियाँ उपन्यास ‘चम्किलो रातो तारा’ र रुसी उपन्यास ‘आमा’ पढेर जनयुद्धमा होमिएको बताउनुभयो । ‘रोल्पा एउटा बिम्व हो’ भन्ने उहाँको मन्तव्यको विशेष जोड भएको मैले महसुस गरें । बुंद सरको गजल गायनले रोल्पाली सन्ध्याको मेहफिल ततायो ।
तर मलाई यो सन्ध्या बसाईले चिसो बनायो । उसो त लिवाङको तत्कालिन तापक्रम जम्मा ३ डिग्री सेल्सियस थियो । मौसमको तापमान भन्दा पनि हाम्रा रचनाहरुमा देखिएको वर्तमान यथार्थप्रतिको अरुचिले मेरो मन चिसो बनायो । खोइ त युगिन यथार्थमाथि हाम्रा कलम चलेका ? जब साहित्यले युगिन यथार्थमाथि मौन हुन्छ त्यसको महत्ता घट्न थाल्छ । त्यो समाज र जीवनबाट टाँढिदै जान्छ ।
खाना खाइवरी होटलको चिसो बिस्तारामा ज्यान न्यायो गराउने प्रयत्न गर्दा भने म उहीं प्रश्नमा घोत्लिरहेथें— किन हामी युगिन यथार्थप्रति मौनता साँधिरहेछौ ?