लुम्बिनी संवाददाता
बुटवल
राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको उप निर्वाचनमा गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय निर्वाचित भएका छन् । तिनै पाण्डे हुन्, जो बैशाख १९ गतेसम्म नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा थिए ।
प्रदेशको राजनीतिमा उथलपुथल हँुदा उनले आफ्नै पार्टीका मुख्यमन्त्रीलाई ‘पदच्युत’ गराउने गरी राजीनामा दिएका थिए । बैशाख १९ गते अविश्वास प्रस्तावको पक्षमा मत हाल्ने तयारीमा रहेका उनले मुख्यमन्त्रीले राजीनामा दिएपछि त्यसो गर्न सकेनन् ।
प्रदेशसभामा विषयगत समितिको सभापति रहेर राज्यमन्त्री सरहको सुविधा लिएका उनले विपक्षी पार्टीसंग पदको बार्गेनिङ गरेर एमाले विरुद्धमा उभिएका थिए । यद्यपि उनले राजीनामा दिए पनि मुख्यमन्त्री पोखरेल भने पदच्युत भएनन् ।
राजीनामा दिएको अर्काे दिन नै उन राष्ट्रियसभाको सदस्य पाउने गरी कांग्रेसमा प्रवेश गरे । त्यसलगत्तै उनले मनोनयन समेत दर्ता गरे ।
कपिलवस्तुका पाण्डे उनै हुन्, जो प्रदेशसभा निर्वाचन अघि कांग्रेसकै नेता थिए । कांग्रेसले प्रदेशसभामा उम्मेद्वार बन्न टिकट नदिने सुइको पाएपछि नेकपा एमालेमा प्रवेश गरे । एमालेबाट निर्वाचित जितेपछि उनी प्रदेशसभामा भित्रिएका थिए ।
अन्य पार्टीबाट आएको भन्दै एमालेले उनलाई संसदीय समितिको सभापति समेत बनाएको थियो । जसको पार्टीभित्रबाटै चर्काे विरोध भएको थियो ।
सोमबार राष्ट्रियसभामा निर्वाचित भएपछि पाण्डेलाई सामाजिक सञ्जालमा व्यंग्य गरिएको छ । पाण्डे आगामी निर्वाचनसम्म अन्य कुनै दलमा प्रवेश गरिसक्ने आरोप उनीमाथि छ । उनी स्थानीय निर्वाचनताका तमलोपाको प्रचारमा थिए । अहिले राष्ट्रिय सभा सदस्य निर्वाचित भएका पाण्डेको कार्यकाल ९ महिनामात्रै हुनेछ ।
नेपाली कांग्रेसका उम्मेद्वार पाण्डेयले एमाले उम्मेद्वार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । पाण्डेयलाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए । एमाले माधव नेपाल समूहका केही मतदाताले पनि उनलाई मत दिएका छन् ।
पाण्डेयले ५२८ मतभार अन्तरले एमालेका उम्मेद्वार चन्द्रबहादुर खड्कालाई पाण्डेयले पछि पारेका हुन् । खड्कालाई एमाले, जसपाको ठाकुर समूहलगायतकाको समर्थन रहेको थियो ।
पाण्डेय यसअघि प्रदेशसभा सदस्य थिए । एमालेबाट प्रदेशसभा जितेका पाण्डेयले राजीनामा दिएर कांग्रेसमा प्रवेश गरी राष्ट्रिय सभा उम्मेद्वार बनेका हुन् । पाण्डेले स्थानीय तहतर्फ २१२४ मत भार र प्रदेशतर्फ मतभार २०१६ प्राप्त गरेका छन् । उनको जम्मा मतभार ४ हजार १ सय ४० रहेको छ । उनले स्थानीय तहको एक सय १८ मत र प्रदेश सभाको ४२ मत प्राप्त भएको छ ।
खड्काले स्थानीय तहमा १६९२ र प्रदेशतर्फ १९२० मतभार गरी ३ जार ६ सय १२ मतभार प्राप्त गरेका छन् । निर्वाचनका तीनवटा मतदान केन्द्रबाट मतदान भएको थियो । तीन सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो । निर्वाचनमा राप्रपाले बहिस्कार गरेको छ । प्रदेशसभामा १ र स्थानीय तहको १ मत गरि २ मत बदर भएका छन् । नेपालगञ्ज उप–महानगरका नगरप्रमुख, नरैना गाउँपालिका र दरबार गाउँपलिकाका अध्यक्ष मत हाल्न आएनन् । यस पटकको राष्टिय सभा निर्वाचनमा एउटा अनौठो दृष्य देखिएको छ । स्थानीय तहको उपाध्यक्षको एउटा मतमा मतपत्र गायव गरिएको छ भने त्यसका ठाउँमा कोरोना परीक्षण गरिएको रिपोर्ट खसालीएको छ । मतगणनामा बसेका दाङ कांग्रेसका सचिव शंकल डागीले मतपत्रको ठाउँमा पीसीआर रिपोर्ट पाइएको बताए । ‘एक जना गाउँपालिकाको उपाध्यक्षले मतपत्र लगेर पीसीआर रिपोर्ट राखेर जानु भएछ ।’– उनले भने ।