काठमाडौं : प्रधानमन्त्री केपी ओलीले पत्रकार सम्मेलन गरेका छन्। शुक्रबार मध्यरातमा हठात रुपमा प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले आइतबार पत्रकारसँगको अन्तरक्रिया राखेका हुन्। 

ओलीले आफूलाई असफल पार्न विपक्षीले राष्ट्रपति समक्ष दूषित कागज पेश गरेको आरोप लगाएका छन्। एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दलिय अनुशासन तोडेर व्यक्तिगत नाच नाचेको आरोप उनले लगाएका छन्। 

ओलीले नेपाली कांग्रेससमेत माओवादीको बाटोमा लागेको समेत आरोप लगाए। माओवादीलाई हिंसातर्फ सत्ता कब्जा गर्न सक्ने बाटोमा कांग्रेस गएको उनको आरोप छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीले प्रेस चौतारी निकट पत्रकारसँग अन्तरक्रिया गरेका हुन्। ओलीले कांग्रेस ‘प्रचण्डपथ’मा हिँडेको आरोप लगाए। ‘अहिले प्रजाततन्त्रवादी भन्ने पार्टी पनि प्रचण्डपथमा हिँडे जस्तो लाग्छ,’ ओलीले भने, ‘मलाई नेपाली कांग्रेसको बोली सुनेर आश्चार्य  लाग्न थालेको छ।’ 

ओलीले माओवादी केन्द्र लोकतान्त्रिक व्यवस्थाविरुद्ध हिंसामा लागेको र त्यसमा सफलता प्राप्त हुन नसकेपछि चाल बदलेको उनको टिप्पणी छ। ‘यहाँहरु हिंसाको बाटोमा हिँड्नुभयो। लोकतान्त्रिक प्रणालीविरुद्ध सत्ता कब्जा गर्ने र तानाशाह लाद्ने उद्देश्यले हिंसामा लाग्नुभयो। त्यो नसकिने भएपछि चाल बदल्नुभयो।’