बुटवल । सिद्धार्थ राजमार्गको पाल्पाको सिद्धवावा खण्ड कुहिरेभीरमा सुरुङ्ग निर्माण हुने पक्का भएको छ । सडक विभागले सुरुङ्ग मार्ग निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । अर्थमन्त्रालयले स्विकृति दिएको १० अर्ब १५ करोडको सीमाभित्र रहेर निर्माण गर्नका लागि टेण्डर आह्वान भएको हो ।
०७१ सालदेखि बजेट बिनियोजन भए पनि नागरिकहरु सुरुङ्ग बन्नेमा विश्वस्त थिएनन् । अव भने निर्माणकै प्रक्रियामा पुगेको छ ।
सडक विभागका उपमहानिर्देशक विजय जैशीले ५ वर्षभित्र सुरुङ्ग निर्माणको काम सक्ने योजना रहेको बताए । सिद्धवावाको जोखिम क्षेत्रलाई सुरक्षित बनाउन सुरुङ्ग मार्गसहित अन्य बिधिका योजना तय गरिएका छन् ।
स्विस सरकारको सहयोगमा सिद्धवावामा सुरुङ्ग बनाउने योजनाको विस्तृत अध्ययन भएको थियो । सो अध्ययन अनुसार करिव ११ सय मिटरको सुरुङ्ग मार्ग बन्ने उपमहानिर्देशक जैसीले जानकारी दिए । सुरुङ्ग मार्गको प्रवेश विन्दु र अन्तिम बिन्दुमा भने रकनेट र रकसेट बिधिबाट पहिरो व्यवस्थापनको काम हुने उनले बताए ।
अर्थमन्त्री विष्णु पौडेलले आफू पहिलो पटक अर्थमन्त्री हुँदा सिद्धवावामा सुरुङ्गमार्ग बनाउने योजना अघि बढाएका थिए । अहिलेको कार्यकालमा त्यसलाई मुर्तरुप दिन थालेका हुन् । सिद्धवावाको पहिरो क्षेत्रमा सुरुङ्ग बनाउन आइतबार बोलपत्र आह्वान भएको हो ।
सडक बिभागले सुरुङ्ग मार्ग निर्माणका लागि टेण्डर आह्वान गरेको छ । डवल लेनको सुरुङ्ग निर्माणका लागि टेण्डर आह्वान भएको हो । यो सुरुङ्ग निर्माण ५ वर्षभित्र सक्ने योजनासहित निर्माण कम्पनीको खोजी भएको हो ।
सिद्धवावामा सुरुङ्ग बनाउने विषयलाई अर्थमन्त्री पौडेलले विशेष जोड दिदै आएका थिए । दुई वर्षअघि नै सुरुङ्ग मार्ग बनाउन मिल्ने नमिल्ने विषयमा चट्टानको परीक्षण भएको थियो । चट्टान परीक्षणमा सुरुङ्ग बनाउन सकिने निष्कर्ष निकालिएको थियो ।
हाल पहिरोले अत्याधिक जोखिम क्षेत्र रहेको क्षेत्रमा ११ सय २६ मिटरको सुरुङ्ग बन्नेछ । अन्य स्थानमा ढुंगा नखस्ने प्रबिधि अपनाइनेछ । करिव ३ किलोमिटर क्षेत्र सुरक्षित बनाउने काम सडक बिभागले गर्न लागेको हो ।
सुरुङ्ग निर्माणपछि पनि अहिलेको सडक कायमै हुनेछ । जसलाई आपतकालीन अवस्थामा सवारीसाधन चलाउन प्रयोग गरिनेछ । जसको माथिबाट पहिरो झर्न नदिन रकसेट प्रबिधि अपनाइने उपमहानिर्देशक जैसीले जानकारी दिए ।
सडक बिभागले ४५ दिने बोलपत्र आह्वान गरेको छ । अनुभवि कम्पनीले मात्रै सुरुङ्ग निर्माणका लागि टण्डर दाखिला गर्नेछन् ।
सिद्धार्थ राजमार्गको यो खण्ड अत्यन्त जोखिमपूर्ण छ । पछिल्लो एक दशकमा करिव २ सय जना यो पहिरो क्षेत्रमा परी ज्यान गुमाएका छन् । हरेक वर्षायाममा यो क्षेत्रमा जाने पहिरोले यातायातका साधन दुर्घटनामा पर्ने गरेका छन् । यो सडककै कारण बुटवलबाट उत्तरतर्फ जोडिने जिल्लाको यात्रा जोखिमपूर्ण हुने गरेको छ ।