दाङ । दाङका दश स्थानीय सरकारहरुले पालिकामै कोरोना उपचारका लागि कोरोना अस्पताल निर्माण गरेका छन । संक्रमण दर र मृत्यु दर उच्च देखिन थालेपछि दाङका स्थानीय सरकारहरुले धमाधम कोरोना विशेष अस्पतालहरु निर्माणमा जुटेका हुन । पालिकाका नागरिकहरुलाई सहजरुपमा उपचार सेवा दिने उदेश्यले स्थानीय सरकारले कोरानाका बिरामीको उपचारमा सहज बनाउन अक्सिजनसहितको कोरोलना अस्पताल बनाएका हुुन ।
जिल्लामा प्रदेश स्तरीय एक सय बेडको एउटा कोरोना अस्पताल स्थापना भएको छ । भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले पनि ५० बेडको आइसोलेसन सञ्चालन गरेको छ । दुई अस्पतालले विरामीको चाप धान्न नसकेको र जटिल प्रकृतिका संक्रमितले बेड नै पाउन छाडेपछि जिल्लामा रहेका १० स्थानीय सरकारले कोरोना संक्रमितहरुको उपचारका लागि धमाधम कोरोना अस्पताल निर्माण गरेका हुन ।
दाङको देउखुरी क्षेत्रका चार वटा स्थानीय सरकार मिलेर एउटा कोरोना अस्पताल निर्माण भएका छन । लमही नगरपालिका, राजपुर, राप्ती र गढवा गाउँपालिकाको संयुक्त लगानीमा लमहीमा २५ शैयाको कोरोना विशेष अस्पताल स्थापना गरिएको छ । पश्चिम क्षेत्रका शान्तिनगर, दंगीशरण, बबई गाउँपालिकामा अक्सिजन सहितको १०÷१० बेडको कोरोना विशेष अस्पताल.(आइसोलेशन सेन्टर) सञ्चालनमा ल्याएका छन । नागरिकहरुको उपचारलाई केन्द्रित गरेर कोरोना विशेष अस्पताल सञ्चालन गरेको शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरी बहादुर पुनले बताए । उनले आइसियु आबश्यक विरामीलाई मात्रै रिफर गर्ने गरि चिकित्सक सहित उपचारको व्यवस्थापन भएको बताए ।
तुलसीपुर उपमहानगरपालिकाले ५० शैयाको अक्सिजनसहितको कोरोना विशेष अस्पताल सञ्चालन गरेको छ । ५० सैयामा नै आइसियु र एचडियुको समेत सेवा दिने तयारी भएको उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले बताए । दोस्रो लहरको संक्रमण बढी खतरनाक देखिएको र सहज रुपमा नागरिकहरुले उपचार पाउन समस्या हुन थाले पनि नगरमै कोरोना विशेष अस्पताल निर्माण गरिएको उनले बताए ।
तुलसीपुर उपमहानगरका कोरोना फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक विमल केसीले नगरमै कोरोना उपचारका लागि अूपताल निर्माण भए पछि नगरबासीलाई उपचारका लागि सहज भएको बताए । उनले अक्सिजन आवश्यक परेका विरामीलाई नगरमै उपचार गर्ने र रिफर गर्नुे पर्ने मात्रैलाई रिफर गर्ने गरि उपचारको व्यवस्थापन भएको बताए । उनले अहिले अस्पतालमा ३० जना कोरोना संक्रमितको उपचार भइरहेको बताए ।
घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरी कोरोना बिरामीका लागि आवश्यक पर्ने बेड तयार गरेको छ भने त्यसमा लाग्ने खर्च उपमहानगरपालिकाले लगानी गरेको छ । बंगलाचुली गाउँपालिकाले त पालिका स्तरको अस्पताल पहिले देखिनै सञ्चालन गर्दै आएको छ । त्यसमा पनि छुट्टै कोरोना विशेष अस्पताल पनि सञ्चालनमा ल्याइसकेको छ । पालिकाहरुले निर्माण गरेका कोरोना अस्पतालहरुमा हेलिप्याड समेत निर्माण गरिएको छ ।
पालिकाले बनाएको आइसोलेशन र अस्पतालहरुमा अक्सिजन सिलिन्डरको अभाव कायमै रहेको छ । दाङमा अहिले दैनिब आठ सय अक्सिजन सिलिन्डरको खपत माग छ । जिल्लामा बैशाखको महिना मात्रै ८४ जनाको कोरोना सक्रमणका कारण मृत्यु भएको छ । दुई हजार ७ जना सक्रिय संक्रमित छन ।