समर्पण कल्पना

सरकार !
देश भित्र भित्र मन्दगतिले जलिरहेछ
तिम्रा समाजवादका तथ्यहरू
सिंहदरबारका भतेर भित्र छरिएका छन्
तिम्रो समाजवादको प्रयोग यसरी हुँदैरहेछ ।

तिम्रो लोकतन्त्रमा
देश बर्बरताको आधिबेरीसँगै
अन्धकारतिर धकेलिदै छ।
तिमीले हातमा शक्ति पायौ
तिम्रो आत्म र विवेक शक्ति मादकतामा ध्वस्त हुँदा
दर्शन, सिद्धान्त, विचार,दृस्टीकोण बिना नै
तिमीलाई गराउने मन्त्रीहरू छन्
तिम्रो समाजवादको प्रयोग यसरी हुँदैरहेछ।

महङ्गी बस्ती बस्तीमा बोझ बन्दा
तिमिलाई नागरिकका अभाव र गरीबीप्रति पीडाबोध छैन,
तिमी पशुपतिमा गजुर थप्दै जाउ,
नागरिक हरेक छाकमा गाँस घटाउँदै छौ
कोरोनामा मास्क छैन
अक्सिजन छैन।
बिरामीलाई अस्पताल छैन
तिमी सिताराम रथयात्रामा मन्त्रमुग्ध बन।
हेरिरहेछाैं,
तिम्रो समाजवादको प्रयोग यसरी हुँदैरहेछ।


देशका सिर्जनशील युवा बोकेर
दसौंलाख भोका पासपोर्ट
बालुवामा पसिना सिञ्चिन पुग्छन्

सरकार !
तिम्रो सत्ताले काचुली फेर्यो
मेरो देशले काचुली फेर्न सकेन।
किनकि
तिमिसँग प्रयाप्त संवेदना छैन
कर्मचारीको स्वास्थ्य भन्दा अर्थतन्त्र ठूलो मान्छौ तिमी
महसुस गर्‍यौं सरकार,
आर्थिक क्रान्तिको सुरुवात यहाँबाट पाे भएछ।
कुर्सीको खेलमा मेरो देशलाई
अस्थिरताको बन्धन बनाई
देशलाइ कान्डै काण्डै काण्डको शृंखलामा धकेल्दै गर्दा,
तिमीलाई राजनेताको ताज दिएका छन्
महानताको सिंगाे विभुती तिमी
सरकार तिमीलाई रक्तिम अभिवादन छ।