“गंगानाथ दाहिने रहे भने राम्रा–नराम्रा दिन कटिहाल्छन् ज्यू ! पेटको के कुरा ! घट्टको सोलीमा जति हाले पनि कम हुन्छ । आफन्त–परायी प्रेमपूर्वक हाँसी बोलिदिऊन् त्यहीँ काफी छ दिन काट्नका लागि ।”

मूलः शेखर जोशी
अनुवादः जंगबहादर शाह

(३० सेप्टेम्बर १९३२मा अल्मोरामा जन्मिएका शेखर जोशी उत्तराखण्डका जनता, संस्कृति, परम्परा र जीवनशैलीका जानकार मानिन्छन् । ‘दाज्यु’, ‘कोसीका घटवार’, ‘बच्चेका सपना’ उनका उल्लेखनीय रचनाहरू हुन् ।)

घट्टको सोलीमा अझै एक चौथाइभन्दा धेरै गहुँ बचेको थियो । सोलीमा हात हालेर उसले बेफ्वाँकमा उलटपुलट गर्‍यो र जाँतोका पाटका वृत्तमा फैलिएको पीठोलाई सोहोरेर एक ठाउँमा थुपारिदियो । बाहिर जाँदाजाँदै उसले एकपटक फेरि सोलीमा चियाएर हेर्‍यो ताकि यति बेरमा अरू कति पिसाइ भयो होला भन्ने थाहा होस् । तर, तल्तिरको मात्रामा कुनै विशेष फरक परेको थिएन । ‘खस्स–खस्स’को आवाज गर्दै अत्यन्त सुस्त गतिले माथिको पाट घुम्दै थियो । घट्टको प्रवेशद्वार निकै होचो थियो । त्यसकारण ऊ निकै निहुरेर बाहिर निस्कियो । कपाल र पाखुरामा हल्का सेतो पत्र जमेको थियो ।

खम्बाको सहारा लिएर ऊ बडबडायो–

“जा स्साला ! बिहानदेखि अहिलेसम्म दस पसेरी (१०४५ सेर) पनि भएको छैन । घाम कहाँबाट कहाँ पुगिसक्यो ! कस्तो अचम्म !”

कुरा त अचम्मकै छ । जेठ सकिंदै छ । आकाशमा कतै बादलको नाम–निशान छैन । पोहोर–परार त यति बेलासम्म धानको रोपाइँ सिद्धिन्थ्यो । तर, असौं खोला–नाला सबै सुकेका छन् । खेतमा पानी पटाउने कुरा त कहाँ हो कहाँ, ब्याड पनि सुकिरहेका छन् । साना नाला–कुला–किनारका घट्ट महीनौंदेखि ठप्प छन् । कोसीको किनारमा छ, गुसाईको घट्ट । तर, यसको रफ्तार पनि माल ढुवानी गर्ने घोडाभन्दा तेज छैन ।

जाँतौका तल्तिर – ‘छिच्छर–छिच्छर’को आवाजसाथ पानीलाई काट्दै मधानी चलिरहेको थियो । कति कम आवाज ! हुनेखाने गाई–भैंसी पालकहरूको घरमा दहीको मधानीले योभन्दा धेरै शोर गर्दछ । यस्तै मधानीको शोरमा मान्छेले आफ्नै आवाज सुन्न सक्दैनथ्यो । अब त नदी पार बोलिएको कुरा पनि यहाँ सुनिन्छन् ।

छप्प–छप्प–छप्प…पुरानो फौजी पाइण्टलाई घूँडासम्म मोडेर गुसाईं कुलोमा हिँड्न थाल्यो ताकि कतै पानी चुहिएको भए त्यो थुन्न सकियोस् । एक थोपा पनि खेर नजाओस् । थोपा–थोपाको मोल छ अचेल त । ऊ लगभग आधा फर्लाङ् (Furlong = २२ गज) हिँडेर बाँधमा पुग्यो । नदीको पूरा पाटलाई घेरेर पानीको बहाव घट्टेकुलोतिर मोडिएको थियो । किनारका घाँस–माटोको सहायताले उसले बाँधका एक–दुई ठाउँका निकास थुनिदियो र कुलोका किनारै–किनार हिँडेर घट्टमा आइपुग्यो ।

भित्र गएर उसले फेरि पाटका वृत्तमा फैलिएको पीठोलाई बढारेर थुप्रोमा मिसाइदियो । सोलीमा अझै अलिकति गहुँ बचेको थियो । ऊ उठेर बाहिर गयो ।

टाढा, बाटोमा एकजना टाउकोमा पिसान बोकेर ऊतिरै आइरहेको थियो । गुसाईं उसको सुविधालाई ध्यानमा राखेर त्यहींबाट करायो—

“सुन–सुन ! यहाँ निकैबेरमा पालो आउला । दुई दिनको पिसान अझै बाँकी छन् । माथि उमेदसिंहको घट्टतिर गई हेरौं ।”

त्यो व्यक्तिले फर्कनुभन्दा पहिले एकपटक फेरि प्रयास गर्‍यो । निकै चर्को स्वरमा पुकार्दै उसले भन्यो – “जरुरी छ ज्यू ! मेरो नम्बर पहिले लगाइदिन्नौ ?”

गुसाईं ओठभित्रै मुस्कुरायो, स्साला कति कराउँछ, घट्टको आवाजले मैले सुन्न सक्दिनँ कि भन्ठानेर हो कि ! अलि कम चर्को आवाजमा त्यसले हात हल्लाउँदै भन्यो– “यहाँ त जरुरीको बाउ राखिएको छ ज्यू ! तपाईं मास्तिर लाग्नुहोस् ।”

त्यो मान्छे फर्कियो ।

देवदारको छायामा बसेर गुसाईंले बलिरहेको मूढोलाई खोतलेर चिलिम सल्कायो र हुक्का गुडगुडाउन थाल्यो ।

जाँताको पाट ‘खस्सर–खस्सर’ गर्दै चलिरहेको थियो । सोलीबाट दाना खसाल्ने चिडिया (यन्त्र) किट्–किट्–किट्–किट्’ गर्दै पाटसँग ठोक्किँदै थियो । छिच्छर–छिच्छरको आवाजसाथ मधानीले पानीलाई काटिरहेको थियो । अरू कतै कुनै आवाज थिएन । कोसीको बहावमा पनि कुनै ध्वनि थिएन । बालुवाका राशिका बीचमा छितरिएका ढुंगाहरू, शिर ठड्याएर आकाशतिर हेरिरहेका थिए । दोपहर ढलिसक्दा पनि यति कडा धूप कि चरा पनि कतै बोल्दैनन् । कुनै प्रकारको प्रिय–अप्रिय स्वर सुनिँदैन ।

सुकेको नदी–किनारमा बसेको गुसाईंले सोच्न थाल्यो, मैले किन त्यो व्यक्तिलाई फर्काइदिएँ । घट्टभित्र रहेको त्यत्रो पिसान देखेर त्यो आफैँ फर्की जान्थ्यो । दुईचार छिन कुराकानी गर्न पाउने आस त हुन्थ्यो ।

गुसाईंलाई कहिलेकाहीँ यस्तो एक्लोपनले धेरै दुःख दिन्थ्यो । सुख्खा नदी किनारको त्यो एक्लोपन, होइन जिन्दगीभर साथ दिनका लागि जुन एक्लोपन त्यसको ढोकामा धर्ना दिएर बसेको छ, त्यहीँ । जसलाई आफ्नो भन्न सकियोस् यस्तो कुनै प्राणीको स्वर त्यसका लागि होइन । घरपालुका कुकुर–बिरालोको स्वर पनि होइन । के ठेगान यस्तो मालिकको जसको घरद्वार छैन । स्वास्नी–छोराछोरी छैनन्, खानपिनको ठेगान छैन ।

घूँडासम्म उठेको पुरानो फौजी पाइण्टको मोडलाई गुसाईंले खोल्यो । कुलोमा हिँड्दाखेरि अलिकति भाग भिजेको थियो । तर, यस गर्मीमा त्यसलाई भिजेको पाइण्टको शीतलता राम्रो लाग्यो । पाइण्टको खुम्च्याइलाई सोझ्याउँदै गुसाईंले हुक्काको नाललाई मुखमा राख्यो । उसका ओठका बायाँ किनारमा हल्का मुस्कान देखियो । विगतका कुरा या दगर्दै गुसाईंले सोच्न थाल्यो कि यसै पाइण्टका कारण उसले यो एक्लोपन पाएको हो । त्यस्तो कुरा याद गर्न मन लाग्दैन । पुराना, धेरै पुराना कुराहरू त्यसले बिर्सियो, तर हवाल्दार (हवल्दार) साबको पाइण्टको कुरा बिर्सन्न ।

यस्तै फौजी पाइण्ट लगाएर हवल्दार धरमसिंह आएको थियो, लाण्ड्रीमा धोइएको, धारिलो क्रिजवाला पाइण्ट । त्यस्तै पाइण्ट लगाउने महत्वाकांक्षाका साथै गुसाईं फौजमा गएको थियो । तर, फौजबाट फर्कंदा पाइण्टका साथसाथै जिन्दगीको एक्लोपन पनि ऊसँगै आयो ।

पाइण्टका साथ अरू पनि धेरै स्मृतिहरू सम्बद्ध छन् । त्यसपटकको छुट्टीका कुरा…।

लेखकः शेखर जाेशी

कुन महीना ? हो, वैशाख मै थियो । शिरमा क्रस खुकुरीको क्रेस्टवाला कालो, फिश्तीजस्तो टोपी ढल्काएर फौजी पहिरनमा ऊ पहिलोपटक एनुअल लीव (वार्षिक बिदा) मा घर आउँदा सल्लाघारीको आगोझैँ खबर यताउति फैलिएको थियो । आबाल–वृद्ध सबै त्यसलाई भेट्न आएका थिए । काकाको गोठ एकदम भरिएको थियो– टन्न । बिस्ताराको नयाँ, एकदम सफा, जगमग, राता–नीला धर्कावाला दरी आँगनमा ओच्छ्याउनुपरेको थियो मानिसहरूलाई बसाल्नका लागि । खूब याद छ, आँगनको गोबर दरीमा लागेको थियो । मात्र चना–भेली वा हल्दवानी– (ठाउँको नाम हो) को तमाखूको लोभ नै थिएन, हिजोको लजालु गुसाईंलाई यो नयाँ रूपमा हेर्ने कुतूहल पनि थियो । तर, गुसाईंको आँखाले जसलाई त्यो भीडमा खोजिरहेको थिए, ऊ त्यहाँ थिइन ।

नालापारिको आफ्नो गाउँबाट, भैंसीका पाडो खोज्ने निहुँले लछमा अस्ति नै आएकी थिई । तर, गुसाईंले त्यो दिन ऊसँग भेट गर्न सकेन । गाउँका केटाहरू नै गुसाईंका लागि ठूलो समस्या भएका थिए । बूढा नरसिंह प्रधान तिनताका ठीक नै भन्ने गर्थे कि अचेल गुसाईंलाई देखेर सोबतियाको छोराले पनि आफ्नो फाटेको घेरावाल टोपीलाई ढल्काएर लगाउन थालेको छ । बिरालीको बच्चाझैं केटाहरू दिनरात त्यसको पछाडि लागिरहन्थे चुरोट–बीडी वा गफगाफका लोभमा ।

एकदिन बडा मुश्किलले मौका पाएको थियो उसले । टपरीका लागि पात टिप्न लछमालाई जंगलतिर जान लागेको देखेर त्यो केटाहरूसँग मृगको शिकार गर्ने बहाना बनाएर स्वंय जंगलतिर लागेको थियो । गाउँको सीमादेखि धेरै टाढा, काफलको बूटामुनि, गुसाईंको घूँडामा शिर राखेर लेटी–लेटी लछमा काफल खाँदै थिई । पाकेका, पुष्ट, एकदम राता–राता काफल । ख्याल–ख्यालका काफल खोसाखोस गर्दा गुसाईंले लछमाका मुठी थिचिदिएको थियो । टप्–टप् गर्दै काफलको गाढा रँग त्यसको पाइण्टमा खसेको थियो । तब लछमाले भनेकी थिई–

अनुवादकः जंगबहादर शाह

“यसलाई यतै छाडिदिनू । यसबाट लामो बाहुलाको कुर्ती बनाउन सकिएला ।”

त्यति भनेर ऊ आफ्नो कुराउपर आफै हाँसेकी थिई खित्का छाडेर ।

पुराना कुरा – के भनेको थियो गुसाईंले ! याद आइरहेको छैन…तेरा लागि मखमलको चोलो ल्याइदिनेछु मेरी प्यारी…अथवा यस्तै कुरा ।

तर, लछमालाई मखमली चोलो कसले पहिराएको होला ! डाँडापारिको रमुवाले जो नरसिंगा–निसानका साथ ऊसँग बिहे गर्ने आएको थियो ।

“जसका अगाडि–पछाडि दाजुभाइ, दिदीबहिनी छैनन्, मातापिता छैनन्, परदेशमा बन्दुकको टुप्पोमा ज्यान राख्ने मानिसलाई हामीले छोरी कसरी दिन्थ्यौं ?”, लछमाको बाउले भनेको थियो ।

उसको मन छाम्नका लागि गुसाईंले घुमाउरो पाराले कुरा चलाउन लगाएको थियो । त्यसै वर्ष मङ्सीरको एक चीसो उदास साँझमा गुसाईंको यूनिटको सिपाही किशनसिंहले क्वार्टरमास्टर स्टोर–अगाडि उभिएर ऊसँग भनेको थियो–

“हाम्रो गाउँका रामलालले हठ गरेकोले नै छुट्टी बढाउन परेको थियो । यस वर्ष उसको बिहे हुनेवाला थियो । एकदम असल आइमाई पाएको छु यार ! एकदमै राम्री–पटाका । हँसमुख । तिमीले त देखेकै होउला । तिम्रो गाउँ– नजिककै हो । लछमा– लछमा यस्तै केही नाम भएकी ।

गुसाईंलाई याद रहेन कि कुन बहाना बनाएर किशनसिंहबाट टाढिएको थियो । त्यो दिन रम–डे (पल्टनमा सिपाहीदेखि हवल्दारसम्मलाई तोकिएको दिनमा, निश्चित मात्रामा रम दिइन्छ पेमेन्टमा) थियो । सधैँ आधा पेग (३० मिलिमिटर) तान्ने गुसाईंको पेशी भएको थियो मलेरिया प्रीकाशन नलिएको अपराधमा । सोच्दा–सोच्दै गुसाईं बुदबुदायो–

“स्साला एड्जुटेण्ट (Adjutant, Commanding Officer का सहायक कप्तान) !”

गुसाईंले सोच्न थाल्यो, त्यो वर्ष छुट्टी सकेर पल्टिनतिर लाग्नुभन्दा एकदिन पहिले त्यो मौका छोपेर लछमासँग भेट गरेको थियो उसले ।

“गंगानाथज्यूको किरिया, तिमीले जे भन्छौ त्यही गरुँला ।”, आँखामा आँसु भनेर उसले भनेकी थिई ।

वर्षौंदेखि ऊ सोच्दै आइरहेको थियो कहिले लछमासँग भेट भयो भने त्यसले अवश्य भन्नेछ कि गंगानाथलको पूजा गराएर प्रायश्चित अवश्य गरोस् । देवी–देवताको झुट्टा कसम खाएर तिनीहरूलाई नाराज गरेर के फाइदा ! जसमाथि पनि गंगानाथको कोप भयो त्यो कहिल्यै सुखी भएन । तर, लछमासँग कहिले भेट हुने हो कुन्नि ! बालापनका संगीसाथी नोकरी–चाकरीका लागि मैदानतिर लागेका छन् । गाउँतिर जान त्यसलाई मन लाग्दैन । लछमाबारे कसैसँग सोध्न पनि त्यसलाई राम्रो लाग्दैन ।

जति दिन ऊ नोकरीमा रह्यो, ऊ फर्केर गाउँ गएन । एक स्टेशनदेखि अर्को स्टेशनका लागि वालन्टरी ट्रान्सफर (Voluntary Transfer) लिनेवालाको लिस्टमा नायक गुसाईंसिंहको नाम माथि नै रह्यो, लगातार पन्ध्र वर्षसम्म ।

गत वैशाखमा नै ऊ गाउँ फर्कियो, पन्ध्र वर्षपछि; ‘रिजर्व’ आएपछि । कालो कपाल लिएर गएको मान्छे आधा सेता कपाल लिएर फर्कियो । लछमाको हठले उसलाई एक्लो बनाइदियो ।

आज यस एक्लोपनमा कोही हुँदो हो जसलाई गुसाईं आफ्नो जिन्दगीको किताब पढेर सुनाओस् । शब्द–शब्द, अक्षर–अक्षर, कति देख्यो, कति सुन्यो र कति अनुभव गर्‍यो उसले…।

तर, नदीको किनारमा यो तातो बालुवा, घट्टको खटर–पटर र देवदारको छायामा चीसो चिलिमवाला हुक्का बेफ्वाँकमा पड्काउँदै गुसाईं । अनि चारैतिर अरू कोही छैन । एकदम निर्जन, निस्तब्ध, सुनसान । एकाएक गुसाईंको ध्यान भङ्ग भयो ।

सामुन्ने डाँडाको माझमा, गोरेटोमा, टाउकोमा भारी बोकेर एउटी नारी आकृति त्यतैतिर आइरहेकी थिई । गुसाईंले सोच्यो कि त्यहींबाट चिच्याएर उसलाई फिर्ता पठाइदिऊँ । कोसीको चिल्ला, लेउ लागेका ढुंगामाथि कठिनाइसाथ हिँडेर त्यसलाई यहाँसम्म आएर निराश फर्कनका लागि उसले किन बाध्य पारोस् । टाढाबाट कराइकराईकन पिसान स्वीकार गराउने मानिसहरूको बानीले ऊ आजित भइसकेको थियो । यसकारण कराउने मन भएन । त्यो आकृति तबसम्म गोरेटो छाडी नदीको बाटोमा आइसकेकी थिई ।

घट्टको बदलिएको आवाजलाई चिनेर गुसाईं घट्टको भित्र गयो । सोलीमा राखिएको अन्न सिद्धिएको थियो । सोलीमा एउटा कम अन्नवाला थैलो खन्याएर उसले अन्नको निकास रोक्नका लागि काठका चिडियाहरूलाई उल्टो गरिदियो । किट्किट्काो स्वर बन्द भयो । उसले छिटो–छिटो पीठोलाई थैलोमा झर्न थाल्यो । घट्टको भित्र मथानीको छिच्छर–छिच्छरको आवाज पनि अल कम भएको थियो । केवल जाँताको माथिल्लो पाट घसारिने घरघराहटको हल्का, कम आवाजवाला संगीत चलिरहेको थियो । त्यत्तिकैमा गुसाईंले सुन्यो आफ्नो पिठ्यूँपछाडि घट्टको ढोकामा, यो संगीतभन्दा पनि मधुर स्वर ।

“कहिले पानी आउला ज्यू ? रातको रोटीका लागि घरमा पीठो छैन ।”

टाउकोमा पिसान बोकेकी एउटी आइमाईले ऊसँग सोधिरहेकी थिई, गुसाईंलाई त्यो स्वर चिनेजस्तो लाग्यो । चौंकेर उसले पछाडि फर्केर हेर्‍यो । कपडामा पिसान खुकुलोगरी बाँधिएकोले भारीको एक भाग उसको अनुहारतिर लत्रिएको थियो । गुसाईंले त्यसलाई राम्ररी हेर्न पाएन । तर, त्यसो हुँदा पनि उसको मन आशंकितजस्तो भयो । आफ्नो शंका समाधानका लागि ऊ बाहिर जानका लागि फर्कियो । तर, फेरि भित्र गएर पिसानका थैलाहरूलाई व्यवस्थित गर्न थाल्यो । काठका चिडिया कट्कट् गर्दै थिए र त्यसै गतिका साथ गुसाईंलाई आफ्नो हृदयको स्पन्दनका आभास हुँदै थियो ।

घट्टको सानो कोठामा चारैतिर पिसिएको अन्नको चूर्ण फैलिएको थियो जो अहिलेसम्म गुसाईंको पूरै शरीरमा छाएको थियो । यस्तो कृत्रिमा सफेदीको कारण ऊ बूढोजस्तो देखिन्थ्यो । आइमाईले उसलाई चिनिन ।

उसले अर्कोपटक पनि उही शब्द दोहोर्‍याई । ऊ अझै पनि चर्को घाममा बोझ टाउकोमा राखेर गुसाईंको जवाफ सुन्न आतुर थिई । शायद, नकारात्मक जवाफ पाएपछि ऊ फर्केर कुनै अन्य घट्टतिर लाग्थी ।

दोस्रोपटकको प्रश्नलाई गुसाईंले टार्न सकेन । जवाफ दिनैपर्‍यो– “यहाँ पहिलेदेखि नै रास थुप्रिएको छ, बेर त हुने नै छ ।” उसले दबेको स्वरमा भन्यो ।

आइमाईले कुनै प्रकारको अनुनय विनय गरिनँ । साँझका लागि पीठोको जोहो गर्न ऊ अर्कै घट्टको सहारा लिनका लागि फर्किई ।

गुसाईं निहुरेर घट्टबाहिर निस्कियो । फर्किने बेलामा आइमाईको एक झलक देखेर उसको सन्देह विश्वासमा परिणत भएको थियो । हताशझैं त्यो केही क्षण उसलाई गइरहेकी हेरिरह्यो र फेरि आफ्ना हात र शिरमा लागेको पीठोलाई छारेर एक–दुई पाइला अघि बढ्यो । ऊभित्रको कुनै अज्ञात शक्तिले फर्केर गइरहेकी त्यो महिलालाई बोलाउन बाध्य पारिदियो । आवाज लगाएर उसलाई बोलाउनका लागि मुख खोल्यो तर, बक्कै फुटेन । एक किसिमको झिझक र असमर्थता थियो, जसले उसको मुख थुनिराखेको थियो । त्यो आइमाई नदीसम्म पुगिसकेकी थिई । गुसाईंको अन्तरमा तीव्र उथलपुथल मच्चियो । यसपटक आवेग यति तीव्र थियो कि त्यसले आपूmलाई रोक्न सकेन । लडखडाउँदो आवाजमा त्यसले पुकार्‍यो– “लछमा !”

अत्यासका कारण त्यसले पूरा जोरका साथ बोलाउन सकेको थिएन । आइमाईले त्यो आवाज सुनिन । यसपटक गुसाईंले स्वस्थ भएर फेरि पुकार्‍यो– “लछमा !”

लछमाले पछि फर्केर हेरी । माइतमा उसलाई सबै यसै नामले पुकार्दथे । यो सम्बोधन त्यसका लागि स्वभाविक थियो । तर, त्यसलाई शंका, शायद, यो थियो कि घट्टवालले एकपटक पिसान स्वीकार नगरेर पनि फेरि उसलाई बोलाउँदै छ वा उसलाई भ्रम मात्र भएको हो । उसले त्यहीँबाट सोधी–

“मलाई बोलाउँदै हुनुहुन्छ ज्यू ?”

गुसाईंले संयत स्वरमा भन्यो– “हुन्छ, ल्या ! भइजाला ।”

लछमा छिनभरि रोकिई र फेरि घट्टतिर फर्किई ।

अचानक साक्षात्कार हुने मौका नदिने इच्छाले गुसाईं व्यस्तता–प्रदर्शन गर्दै देवदारको छायामा गयो ।

लछमाले पिसानको थैलो घट्टभित्र राखिदिई । बाहिर निस्केर उसले आँचलको छेउले मुख पुछी । तेज धूपमा हिँड्नाले उसको मुख रातो भएको थियो । कुनै वृक्षको छायामा विश्राम गर्ने इच्छाले उसले यताउति हेरी । देवदारको छायामा, घट्टतिर पिठ्यूँ फर्काएर गुसाईं बसेको थियो । नजिकमा दाडिमको रुखको छाया बाहेक अन्यत्र बस्नेलायक ठाउँ थिएन । ऊ त्यतैतिर जान थाली ।

गुसाईंको उदारताका कारण ऋणीजस्ती भएर नै उसले नजिक आउँदै भनी– “तिम्रा लालाबाला बाँचिरहुन्, घट्टवालज्यू । तिमीले ठूलो उपकार गर्‍यौ । माथिको घट्टमा पनि कति बेरमा पालो आउँथ्यो कुन्नि !”

अजन्मा सन्ततिप्रति दिइएका आशीवर्चनलाई मनैमन विनोदका रुपमा ग्रहण गर्‍यो । यसकारण उसको मानसिक उथलपुथल अलि कम भयो । लछमाले ऊतिर हेर्नुभन्दा पहिले नै उसले भन्यो– “बाँचीरहून् तेरा लालाबाला लछमा, माइत कहिले आइस्् ?”

गुसाईंले मनभित्रको उठिरहेको बवण्डरलाई रोकेर यो प्रश्न यति संयत स्वरमा गर्‍यो मानौं ऊ पनि अन्य दसजनाजस्तै लछमाका लागि एउटा साधारण व्यक्ति होस् ।

दाडिमको छायामा पात–पतिंगर पन्छाएर बस्दै लछमाले सशंक भई गुसाईंतिर हेरी । कोसीको सुकेको धारा अचानक जल–प्लवित भएर बग्न थाल्दा पनि लछमालाई यति आश्चर्य हुने थिएन जति आफू बसेको ठाउँबाट मात्र चार पाइला टाढा गुसाईंलाई यस रूपमा देखेर भयो । त्यो विस्मयका कारण विस्फारित भएका आँखाले उसलाई हेरिरहेकी थिई मानौं उसलाई अझै पनि विश्वास भइरहेको थिएन कि जो व्यक्ति उसको सामु बसेको छ, त्यो उसको पूर्व–परिचित गुसाईं नै हो ।

“तिमी ?”

लछमा के भन्न चाहन्थी कुन्नि ! शेष शब्द उसको कण्ठमा नै अड्किए ।

“हो, पोहोर साल पल्टनबाट फर्किएको थिएँ । समय बिताउनका लागि यो घट्ट बनाउन लगाएको हुँ ।”

गुसाईंले नै सोध्यो– “बालबच्चा सञ्चै छन् ?”

आँखा भुईंमा टेकाएर, गर्धन हल्लाएर संकेतले नै उसले बच्चाहरूको कुशलताको संकेत दिई । भुँईमा खसेको दाडिमको एउटा फूललाई हातमा लिएर लछमाले त्यसका पत्रलाई एक–एक गरी निरुद्देश्य चुँडाल्न थाली । अनि गुसाईंचाहिँ पातलो सिन्काले आगोलाई खोतलिरह्यो ।

कुराकानीको सिलसिला कायम राख्नका लागि गुसाईंले सोध्यो– “तँ अझै कति दिन माइतमा बस्लिस् ?”

अब लछमालाई आफूलाई रोक्न असम्भव भयो । उसले मुण्टो निहुराएर आँसु खसाल्न शुरु गरी टप्–टप्–टप् । सिसकीका साथ–साथ उसका तल–माथि भइरहेका काँधलाई गुसाईंले हेरिरह्यो । ऊ यो निश्चय गर्न सकिरहेकी थिएन कि उसले कस्तो शब्दद्वारा सहानुभूति प्रकट गरोस् ।

यतिका बेरपछि गुसाईंको ध्यान लछमाको शरीरतिर गयो । उसको गलामा ‘चरेउ’ (सुहागको चिह्न) थिएन । हतप्रभझैं गुसाईंले उसलाई हेरिरह्यो । आफ्नो व्यावहारिक ज्ञानउपर उसलाई बेहद झुंझलाहट हुँदै थियो ।

आज अचानक लछमासँग भेट भएपछि उसले ती सब कुरा बिर्सियो, जे ऊ भन्न चाहन्थ्यो । यस्ता क्षणमा ऊ मात्र श्रोता भएर बस्न चाहन्थ्यो । गुसाईंको सहानुभूतिपूर्ण दृष्टि पाएपछि लछमाले आँसु पुछ्दै व्यथा कथा कहन थाली–

“जसको भगवान् हुँदैन, त्यसको कोही हुँदैन । जेठ–जेठानीबाट कसैगरी छुटकारा पाएर, आमा बिरामी हुँदा यहाँ आएकी थिएँ । त्यो पनि मलाई छाडेर गई । एउटा अभागी छ रुनका लागि । त्यसैका लागि बाँच्नु परेको छ, नत्र, पेटमा ढुंगा बाँधेर कतै डुबी मर्थेँ, जंजालै काटिन्थ्यो ।”

“यहाँ काका–काकीसँग बसेकी छौ ?”, गुसाईंले सोध्यो ।

“अप्ठ्यारो परेको बेलामा कोही कसैको हुँदैन ज्यू । बाबाको जायजेथाउपर तिनका आँखा गडेका छन् । तिनी सोच्छन् कि कतै मैले हक नजमाऊँ । मैले सफासँग भनिदिएँ कि मलाई कसैसँग केही लिनुदिनु छैन । जंगलको लीसा (लीसा– सल्लाको खोट) बोकी–बोकी आफ्नो गुजारा गर्नेछु, कसैको आँखाको कसिंगर बनेर बस्ने छैन ।”

गुसाईंले कुनै प्रकारको मौखिक संवेदना प्रकट गरेन । सहानुभूतिपूर्ण दृष्टिले उसलाई हेरी मात्र रह्यो । दाडिमको वृक्षमा पिठ्यूँ टेकाएर लछमा पलेटी कसेर बसेकी थिई । गुसाईंले सोच्न थाल्यो कि पन्ध्र–सोह्र वर्ष कसैको जीवनमा अन्तर ल्याउन कम हुँदैनन् । समयको यो अन्तराल लछमाको अनुहारमा पनि एउटा छाप छोडेर गएको थियो । तर, उसलाई लाग्यो कि त्यस छापमुनि त्यो आज पनि पन्ध्र वर्ष पहिलेकी लछमालाई देखिरहेको छ ।

“कति तेज धूप छ असौं ।”

लछमाको स्वर त्यसका कानमा पुग्यो । प्रसंग बदल्नका लागि नै मानौं लछमाले जानाजान भनेकी होस् ।

अनि एक्कासि त्यसको ध्यान लछमातिर गयो जहाँ ऊ बसेकी थिई । दाडिमका फैलिएका, आधा ढाकिएका शाखाहरूबाट छिरेर धूप उसको शरीरमा लागिरहेको थियो । सूर्यको एउटा पातलो किरणले, कहिलेदेखि हो कुन्नि, लछमाको माथामा लगिएको एउटा लटलाई सुनौलो रंगीनीमा डुबाइरहेको थियो । गुसाईंले अपलक त्यसलाई हेरिरह्यो ।

“आधा दिन त बितिसक्यो होला ।” लछमाले प्रश्न गरेपछि गुसाईंको ध्यान भंग भयो– “हे, अब त दुई बज्न लाग्योहोला । त्यता गर्मी हुँदै छ भने यता आइज छायामा ।”

त्यति भनेर गुसाईं एक लामो हाइ काढेर आफ्नो स्थानबाट उठ्यो ।

“होइन, यतै ठीक छ” भनेर लछमाले गुसाईंतिर हेरी । तर, गुसाईंले त आफ्नो कुरा भनेर अर्कोतिर हेर्न थालेको थियो ।

घट्टमा केही समय पहिले हालिएको पिसान समाप्तिमा थियो । पालोमा राखिएका पिसानको साटो, उसले गएर छिटोछिटो लछमाको अनाज सेग्लीमा खन्याइदियो ।

सुस्त–सुस्त हिँड्दै गुसाईं कुलोको किनारसम्म गयो । आफ्नो अञ्जुलीमा भरेर त्यसले पानी खायो । त्यसपछि एउटा काम नलाग्ने घट्टभित्र गएर सिल्टीका भाँडाहरू ल्याएर अंगेनानेर फर्की आयो ।

आसपासका सुख्खा दाउराहरू बटुलेर उसले आगो सल्कायो र एउटा कालो कसौंडीमा पानी राखेर जाँदाजाँदै लछमातिर हेर्दै भन्यो– “चिया खाने बेला हुन थाल्यो । पानी उम्लिएपछि चियापत्ती हालिदिनू । पुडियामा छ ।”

लछमाले जवाफ दिइन । ऊ उसलाई नदीतिर जाने गोरेटोमा गइरहेको हेरिरही ।

सडक–किनारको दोकानबाट दूध लिएर फर्किनमा गुसाईलाई निकै समय लागेको थियो । फर्केर आउँदा उसले देख्यो, छ–सात वर्षको एउटा बच्चा लछमाको शरीरसँग टाँसिएर बसेको छ ।

मानौं बच्चाको परिचय दिने इच्छाले लछमाले भनी– “यो केटालाई घडीभरका लागि पनि चैन छैन । कुन्नि कसरी, सोधखोज गर्दै मेरो ज्यान खानका लागि यहाँ पनि आइपुग्यो ।”

गुसाईंले लक्ष्य गर्‍यो कि बच्चाले, त्यसको दृष्टि बचाएर, आमासँग कुनै वस्तुका लागि ढिपी गरिरहेको छ । एकपटक झोंक्किएर लछमाले त्यसलाई हप्काइदिई– “चुप लाग ! अब फर्केर घर जाने हो । त्यतिञ्जेल किन मर्नै लागेको ?”

चियाको पानीमा दूध हालेर गुसाईं फेरि उही काम नलाग्ने घट्टमा आयो । एउटा थालमा पीठो राखेर त्यो कुलोको किनारमा बसी–बसी त्यसलाई गुँथ्न थाल्यो । देवदारतिर आउने बेलामा त्यसले एक–दुई भाँडा अरू ल्यायो ।

लछमाले कसौंडीमा दूध–चिनी राखेर चिया तयार पारिदिएकी थिई । एउटा गिलास, एउटा इनामेलको मग (फौजी मग इनामेल) र एक सिल्टीको मेस टिन (फौजी मेस टिन)मा गुसाईंले चिया राखेर आपसमा बाँड्यो र ढुंंगाले बनेको बेढंगको चुलोनेर बसेर रोटी पकाउने उपक्रम गर्न थाल्यो ।

हातमा रहेको चियाको गिलास भुइँमा राखेर लछमा उठी । पीठोको थाल आफूतिर तानेर उसले स्वंय रोटी पकाइदिने इच्छा यस्तो स्वरमा प्रकट गरी कि गुसाईंले ‘नाइँ’ भन्न सकेन । उसले उभिई–उभिई लछमाले रोटी पकाएको हेरिरह्यो । गोल–गोल डब्बाजस्ता रोटी चुलोमा पाक्न थाले । वर्षौंपछि गुसाईंले यस्ता रोटी देखेको थियो, जो अनिश्चित आकारका फौजी लंगर (पाकशाला) का चपाटीहरू वा स्वंय उसले बनाएका बेडौल रोटीहरूभन्दा नितान्त भिन्न थिए । आटाको लोड् बनाउँदा लछमाका साना–साना हात निकै फुर्तीका साथ घुमिरहेका थिए । नारीमा लगाइएका चाँदीका बाला जब कहिलेकाहीँ परस्पर ठोकिन्थे तब ‘खन–खन’को अत्यन्त मधुर स्वर निस्कन्थ्यो । जाँताको पाटसँग ठक्कर खाने काठको चिडियाका स्वर कति नीरस हुन सक्छन् त्यो आज पहिलोपटक अनुभव गर्‍यो ।

कुनै कार्यवश ऊ काम नलाग्ने घट्टतिर गयो र निकै बेरसम्म रित्ता भाँडा–डब्बाहरूलाई यताउति गरिरह्यो ।

ऊ फर्केर आउँदा लछमाले रोटी पकाइसकेर भाँडाहरू समेटिसकेकी थिई र अब हातमा लागेको पीठो धुँदै थिई ।

गुसाईंले बच्चातिर हेर्‍यो । त्यो दुवै हातले चियाको मग समातेर लगातार गुसाईंलाई हेरिरहेको थियो । लछमाले आग्रहपूर्वक स्वरमा भनी–

“चियासँग खाने भए खाइहाल । पछि चीसो हुनेछ ।”

“म त आफ्नो समयमा नै खाउँला । यो त बच्चाका लागि…।” स्पष्ट भन्न ऊ हिचकिचाइरहेको थियो मानौं बच्चाबारे चिन्तित हुने त्यसको चेष्टा अनधिकार होस् ।

“होइन–होइन ज्यू ! यो त अहिले घरबाट खाएरै आएको हो । मैले रोटी पकाएर राखिदिएकी थिएँ ।” अत्यन्त संकोचपूर्वक लछमाले आपत्ति प्रकट गरी ।

“अँऽऽ त्यसै भन्दै छ । कहाँ राखिएका थिए रोटी घरमा ?” बच्चाले रुञ्चे स्वरमा वास्तविकता बतायो । रोटीहरू देखेर उसको संयम खस्केको थियो ।

“चुप !”

आँखा तरेर लछमाले उसलाई हप्काइदिई । बच्चाको यस्तो भनाइले उसको स्थिति हास्यास्पद भएको थियो । यसकारण लज्जावश त्यसको आनन आरक्त भएको थियो ।

“बच्चा हो, भोक लाग्यो होला । हप्काएर के फाइदा !”

गुसाईंले बच्चाको पक्ष लिएर दुई रोटी त्योतिर सारिदियो । तर, आमाको अनुमतिबेगर रोटी स्वीकार गर्ने साहस बच्चामा जुटिरहेको थिएन । उसले लोलुप दृष्टिले कहिले रोटीतिर त कहिले आमातिर हेरिरहेको थियो ।

गुसाईंले बारम्बार अनुरोध गर्दा पनि बच्चा रोटी लिनमा संकोच गर्दै थियो, तब लछमा बम्किई– “मर ! अब किन लिँदैनस् ? जता जाला त्यसै आफ्नो लच्छन देखाउला ।”

बच्चाले रुन शुरु गर्नुभन्दा पहिले गुसाईंले रोटीमाथि भेलीको टुक्रा राखेर बच्चाका हातमा दियो । अश्रुपूरित आँखाले यस अनौठो मित्रलाई देखेर बच्चाले चुपचाप रोटी खान थाल्यो । र, गुसाईंले कौतुकपूर्ण दृष्टिले त्यसको हल्लिंदै गरेका ओठलाई हेरिरह्यो ।

यस्तो सानो प्रसंगका कारण वातावरणमा तनावजस्तो व्याप्त भयो जसलाई गुसाईं र लछमा दुवैले अनुभव गरिरहेका थिए ।

स्वंय पनि एउटा रोटीलाई चियामा डुबाएर खाँदाखाँदै गुसाईंले मानौं यो तनावलाई कम गर्ने प्रयासमा नै मुस्कुराएर भन्यो– “मानिसहरू ठीक भन्छन्, आइमाईका हातले पकाएका रोटीको स्वाद नै बेग्लै हुन्छ ।”

लछमाले करुण दृष्टिले त्योतिर हेरी । गुसाईं भने – ‘हो–हो’ गर्दै खोक्रो हाँसो हाँस्दै थियो ।

“अलिकति तिउन भइदिएको भए बिचराले एक–आध रोटी अरू खान्थ्यो होला ।” गुसाईंले बच्चातिर हेर्दै आफ्नो विवशता प्रकट गर्‍यो ।

“यस्तै खानपानवालाको भाग्यका साथ जन्मिएको भए मेरो भागमा किन पर्थ्याे ? दुई दिनदेखि घरमा नून–तेल छैन । आज अलिकति पैसा पाएकी छु, आज केही सौदा लैजानेछ ।”

हातले आफ्नो गोजी छाम्दै गुसाईंले संकोचपूर्ण स्वरमा भन्यो– “लछमा !”

लछमाले जिज्ञासावश ऊतिर हेरी । गुसाईंले खल्तीबाट एउटा नोट झिक्दै त्योतिर बढाउँदै भन्यो– “लौ, काम चलाउनका लागि राख । मसँग अझै अरू पनि छन् । अस्ति दफ्तरबाट मनी ओर्डर आएको थियो ।”

“अहँ, हुँदैन । काम त चलिरहेकै छ । मेरो भनाइको यस्तो अर्थ थिएन । कुरामा कुरा चल्दा पो मैले त्यसो भनेकी थिएँ ।” भनेर लछमाले सहायता लिन इन्कार गरिदिई ।

गुसाईंलाई लछमाको यो व्यवहार राम्रो लागेन । उसले खस्रो स्वरमा भन्यो– “दुःख–तकलीफको बेलामा नै मान्छे, मान्छेको काम लागने भने बेकार छ । स्साला ! कति कमाएँ, कति गुमाएँ मैले यो जिन्दगीमा । छ कुनै हिसाब ? तर, के फाइदा ? कसैलाई काम लागेन भने माटो हो, एकदम माटो ।”

तर, गुसाईंंको यस्तो सुनेर पनि लछमा अडिग रही । छोराको शीर मुसार्दै उसले दार्शनिक गम्भीरताका साथ भनी–

“गंगानाथ दाहिने रहे भने राम्रा–नराम्रा दिन कटिहाल्छन् ज्यू ! पेटको के कुरा ! घट्टको सोलीमा जति हाले पनि कम हुन्छ । आफन्त–परायी प्रेमपूर्वक हाँसी बोलिदिऊन् त्यहीँ काफी छ दिन काट्नका लागि ।”

गुसाईंले गौर गरेर लछमातिर हेर्‍यो । वर्षौंपहिले उठेको ज्वार र तूफानको त्यहाँ नामोनिशान थिएन । ती सब सागरका सीमामा बाँधिएर शान्त भइसकेका थिए ।

रुपैयाँ लिनका लागि लछमासँग धेरै आग्रह गर्ने साहस उसले जुटाउन सकेन । तर, गहिरो असन्तोषका कारण नुर खसेजस्तो गरी, सुस्त–सुस्त त्यहाँबाट हटिगयो । सहसा त्यसको गति तेज भयो र घट्टभित्र गएर उसले सशंक भई बाहिरतिर हेर्‍यो । लछमा त्यतातिर पिठ्यूँ फर्काएर बसेकी थिई । उसले छिटो–छिटो आफ्नो कमाइको निजी पीठोको बोराबाट दुई–अडाई सेर जति पीठो झिकेर लछमाको पीठोमा मिसाइदियो र सन्तोषको सास फेर्दै हात झार्दै बाहिर आएर बाँधतिर हेर्न थाल्यो । माथि बाँधमा कसैलाई हिँडिरहेको देखेर त्यसले हाँक दियो । शायद, खेतको सिचाइका लागि त्यो पानी लैजान चाहन्थ्यो ।

बाँधतिर जानुभन्दा पहिले त्यो एकपटक लछमानेर गयो । पिसान सिद्धिएको सूचना दिएर फर्कने बेलामा त्यो फेरि टक्क अडियो । मनका कुरा भन्न त्यो हिचकिचाइरहेको थियो । अड्की–अड्कीकन त्यसले भन्यो– “लछमा !”

लछमाले मुण्टो उठाएर ऊतिर हेरी । गुसाईलाई चुपचाप आफूतिर हेरिरहेको देखेर उसलाई संकोच हुन थाल्यो । त्यो कुन्नि के भन्न चाहन्थ्यो, यस कुराको आशंकाले उसको अनुहारका रङ फिक्का हुन थाल्यो । तर, गुसाईंले झिझकसाथ यति मात्र भन्यो–

“कहिले दुई–चार पैसा जुटे भने गंगानाथको पूजा गरेर आफूले गरेको भूलचूकका लागि माफी माग्नू । पूत–परिवारवालालाई देवी–देवताको प्रकोपबाट बचेर रहनुपर्छ ।”

लछमाका कुरा सुन्नका लागि ऊ त्यहाँ रोकिएन ।

पानी भाँचेर लैजाने किसानसँग कुरा मिलाएर केही बेरपछि फर्कंदा त्यसले देख्यो, सामुन्ने पहाडको गोरेटोमा टाउकोमा आटा बोकेर लछमा आफ्नो छोराका साथ सुस्त–सुस्त गइरहेकी थिई । उसले तिनीहरूलाई पहाडको घुम्तीसम्म पुग्दा पनि अपलक हेरिरहेको थियो ।

घट्टभित्र काठको चिडियाले अझै पनि ‘किट–किट’को आवाज निकालिरहेको थियो । जाँतोको पाट ‘खिस्सर–खिस्सर’ गरी घुम्दै थियो र मधानीले पानी काटेको आवाज आइरहेको थियो । अन्यत्र कतै, कुनै स्वर थिएन । सब सुनसान, निस्तब्ध ।