मलाई लाग्छ दोभानको सबैभन्दा पुराना साहित्यकार उनै हुन् ।मलाई लाग्छ उनी दोभानका लागि आदिकवि नै हुन् ।

दल बहादुर गुरूङ

पाल्पाको साविक दोभान गाविसमा पर्ने मरेक अहिले तिनाउ गाउँपालिकाको वडा नं.३ मा पर्छ । यही ठाउँमा २०१४ सालमा स्थापित सरस्वती आधारभूत विद्यालय रहेको छ । यस क्षेत्रको शैक्षिक उन्नयनका निम्ति यस विद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ ।

मरेक पुरानो समयको अति नै चर्चित र प्रख्याती ठाउँ हो । नुवाकोटको बाटो हुँदै जारकाटे (अहिलेको गणेशटोल) अनि शताब्दी पुरानो पुल तरेर लामाचौपारी, बोटेगाउँ, सालबास पुगिन्थ्यो । त्यहाँबाट थोरै उकालो लागेपछि पाइलापानी हुँदै रानीबास पुगिन्थ्यो र रानीबास त्यतिबेला होटल व्यवसाय सञ्चालन भएको अति नै व्यस्त ठाउँ थियो । नून बोक्नेदेखि सुन बोक्नेहरू सबै यही बाटो हुँदै मस्यामको हटिया पुग्थे । हटिया नेवार बस्ती र व्यापारिक मुकाम थियो । प्युठान, गुल्मी, अर्घाखाँची घर भएकाहरू उत्तरपश्चिम हान्निन्थे भने उत्तरपूर्वतिर सुइँकिनेहरू बाग्लुङ्ग, पर्वत, कास्की, स्याङ्जा पुग्ने गर्थे । यहीबाट बाटो फाटिन्थ्यो । 

त्यी रानीबासमाथि उक्लिएपछि मरेक आइपुगिन्थ्यो । मरेकमा ससाना छाप्राहरू र चिटिक्क परेको सानो बजार थियो भन्छन् पाका पुरानाहरूले । मरेक मूलबाटो नै थियो । देशका होनाहार व्यक्तित्वहरू यही बाटो भएर आउने जाने गर्थे भन्ने कुरा त कविवर अजम्वरध्वज खातीका कितावहरूमा पढ्न पाइन्छन् । थुप्रैपटक उनले भनेको सुनेको पनि छु । उनकै सहायतामा मैले दोभानका ताराप्रसाद श्रेष्ठलाई चिनेको हुँ । ताराप्रसाद श्रेष्ठको उच्च ज्वरो र खोकीको कारण देहान्त भएको छ । उनमा कुनै किसिमका दीर्घ एवम जीर्ण रोगहरू थिएनन् । 

उनी सम्वत् २००० सालको असार १५ गते  मरेक भन्ने ठाउँमा जन्मिएका हुन् । उनीहरूको परिवारले सोही ठाउँमा खेतीकिसानी गरेर जीवन निर्वाह गर्दथे । धेरैले उनीहरूलाई चित्रमानका सन्तान भनेर चिन्दछन् । ताराप्रसाद  चित्रमानका जेठा छोरा थिए । उनका भाइ टेकबहादुर श्रेष्ठको पनि गतसाल निधन भइसकेको छ । ताराप्रसादका नारायण र हरि नाम गरेका दुई छोरा र सरस्वती नामकी एउटी छोरी छन् । ताराप्रसाद आफ्नी छोरीसँगै भूताहामा बस्दै आएका थिए ।

होचा कदका ताराप्रसाद साहित्यिक क्षेत्रमा अग्ला छन् । उनी लोक साहित्यमा अति नै चाख दिने गर्थे । कविता लेख्ने, किताव छाप्ने रहर थियो उनको । ताराप्रसादले ‘झरनाको पानी’ नामक रोइला संग्रह प्रकाशन गरेका छन् । तीजका गीतहरू संग्रहका रुपमा ल्याएका थिए भने राजनीति सम्बन्धी पुस्तक समेत लेखेका थिए । राजनीतिमा उनको उल्लेखनीय रूचि थियो । वामपन्थी विचार बोकेका उनी खरा थिए । उनकी जीवनसंगीनी गएको वर्ष कोरोनाकालमा बितेकी थिइन् ।

ताराप्रसाद श्रेष्ठ

मरेकमा बस्न छाडेपछि उनीहरूको परिवार बुटवलको चिडिया खोलातिर सरेको उनका भतिजा पर्ने लक्ष्मण श्रेष्ठले बताउँदै थिए । त्यहाँ उनीहरूले दुकान गर्थे । २०३४ सालतिर उनको परिवार बर्दघाट नगरपालिका वडा नं. ९ को भूताहामा बसाइँ सरेको उनकी छोरी सरस्वतीले बताउँदै थिइन् ।

साहित्यमा उनको लगाव सानैदेखि थियो भन्ने कुरा उनीसँगको भेटमा थाहा पाएको थिएँ ।  उनले घरिघरि फोन गरेर मलाई कविता, गीत सुनाइ रहन्थे । सम्झना आउँदा मैले पनि फोन गर्थे । पहिलो चरणको कोरोना कहरपछि भने उनीसँग भेट हुन पाएको थिएन । उनलाई भेट्ने चर्को रहर थियो । उनकी छोरी सरस्वती र म एउटै विद्यालय मै पढेका विद्यार्थी हौं । उनी मभन्दा सिनियर विद्यार्थी हुन् । अहिले उनी बर्दघाट नगरपालिका वडा नं. १० मा पर्ने ज्ञानज्योति माविमा प्रधानाध्यापक छिन् । उनले सात कक्षा पढ्दा मैले दोभान माविमा कक्षा चार पढ्दै थिएँ ।

आधा दर्जन बढी पुस्तक प्रकाशित छन् ताराप्रसादका । पछिल्लो समय उनले आफ्नै जन्मभूमि अर्थात् जन्मथलो मरेकलाई समेत समेटेर दोभानको सेरोफेरो नामक पुस्तक प्रकाशनका लागि दोभानमा गएर आवश्यक सूचना,फोटोहरू संकलन गरेर फर्केका पनि महिना दिन नकटेको उनकी छोरी सरस्वतीले सुनाउँदै थिइन् । मलाई लाग्छ दोभानको सबैभन्दा पुराना साहित्यकार उनै हुन् । उनको रुची साहित्यमा नै रहेको र लोकलयमा कविता लेख्ने बानीले धेरैलाई मोहित बनाउने गथ्र्यो । त्यसैले मलाई लाग्छ उनी दोभानका लागि आदिकवि नै हुन् ।