परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आइसीयुसहितको कोभिड अस्पताल सञ्चालन गर्ने तयारीमा जुटेको छ । उक्त कोभिड अस्पताल निर्माणका लागि सर्वाेत्तम सिमेन्ट लिमिटेडले ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
विश्वभरिमै फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९को संक्रमण जिल्लामा पनि तीब्र रूपमा फैलिंदै गएको छ । जसको संक्रमणबाट संक्रमित बिरामीहरू अहिले अक्सिजनसहितको बेड नपाएर ज्यान गुमाउने पर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै सुनवल नगरपालिकाले आफैं आइसीयुसहितको कोभिड अस्पताल संचालनको तयारीमा जुटेको हो । देशभरी नै अक्सिजन र बेडको अभाव छ जसका कारण कोभिड–१९ का बिरामीहरू उपचार नपाएर मरिरहेका छन् यस्तो अवस्थामा आप्mनो नगरबासीहरूलाई बचाउन नगर आप्mनो पालिकामा १० बेडको आइसीयुसहित २० बेडको कोभिड अस्पताल सञ्चालनमा लागेको सुनवल नगरपालिकाका नगरप्रमुख भिमबहादुर थापाक्षेत्रीले जानकारी दिए । नगरपालिका १ स्थित आइसोलेसन भवनमा उक्त कोभिड अस्पताल सञ्चालनको तयारी तीब्र रूपमा भैरहेको छ । नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य चौकीका प्राविधिकहरूको सहयोगमा बेड र स्वास्थ्य उपकरणलगायतका सरसामानहरूको सेटिङ्ग भैरहेको र उक्त अस्पताल दक्ष चिकित्सकको प्रत्यक्ष निगरानीमा सञ्चालन गरिने नगरप्रमुख थापाले बताए ।
नगरप्रमुख थापाले अस्पतालहरूमा बेड र अक्सिजन अभाव देखेर आप्mनो नगरबासीहरूलाई उपचार सेवा प्रदान गर्न सुनवलमा रहेको सर्वाेत्तम सिमेन्ट लिमिटेडसंग पहल गरी ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरणसहितको स्वास्थ्य सामग्रीहरू सहयोग प्राप्त भएको उनले बताए । सिमेन्ट लिमिटेडले नगरपालिकालाई आइसीयुसहितको कोभिड अस्पताल सञ्चालनका लागि कम्फर्ट बेड १० सेट, पेसेन्ट मोनिटर ४ सेट, ईसिजी मेसिन १ सेट, सिरिन्ज पम्प ५ सेट, ईन्फ्युजन पम्प ५ थान, सक्सन मेसिन १ थान, बिआइपिएपी अटो विथ ह्युमिडिफायर ३ सेट, सिपिएप अटो ब्लु विथ हिटेड ह्यमिडिफायर २ सेट, अक्सिजन फ्लोमिटर १० थान, क्राश क्राफ्ट ट्रली १ थान, डिफिब्रिल्लेटर १ थान गरी ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण र सामग्रीहरू नगरप्रमुख र उप–प्रमुखलाई हस्तान्तरण गरेको छ ।
उक्त उपकरण र थप नगरपालिकाको सहयोगले १० बेडको मिनि आइसीयु र २० बेड अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालन हुने नगरपालिकाले जनाएको छ । यसभन्दा अगावै नगरपालिकाले अक्सिजनसहितको २० बेड आइसोलेसन सेन्टर सञ्चालन गर्दै आएको थियो । नगरपालिकामा आइसीयुसहित उक्त कोभिड अस्पताल सञ्चालनका लागि सिमेन्ट लिमिटेडले आइतबार उक्त स्वास्थ्य उपकरणहरू नगरपालिकालाई हस्तान्तरण गरेको छ । नगरपालिकाले उक्त स्वास्थ्य उपकरणहरू पाएपछि कोभिड अस्पताल निर्माणमा लागि परेको र २÷३ दिनभित्रै संचालनमा ल्याउने नगर प्रमुख थापाले भनाइ छ ।
नगरप्रमुख थापाका अनुसार उक्त कोभिड अस्पतालमा स्वास्थ्य उपकरण सिमेन्टले दिए पनि प्राविधिक र जनशक्तिलगायतका सम्पूर्ण सञ्चालन खर्च सहयोग नगरपालिकाको रहने नगरपालिकाले जनाएको छ । यो अस्पताल संचालनमा नगर उप–प्रमुख दधिराम अर्याललगायत वडा अध्यक्षहरू र कर्मचारीहरू समेत लागिपरेका छन् । यस्तो माहामारीको बेला आइसीयुसहितको कोभिड अस्पताल सञ्चालन गर्ने सुनवल जिल्लामै पहिलो नगरपालिका हो ।