किताब
डा. के.आर. दाहाल

लेख्दा–लेख्दै जीवनको उत्तरार्धमा पुगेका राजन कार्कीको ‘आमा’ पुस्तक दुई महिना अघि बजारमा आएको छ । पत्रकारिता पेशामा लामो जीवनयापन गरेका राजन कार्की माटोको मायामा समर्पित लेख, रचना तथा कीर्ति तयार गर्न र तीनै कीर्तिद्वारा आमजनतालाई चेतनाअभिवृद्धि गर्ने जमर्कोमा लागेका सष्ट्राको नाम हो । लेख्दा–लेख्दै लेखक कार्कीका हातका औंला खिई सके । हजारौं हजार पेज नष्ट भैसके तर बुझ्नेले कतिबुझे र त्यसको कति अनुशरण गरे त्यो भने छुट्टै पाटो हो । तर नेपाली माटोमा जन्मिएर उनले आफ्नो धर्म भने निर्वाह गरिरहेका छन् ।
‘आमा’ पुस्तक ५ भागमा विभाजन गरेर लेखिएको छ । प्रथम अध्याय‘आमा’शीर्षकमा लेखिएको छ । यस अध्यायमा खासगरी उनी स्वयं,उनका परिवार र आफ्नै आमाले व्यहोर्नु परेका दुःखहरु समेटिएका छन् । उनी सृष्टिको विकासलाई संझदै लेख्छन्, ‘अणु आकारको बीजले आणवीक मान्छे अंकुराउछ । भूदेवी, पानी, अग्नी, वायु र आकाश बन्छ । यही पंच तत्वमा प्रकृति छ, प्रकृतिको अलौकिक शक्ति, सुन्दरता, सिर्जना र समन्वय छ । समष्टि छ ।’लेखक राजन कार्की प्रकृतिका अघात प्रेमी र यथार्थको सच्चा हिमायती लेखकहुन् भन्ने उनका यी पंतिबाट सहजै बुझ्न सकिन्छ ।
पहिलो अध्याय पढ्दा लाग्छ यो हरेक पाठकको आफ्नै पारिवारिक घट्नापो हो की जस्तो । जीवनमा हरेक व्यक्तिले थोर बहुत पारिवारिक दुःख पीडा भोगेकै हुन्छ र उनको यो अध्यायमा हरेक पीडाले पाठकको मन छुन्छ । यो पंक्तिकारले उनको यो अध्याय पढ्दा नेपाली मनको अधिकतम आकर्षण गरेको पायो । कसैकसैलाई त यसले आफ्नै कथा बोलेको होकी जस्तो पनि भान पर्न जान्छ ।
यसै अध्यायमा लेखकले देशको पूरानो रोपवेको कुरा दर्साएका छन् । आजका धेरै यूवाहरुलाई थाहा नभएको रेल र रोपवेको चर्चा गरिएको छ । प्रस्तुत पंक्तिकारलाई पनि रोपवे र काठमाडौंमा बनेको रेल मार्गको विषयमा पत्तो थिएन । कार्कीजीको आमा पढेंपछि त्यसको जानकारी भयो । उनको विकासप्रतिको धारणा पुस्तकमार्फत उजागर भएको पाइन्छ । पुस्तकको भाषा सरल र सटिक देखिन्छ ।
दोश्रो अध्यायमा उनको पत्रकारिताको यात्रा शुरु हुन्छ । यो अध्यायमा पाठकले नेपालमापत्रकारिताको विकासक्रम बुझ्न पाउनेछन् । सँगसँगै पत्रिका प्रकाशन गर्न त्यो बेलाव्यहोर्नु पर्ने सारा दुःखकष्ट यसैमा पोखिएको छ । पंचायतकाल,बहुदल र लोकतन्त्रसम्म आइपुग्दा देशमा के के चमत्कार भए र धर्म संस्कार र संस्कृतिको कसरी विनास भयो, राजनीतिक विसंगति कसरी मौलायो, आदि विषय यसमा समेटिएका छन् । बी.पि. कोइराला, पुष्पलाल, विष्णुबहादुर मानन्धरलगायतका नेताहरु प्रतिकोउनको धारणा यस अध्यायमा समेटिएको छ । त्यस्तै २००७ सालदेखि आजसम्मका राजनीतिक घटनाक्रम पनि यसै अध्यायमा अटाइएको छ । कसरी पंचायत गंम्कियो र कसरी बहुदलवादी चम्किए भन्ने बारेमापनि पुस्तकले बोलेको छ ।
राजा वीरेन्द्रको वंश विनासको घटनाले लेखकलाई नीकै पोलेको छ । त्यसो त यो सामान्य घटना थिएन र यसबाट दुःखी नहुने कुनै नेपाली थिएन होला । लेखकको चासो भने शैनिक प्रशासनतर्फ बढी ढल्किएको देखिन्छ । दरबारको सुरक्षा गर्न बसेको त्यत्रो सुरक्षाफौज के हेरेर बसेको थियो ? घटना घटेको यतिका वर्ष बित्दा पनि किन कोही बोल्दैन ? र सत्य तथ्य बाहिर आउँदैन ?इत्यादी प्रश्नहरुले लेखकको मनमा अझै कौतुलता जन्माएको छ । र, दीपेन्द्रले नै सबैको हत्या गरेका हुन् भन्ने प्रतिवेदन प्रति उनको सहमति नरहेको कुरा छर्लङ्ग हुन्छ ।
यसै अध्यायमा आर.एन.ए.सी. कसरी डुब्न गयो ? धमिजा काण्ड के हो भन्ने सत्य तथ्य पनि प्रकाश पार्न लेखक सफल भएको देखिन्छ । देशमा घटेका विभिन्न घटनालाई प्रकाश पार्ने क्रममा सत्तामोह बढी भएका नेताबाट विकासको आशा गर्नु उनी व्यर्थ ठान्छन् । उनी लेख्छन्, ‘सत्ताकालागि मरिहत्ते गर्नेले देश र जनतलाई हेर्दैनन् । रेलको इन्जिन कोइला र पानीले चल्छ, नेपालको राजनीति विदेशी पैसा र विदेशी इशाराले चल्छ ।’ देशको सिमाना र देशको माटोप्रति चिन्तित लेखकले दोश्रो अध्यायमा पत्रकारिता, नेता, राजनीति, वैदेशिक हस्तक्षेप, भ्रष्टाचार, धर्म संस्कृतिको विलय आदि विषय अटाएका छन् । समग्रमा यो अध्यायमा देशमा व्याप्त कुशासनको व्याख्या पाइन्छ । अध्याय तीन माउनले आफ्नो विदेश यात्राको वर्णन गरेका छन् । अध्यायको शुरुमै देशको अवस्था पहिलो हरफमा झल्काएर उनी लेख्छन्, ‘नेपाल आत्मघाती बारुदमाथि छ । हामीकुनै बेला पडकिन सक्छौं ।’बुझ्नेलाई इशारा काफीभनेझै यही एउटा लाइनले उनको धारणा प्रष्ट बुझ्न सकिन्छ । देशको वर्तमान परिवेश र राजनीतिक स्थिति वास्तवमा यस्तै छ । कार्कीजीले पत्रकाारिताको जीवन यात्रामा भारत, चीन, उत्तर कोरिया, सिङ्गापुर, बेलायत, अमेरिकालगायतका कैयौं राष्ट्रको भ्रमण गरिसकेका छन् । उनले भ्रमण गरेका देशको विकास र सांस्कृतिक धरोहरलाई आफ्नै देशसँगतुलना गर्छन् । तर त्यस्तो पाउँदैनन् । भ्रमणको क्रममा बेलायत र अमेरिका पुग्दा उनले ती देशलाई नेपालै हो किभन्ने ठाने । कारण जता गएपनि नेपाली र जति पनि नेपाली भेटेको उनको लेखाइमा पाइन्छ । देशमा व्यवस्थित विकास हुन नसक्दा विज्ञ तथा यूवाहरुले रोजगार नपाउँदा विदेशिन पुगेका नेपालीको जमातले रमाएरै विदेशमा घरजम गरेको वर्णन उनको लेखाईबाट प्रष्ट हुन्छ । देशको राजनीति नै खराब भएको हुनाले ठूलो जनशक्ति विदेशिन पुगेको उनको गुनासो छ । यसैलाई जोड दिँदै उनी थप्छन्, ‘शासन प्रशासनको मूल नीति भनेको राजनीति हो । मूल खराब भएपछि पवित्र पानी बग्न सक्दैन । खराबी राजनीतिमा छ, अन्त्य गरियो राजतन्त्रको ।’ नेताहरुले भन्ने गर्थे राजतन्त्र सामन्ती शासन व्यवस्थाको परिचय हो । यसलाई निर्मूल गरेपछि यहाँ सबैको जय जय हुन्छ । राजतन्त्र त गयो तर जय जय भने कसैको भएन ।
नेपाली राजनीतिकर्मीहरु यथार्थ भन्दा अवसरमा झुण्डिएको उनले देखे । ‘पुतली सडकमा राष्ट्रवादी मिलन केन्द्र खोलेर राजाको भजन गाएर नथाक्ने अनिल पान्डे आज अमेरिका भरी प्रचण्डको भजन गाएर हरिकिर्तन फैलाई रहेछन् ।’सायद यो भनेको अवसरवादी राजनीति नै हो । अमेरिकामा भएको सडक संजाल सुरक्षा र अवसर देखेर उनीदङ्ग पर्छन् र मनमनै सोच्न पुग्छन्, गरेदेखि नेपाल पनि यस्तै हुँदो हो । देशमा भित्रिएको प्रजातन्त्र अनि लोकतन्त्रले सर्वहाराको भलो गरेन बरु अर्वहाराहरु जन्मायो । उनको कथन छ ।
पुस्तकको चौथो भागमा लेखकले देखे, भोगे र पढेका घटनाहरु समावेश गरिएको छ । यो भागको शुभारम्भमै उनी लेख्छन्, ‘संविधाननामको कागजको खोस्टो छ । खोष्टो आगो ताप्न मात्र काम लाग्छ । संविधानमा रानु भएन चाका हुन्थ्यो, र छ्यान हो, मल मात्र छ ।’ साँच्चै नै जनताले आज जे महशुस गर्दैछन् कार्कीजीले पुस्तकमा प्रष्ट पारेका छन् । पच्नेले पचाउँछन् , नपच्नेले भने हजमोला खोज्लान् । तर सत्य चाँही त्यही नै हो जो उनले उतारेका छन् । यसै अध्यायमा उनले बीपीको विचार पनि उतारेका छन् । बिपीले भनेका थिए, ‘प्रजातान्त्रिक शक्ति र राजाको शाक्तिको बीचमा मेल भईदियो भने यस देशलाई कसैले हल्लाउन सक्दैन ।’ तर यसो हुन सकेन र देश बर्बादीतिर गयो भन्ने लेखकको तर्क रहको छ ।
साँच्चै नेताहरुले आफूले टेकेको धरती नै बिर्से । त्यसैले उनीहरु अमर हुन सकेनन् । कार्कीजी यसलाई प्रष्ट पार्दै थप्छन्, ‘जो जन्मेको माटोमा उभिन्छ, ऊ अमर हुन्छ ।’ यसै अध्यायमा राणा शासनको अन्त्य, ज्ञानेन्द्र शाहको बाल्यकालमा राज्यारोहण र त्रिभुवनको प्रजातान्त्रिक शासन पद्धतिको सुरुवातको वर्णन भएको पाइन्छ । राणाहरुको निरंकुश शासन पद्धति भए पनि तत्कालिन ब्रिटिस शासकलाई रिझाएर देशको सिमानामा जंगे पिलर गाड्न उनीहरु सफल भए । यो हेर्दा कार्कीजीलाई लाग्यो, त्यति बेलाका राणाहरुको भन्दाअहिलेका लोकतान्त्रिक शासकको कद होचो र पुड्को छ ।
राजा महेन्द्र देशकालागि अंकुश थिएनन्, राष्ट्र प्रेमी थिए र देशको विकासको जगउनैले बसालेका हुन् भन्ने उनको धारणा रहेको पाइन्छ । यसै अध्यायमा बिपीको राजा महेन्द्रसंगको सम्बन्ध र २०१७ सालमा जन्मनुको केही अंश पनि उनले उजागर गरेका छन् । त्यो बेलादेखि अहिलेसम्मको शासन सत्तामा धेरै फेरबदल भयो । देशले धेरै नेता जन्मायो तर राजनेता जन्मेनन् । कार्कीजीको विचारमा बीपी र मनमोहन अधिकारी भने राजनेता थिए । यसै अध्यायमा लेखकले नमिता सुनिता काण्ड, कार्पेटकाण्ड, पिस्कर काण्ड, ओखलढुङ्गा काण्ड, जस्ता अनेकौं काण्डहरु (पंचहरुले घटाएका घटना)पनि उजागर गरेका छन् । पुस्तकको पाँचौ अध्यायमा लेखकले ‘सार्वभौमिकता सुरक्षित छ कि छैन ?’ भनीप्रश्न गरेका छन् । वर्तमान परिस्थितिमा छिमेकी राष्ट्रले नेपाललाई चेपुवामा पारेको हुनाले सार्वभौमिकता सुरक्षित छैन भन्ने उनको तर्क रहेको छ । देशमा इसाई धर्म बढ्दै गएको र हिन्दू धर्म खस्कदै गएकोमा लेखक चिन्तितभएको देखिन्छ ।
समग्रमा लेखक राजन कार्कीद्वारा लिखित‘आमा’पुस्तकमा राष्ट्रभक्ति झल्किन्छ । जीवनमा उनले भोगेका सुख दुःख पोखिएको छ ।‘राजा सबका साझा’भन्ने भावना भेटिन्छ । जीवन संघर्षमय हुन्छ भन्ने सन्देश दिन्छ । त्यस्तै देश कुशासनको चक्रव्यूहमा फसेको कुरा पुस्तकले प्रष्ट पारेको छ । देशलाई बचाउन तथा माटोको रक्षा गर्न यो देशलाई राजा नै चाहिन्छ भन्ने सन्देश पुस्तकले प्रदान गरेको छ । आमा पुस्तकमा समेटिएका तिथिमितिहरु सही छन् । संग्रह धेरै छ । र, भावी पुस्ताकका लागि यसले ऐतिहासिक दस्तावेजको रुपमा काम गर्नेछ । अस्तु ।