परीक्षा स्थगित गर्न र विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउन सिफारिस, बाँकेमा एक साता लकडाउन, रूपन्देहीका विद्यालय बन्द
लुम्बिनी संवाददाता
बुटवल
मुलुकमा कोरोनाको संक्रमण उच्च भएपछि सरकारले नियन्त्रणका लागि अनेक अस्त्र प्रयोग थालेको छ । नागरिकलाई जिम्मेवार बन्न आग्रह गर्दै सरकारले शैक्षिक संस्थाहरुका सबै परीक्षा स्थगित गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले परीक्षा स्थगित गर्नेसंगै भारतीय सीमाबाट विदेशीलाई नेपाल प्रवेशमा समेत रोक लगाउन सिफारिस गरेको छ । बैठकले भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । भारतमा कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सीमा नाकाहरुमा कडाइ गर्नुपर्ने आवाज उठ्दै आएको थियो ।सीमानाकामा नेपालीहरुको आवागमन रोक्ने निर्णय भने नभएको उप–प्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए । सीसीएमसीको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेमा सीमानाकाबाट भारतीयहरु नेपाल पस्न पाउने छैनन । यो निर्णयले नेपालमा मालवस्तुको आयात निर्यातलाई भने प्रभाव नपार्ने बताइएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले आजदेखि सञ्चालन हुने सबै परीक्षा स्थागित गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोना संक्रमण दर बढिरहेकाकाले परीक्षा स्थागित गर्न सिफारिस गर्ने निर्णय भएको हो ।
विद्यालयदेखि विश्वविद्यालयसम्मले सञ्चालन गर्ने सबै परीक्षा स्थगित गर्न सिफारिस गर्ने निर्णय भएको पाण्डेले बताए ।
विद्यार्थीमा कोरोना संक्रमणदेखि स्थानीय तहलाई नै लडडाउन गर्न आग्रह गर्ने पनि सीसीएमसीले निर्णय गरेको छ । त्यस्तै बैठकले सीमानाकाबाट विदेशी नागरिकलाई नेपाल प्रवेशमा पनि रोक लगाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
रुपन्देहीमा विद्यालय बन्द
रुपन्देहीमा पनि कोभिड संक्रमितको संख्या बढ्दै गए पछि रुपन्देही प्रशासनले भिड नियन्त्रण गर्ने प्रयास थालेको छ । यस अघि नै बसेको डीसीसीएमसीको बैठकले भैरहवा र बुटवललगायतका विद्यालय बन्द गर्ने निर्णय गरी सकेको थियो । अहिले भने रुपन्देहीका सम्पूर्ण शैक्षिक संस्थाहरु बैशाख मसान्त सम्म बन्द गर्ने निर्णय गरेको छ ।
आईतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्मा बसेको सुरक्षा पदाधिकारी तथा स्थानीय तहका प्रमुख अध्यक्ष एवम् प्रतिनिधिहरुको बैठकले सबै स्थानीय तहका सबै शिक्षण संस्था बन्द गरेको निर्णय गरेको छ ।
शैक्षिक संस्थाहरुले प्रत्यक्ष भौतिक उपस्थितिमा गरिने शिक्षण सिकाईको सट्टा वैकल्पिक माध्यमबाट शिक्षण सिकाईको व्यवस्था गर्न भनेको छ । यसको साथै सबै किसिमका पूर्व निर्धारित परिक्षाहरु समेत हाललाई स्थगन गर्न बैठकले निर्णय गरेको छ ।
यसको साथै बैठकले रुपन्देहीका सार्वजनिक तथा निजी यातायातका साधनहरु जोर बिजोर प्रणालीको आधारमा सञ्चालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले बताए । अर्थात जोर गतेका दिन जोर नम्बर प्लेट भएका यातायातका साधन र बिजोर गते बिजोर नम्बर भएका यातायातका साधनहरु सञ्चालन हुने व्यवस्था मिलाउन समन्वय बैठकले निर्णय गरेको छ ।
बैठकमा सबै स्थानीय तहका अध्यक्ष प्रमुख एवम् प्रतिनिधिहरुले कोरोना सम्बन्धि जनचेतनामूलक कार्यक्रम वडा र टोलस्तरमा गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै बैठकले प्रत्येक पालिकामा कम्तिमा १ वटा एम्बुलेन्स तैयारी अवश्थामा राख्न समेत निर्देशन गरेको छ । अहिले रहेका सामुदायिक आइसोलेसन र होम क्वारेन्टाइनहरुको क्षमता विकास गरी पूर्व तयारी अवस्थामा रहन समेत बैठकले आग्रह गरेको छ ।
बाँके एक साता लकडाउनमा
बाँकेमा १३ बैशाखको रातिदेखि जिल्लाभरी ७ दिन निषेधाज्ञा जारी गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आइतबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमणको दोस्रो लहर भयावह रुपमा फैलिन थालेपछि जिल्लाभरी निषेधाज्ञा गरिएको बताए । उनले भने–‘सुरुमा नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र मात्र एक सातासम्म निषेधाज्ञा गरेका थियौं । स्थितिलाई नियन्त्रण गर्न जिल्ला भरी नै लगाउनु परेको हो ।’
जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबार एक सूचना प्रकाशित गरी सोमबार राति १२ बजेदेखि बैशाख २० गते राति १२ बजेसम्म बाँके जिल्लाभरी निषेधाज्ञा जारी गरेको जनाएको छ । यसअघि नेपालगञ्ज उप–महानगरपालिकामा कोरोना संक्रमण फैलावटको साङ्लो तोड्न भन्दै गत बुधबार राति १२ बजेदेखि ५ बैशाख राति १२ बजेसम्म ७ दिनको निषेधाज्ञा जारी गरिएको थियोे । संक्रमण बढ्दै जाँदा कोहलपुर नगरपालिकाले समेत नगर क्षेत्रभित्र निषेधाज्ञा जारी गर्न माग गरेको थियो ।
बाँके जिल्लामा कोरोनाबाट आइतबार दिउँसोसम्म ८५ जनाको ज्यान गइसकेको छ भने बाहिरी जिल्लाबाट उपचार गर्न आएका थप १०३ जनाले ज्यान गुमाएका छन् ।
रुपन्देहीमा २०४ संक्रमित
पछिल्लो २४ घण्टा भित्र रुपन्देहीमा २०४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमितहरु मध्ये ८२ जना महिला र १२२ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उप–महानगरपालिकामा मात्रै ९६ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै सिद्धार्थनगर नगरपालिकामा ३०, तिलोत्तमा नगरपालिकामा ५०, सियारी गाउँपालिका, रोहिणी गाउँपालिका लुम्बिनी सांस्कृतिक नगरपालिका र देवदह नगरपालिकामा १÷१ जना, गैडहवा गाउँपालिकामा ४, मायादेवी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा २÷२, सैनामैना नगरपालिकामा १०, ओमसतिया गाउँपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा हाल १ हजार २४६ जना संक्रिय संक्रमितहरु रहेका छन् ।