अब मालवहाक गाडीहरू ३० करोडका लागतमा बन्दै गरेको ढुवानी ग्राममै
रहनेछन् । यसले बुटवलको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

लुम्बिनी संवाददाता
बुटवल
बुटवलमा ढुवानी ग्राम निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो मुलुककै पहिलो व्यवस्थित ढुवानी ग्राम हो । बुटवल उप–महानगरपालिकाले निजी क्षेत्रसंगको सहकार्यमा हेवी लोडका सवारीसाधनलाई व्यवस्थित गर्न ढुवानी ग्राम बनाएको हो ।
मुलुकको आर्थिक केन्द्रका रूपमा रहेको बुटवलको आर्थिक गतिविधिलाई अझ सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले नमूना ढुवानी ग्राम निर्माण गरिएको र निर्माणकार्य लगभग अन्तिम चरणमा पुगेको उप–महानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
बुटवल उप–महानगरपालिकाकाको स्वामित्वमा रहेको वडा नं. १२ ढवाहस्थित भैरहवा टोलमा तीन विगाह क्षेत्रफलमा करिब ३० करोड लागतमा ढुवानीग्राम निर्माणको काम भइरहेको छ । सार्वजनिक निजी क्षेत्रको साझेदारीको योजनाअनुसार रूपन्देही परिवहन प्रालिसँगको सहकार्यमा ढुवानीग्रामको कामलाई बहुवर्षीय योजनाको रूपमा अगाडि सारिएको थियो ।
‘सहरमा ट्राफिक चाप बढाउने र अव्यवस्थित तवरले सञ्चालनमा रहेका ढुवानी व्यवसायलाई व्यवस्थित बनाउने, एकै ठाउँबाट हेवी लोडका गाडी अनलोड गराउनेगरी अलग्गै ढुवानीग्राम निर्माणको अवधारणा बनाएका हौं,’ प्रमुख सुवेदीले भने–‘निजी क्षेत्र (यहाँका ढुवानीग्राममा संलग्न व्यवसायीहरू) को समेत साझेदारीमा सुरु भएको योजना सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।’
नयाँ वर्षको सुरुमै शुभारम्भ गर्नेगरी तयारी गरिए पनि कोरोना महामारीको जोखिमले केही पर सरेको छ । हेवी लोडका ढुवानीका साधनलाई अलग्गै ठाउँको व्यवस्था मिलाएपछि अब व्यस्त सहरको ट्राफिक चाप कम हुने भएको छ ।
सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको ढुवानीग्राम मुलुकमा अन्यत्र नरहेको उप–महानगरको दाबी छ । ढुवानी व्यवसायीका अगुवा तथा समितिका पूर्वअध्यक्ष तथा ढुवानी ग्राम निर्माण कार्यदलका सदस्य माधव नेपालले बुटवलको पहिचानका रूपमा नमूना अटो भिलेजपछि अब नमूना ढुवानी ग्राम बन्ने बताए ।
उप–महानगर स्वामित्वको जग्गामा कुल ३० करोड लागत अनुमान गरिएको यो योजनामा ढुवानी व्यवसायीको साढे १२ करोड लगानी रहेको छ । यहाँसम्म जाने पहुँच मार्ग निर्माण भइसकेको छ भने व्यवस्थित पर्खालसमेत निर्माण भएको छ ।
उप–महानगरले गुरुयोजना नै बनाएर ढुवानी ग्राम निर्माणको काम सुरु गरेको उप–महानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।
साना ग्यारेजदेखि प्राथमिक उपचारकक्षसम्म
ढुवानी ग्राम राजमार्ग क्षेत्रबाट ३.६ किलोमिटर दूरीमा छ । उप–महानगरले त्यस क्षेत्रमा पुग्न पहुँचमार्ग, ढल तथा नाली निर्माण गरेको छ । ढुवानी ग्राममा साना ग्यारेजदेखि प्राथमिक उपचारकक्षसम्म निर्माण हुनेछन् । बीओटी मोडल (बील्ड, अपरेट, ट्रान्सफर मोडल) मा ढुवानी ग्राम निर्माण भइरहेको छ । यहाँ ४९ वटा सेड निर्माण भइरहेका छन् । उप–महानगरसंग साझेदारी गरेको रूपन्देही परिवहन प्रालिले एमबी कन्ट्रक्सनलाई करिब १३ करोडमा ठेक्का सम्झौता गरेको थियो । ढुवानी ग्राममा सामान अनलोड गर्ने अलग्गै सेडहरू, स्टोर कक्षहरू, कार्यालय, विद्युत्, खानेपानी, स्नानागार, शौचालय, विश्रामकक्ष, ढल तथा नाली, प्राथमिक उपचार कक्ष, सुरक्षागार्ड कक्ष, सूचना कक्ष निर्माण भइरहेको सहरी विकास तथा पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इञ्जिनियर सुमन श्रेष्ठले बताए ।
निजी क्षेत्र उत्साहित
सार्वजनिक–निजी साझेदारीको नमूना योजना साकार हुने चरणमा पुगेपछि साझेदारहरू खुशी भएका छन् । रूपन्देही परिवहन प्रालिका अध्यक्ष कमल घिमिरेले ढुवानी व्यवसायीहरू उत्साही भएको बताए ।
ढुवानीग्राम निर्माण सम्पन्न भएपछि बुटवलका चोक तथा गल्लीहरूमा सञ्चालित ढुवानी व्यवसायी स्थानान्तरण हुनेछन् । ढुवानी ग्रामबाट साना सवारीले अन्यत्र सामान आसार्ने छन् । हेवी लोडका ठूला गाडी अब ब्यस्त बजार क्षेत्र भित्र प्रवेश गर्नुपर्ने छैन । जसले विभिन्न क्षेत्रको लागि सामान ढुवानी गर्ने व्यवसायीहरूलाई ढुवानीका सामान खोज्न सहज हुनेछ ।
ढुवानी व्यवसायी संग १५ वर्षे सम्झौता
उप–महनगरपालिकाले सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण भइरहेको ढुवानीग्रामलाई दिगो रूपमा सञ्चालनका लागि मापदण्ड समेत बनाएको छ । ढुवानी व्यवसायीसंग १५ वर्षे सम्झौता भएको छ । उप–महानगर र रूपन्देही परिवहन प्रालिबीच सम्झौता भएको हो । सम्झौताअनुसार उक्त प्रालिले १५ वर्षपछि उप–महानगरपालिकालाई ढुवानी ग्राम हस्तान्तरण गर्नेछ ।
निर्माण सम्पन्नपछि ढुवानीग्राममा व्यवसाय सञ्चालन गर्ने व्यवसायीले एक हजार पाँच सय ५० वर्ग फुट क्षेत्रफलमा निर्माण हुने प्रति सेडको मासिक तीन हजार एक सय रुपैयाँ बहाल रकम बुझाउने उप–महानगरका वित्त व्यवस्थापन महाशाखा प्रमुख तथा वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले जानकारी दिए ।