झपेन्द्र जी.सी.
१. ‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’ एक सय एघारौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस यही मूल सन्देश प्रक्षेपण गर्दै अखिल नेपाल महिला संघले यो दिवसलाई धुमधामका साथ देशव्यापी रूपमा मनाउने निर्णय गरेको छ । यो दिवस ८ मार्चका नामले पनि उत्तिकै परिचित छ । यो दिवस विश्वभरि नै ८ मार्चमा मनाइन्छ । नेपालमा ८ मार्च अर्थात् नारी दिवसका रूपमा २०१६ सालदेखि महिलाहरू विशेष गरी कर्मचारी र शिक्षक महिलालाई आधा दिन बिदा दिएर सरकारी आयोजनामा नारी दिवस मनाउन थालेको पाइन्छ । नारी दिवसको स्थापनाको महत्व, यसको अर्थ र उद्देश्य बारेमा यथार्थ जानकारी समेत नगराई शासक वर्ग र शासक वर्गीय नारीहरूको नेतृत्व, उपस्थिति र सहभागितामा कार्यक्रम हुने गर्दथे र भोजभतेर समेत । यथार्थमा नारी दिवस शोषित, पीडित श्रमिक महिलाहरूको न्याय र मुक्तिको पर्व हो ।
२. युरोपमा औद्योगिक क्रान्तिको थालनी भएपछि, त्यस क्रान्तिले पूँजीवादको चरम विकास ग¥यो । विज्ञान र प्रविधिको विकास र प्रयोगले धागो कारखाना, कपडा, कारखाना, फलाम कारखनालगायत अनेक कारखानाहरू सञ्चालनमा आए । पुरूष मजदूर, महिला मजदूर, बाल मजदूर समेतको प्रयोग गरेर व्यापक मात्रामा माल उत्पादन भए । युरोपमा भएको औद्योगिक क्रान्तिको फलस्वरूप माल बिक्री गर्न बजारको खोजीमा पूँजीपतिहरू युरोपबाट बाहिर, अमेरिका, अफ्रिका, एसियालगायतका भूमिमा प्रवेश गरे । पूँजीपतिहरूले युरोपमा जस्तै १७ औैं अठारौं शताब्दीमा अमेरिकामा समेत सयौं स्वचालित कलकारखाना स्थापना गरे ।
अत्याधुनिक सडक, पुल, निर्माण भए । रेल मार्गहरू बने । सतहमा हेर्र्दा औद्योगिक विकास चरम चुलीमा पुग्यो । श्रमिकहरूको श्रमले पूँजीपति शासक वर्गले दिन दुगुना रात चौगुना प्रगति गरे । श्रमिककै श्रमले पूँजीपति शासक वर्गले एकपछि अर्को कारखाना स्थापना र सञ्चालन गर्दै गरे । तर मजदुरहरूको अवस्थामा खास सुधार आएन । उनीहरूको गास, बास, कपास, शिक्षा, स्वास्थ्यको समेत ख्याल गरिएन । प्राप्त ज्यालाले श्रमिकको छाक समेत टरेन । तर कामको समय भने दिनमा २०÷२२ घण्टा समेतको रह्यो । पूँजीवादले जति विकास गरे पनि मानवीय न्याय हुन सकेन । त्यसैले मजदुरहरूले युरोप र अमेरिकाका विभिन्न देशमा सुरूमा कतै कामको समय १० घण्टा हुनु पर्ने त कतै कामको समय ८ घण्टा हुनुपर्ने जस्ता मागहरू राखेर संघर्ष गरे । बेलायतमा मजदुरहरूको तेतृत्वमा हस्ताक्षर सहित चार्टिष्ट आन्दोलन भयो । यो आन्दोलन मजदुरहरूले नै गरेका थिए । यसरी आन्दोलन गर्ने क्रममा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा शयनको ग्यारेन्टी गर्न पूँजीपति शासक वर्ग बाध्य भए । यसकै फलस्वरूप मई एकलाई मजदुर दिवसको रूपमा विश्वभर मनाउन थालिएको हो ।
३. मजदुर भन्नाले पुरूषले पनि हुन्् र महिला पनि हुन् । औद्योगिक कारखानामा काम गर्ने महिलाहरूले कामको समय ८ घण्टा हुनुपर्ने, महिला मजदुर र पुरूष मजदुरको ज्याला समान हुनुपर्ने, महिलाले पनि चुन्न र चुनिने अधिकार पाउनुपर्ने, गास, बास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी हुनुपर्ने मागहरू राखेर आन्दोलनमा उत्रिए । औद्योगिक क्रान्तिको थालनीदेखि नै प्रतिवर्ष ८ मार्चका दिन उनीहरू संगठित ढंगले युरोप र अमेरिकाका विभिन्न देशमा आन्दोलित भए । मागपत्र प्रस्तुत गरे, धर्ना बसे, हड्ताल गरे । तर, पूँजीपति शासक वर्गले दमन गरिनै रहे । तर आन्दोलन रोकिएन । आन्दोलन अघि बढी नै रह्यो । श्रमिक महिलाहरूको आन्दोलनको विशेष दिनको सम्झनामा आफ्ना न्यायपूर्ण आवाजहरू बुलन्द गर्ने दिनको रूपमा ८ मार्चलाई रोजे ।
४. महिला हकअधिकार, समानता र न्यायका लागि आन्दोलनहरू उठ्दै गरे । आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन सन् १७७९ मा बेलायती महिला मेरी उल्स्टोनेक्र्याफटले सर्वप्रथम भूमिका निर्वाह गरेको पाइन्छ । तर, बेलायत सरकारले त्यो आवाजलाई सुन्न भने सकेन ।
५. औद्योगिक क्रान्तिले माल उत्पादन र कृषि उत्पादनमा अत्यधिक उन्नति गरे पनि गरिब श्रमिकहरू भोकभोकै मरिरहने तर शासक वर्गको गोदाममा अन्न सडेर खेर जाने अवस्था सिर्जना भयो । त्यतिखेर एक जमिनदार बराबर ५ किसान र १ पूँजीपति बराबर १५ मजदुरको मत मानिन्थ्यो । महिलाहरू त झन् मताधिकारबाट बञ्चित नै थिए । यसरी पूँजीवादी देशहरूमा एकातिर पूँजीपति वर्ग र अर्कातिर मजदूर वर्ग, एकातिर जमिनदार वर्ग र अर्काेतिर किसान वर्ग देखा परे । फ्रेन्च क्रान्तिपछि मजदुर क्रान्तिदेखि आतंकित भएकोे सामान्त वर्ग र पूँजीपति वर्ग एक गठ भए । उनीहरू मिलेर श्रमिक वर्गका विरूद्ध दमनमा उत्रिए ।
६. नयाँ वर्गको उदयसँगै वर्ग संघर्षले नयाँ स्वरूप धारण ग¥यो । विभेद र शोषण बढ्दै गयो । न्याय समानता र मानवमुक्तिको अभीष्ट लक्ष्य पूरा गर्नका लागि सन् १८४७ मा कम्युनिष्ट लिगको स्थापना भयो । यही लिगसित सम्बद्ध कालमाक्र्स र फे्रडरिक एंगेल्सले विश्व प्रसिद्ध कम्युनिष्ट घोषणा पत्रको तयार गर्नुभयो र सन् १८४८ मा यो प्रकाशित भयो । विश्वभरिका श्रमजीवी सर्वहारा वर्ग एक होऔंका नाराले सबैलाई प्रभावित गर्न थाल्यो । वर्गहरू रहेसम्म शोषण, दमन, उत्पीडन हुने हुँदा शोषक वर्गको उन्मूलन गर्न वर्ग संघर्ष अनिवार्य छ भन्ने ठहर भयो । वर्ग संघर्षको माध्यमबाट वर्गरहित, विभेदरहित, समाजवादी र साम्यवादी समाजको स्थापना गर्ने लक्ष्यका साथ आन्दोलन अघि बढ्यो । हरेक वर्ग तह र लिंगका समुदाय आफ्नो मुक्ति र न्यायका लागि आन्दोलित हुने स्पष्ट मार्गचित्र सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणापत्रले प्रस्तुत ग¥यो ।
७. श्रमिक महिलाहरूलाई सचेत र संगठित गर्नमा जर्मनीकी समाजवादी सञ्चारकर्मी महिला क्लाराजेट्किनको नेतृत्वदायी भूमिका रहेको छ । उहाँकै नेतृत्वमा सन् १८९२ मा महिला मजदुर आन्दोलनको मुख पत्र पाक्षिक पत्रिकाको सम्पादन र प्रकाशन गर्नुभयो । उहाँकै अगुवाइमा ८ मार्च १९०७ मा जर्मनीको स्टुगार्डमा श्रमिक महिलाहरूको प्रथम सम्मेलन भयो । भेलाले श्रमिक महिला संघको स्थापना ग¥यो र उहाँ त्यस संगठनका महासचिव बन्नु भयो । यो संगठनको स्थापनापछि अमेरिकाको न्यूयोर्क, शिकागो जस्ता शहरका श्रमिक महिलाहरू पनि संगठित ढंगले, न्याय समानता र मताधिकारका लागि आवाज उठाउन थाले ।
८. सन् १९१० मा डेलमार्कको राजधानी कोपनगेहनमा १७ देशका श्रमिक महिलाहरूको सम्मेलन भयो र यस सम्मेलनले् पनि क्लाराजेट्रिकनलाई महासचिवको नेतृत्व दियो । उहाँले यस सम्मेलनमा ८ मार्चलाई श्रमिक महिला आन्दोलनको शुभ मुहुर्त र ऐतिहासिक पर्व बनिसकेको हुँदा ८ मार्चलाई शोषित, पीडित श्रमिक महिलाहरूको मुक्ति आन्दोलन र मुक्ति दिवसको रूपमा मनाउने प्रस्ताव पेश गर्नुभयो र सम्मेलनले पारित ग¥यो । तदुपरान्त सन् १९११ देखि ८ मार्चलाई श्रमिक महिलामुक्ति दिवसका रूपमा मनाउने परम्परा बसेको पाइन्छ ।
सन् १९१३ देखि यस दिवसलाई रूसलगायतका देशमा मनाउन थालियो । सन् १९६७ मा संयुक्त राष्ट्र संघ महासभाले नारी भेदभाव र शोषणका विरूद्ध अभियान प्रस्ताव पारित गरेपछि ८ मार्च दिवस विश्वभरमै मनाउन थालिएको हो । २२ अप्रिल १९४९ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । नारी हकअधिकार, न्याय समानताको लक्ष्य प्राप्तिका लागि २००८ साल फागुन २४ (मार्च ८) मा अखिल नेपाल महिला संघको स्थापना भयो । तदुपरान्त ८ मार्चलाई प्रगतिशील कम्युनिष्ट महिलाहरूले महिला मुक्ति रूपमा मनाउन थालेको पाइन्छ । राज्यस्तरबाट २०१६ सालदेखि महिला दिवस मनाउने क्रममा आधि दिन ८ मार्चमा बिदा दिने गरे पनि महिला दिवसको अर्थ र महत्व बुझाउने र प्रसारण गर्ने काम राज्यले गरेन । पञ्चायती निरंकुश कालमा शासक प्रशासकसँग सम्बद्ध दरबारिया महिलाहरूले नारी दिवसलाई मनोरञ्जनका रूपमा मनाउने काम गरे । तर श्रमिक महिलाहरू बेखबर रहे । तर कम्युनिष्ट पार्टीसँग सम्बद्ध महिलाहरूले भूमिगत रूपमा र २०३७ सालको जनमत संग्रहपछि खुला रूपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने क्रमलाई निरन्तरता दिए । तर, प्रहरी प्रशासनले श्रमिक महिला दिवस मनाउन जुटेका महिलाहरूलाई दमन गर्ने काम जारी राख्यो ।
९. २०४६ सालको परिवर्तनपछि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस खुलम्खुला मनाउने क्रम जारी छ । प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि राज्यका विभिन्न तहमा महिलाहरूको पहुँच स्थापित भएको छ । संविधानले नै तीनै तहका व्यवस्थापिका सभामा ३३ प्रतिशत महिलाको समावेशिता हुनु पर्ने शर्तलाई अनिवार्यता गरेको छ । महिलाहरू राष्ट्रपति र सभामुख जस्तो उच्च पदमा आसिन भई नेतृत्व सम्हाली रहेका छन् । महिला हिंसाविरूद्धको कडा कानून बनेका छन् र कार्यान्वनयमा आइरहेका छन् । छोरा सरह छोरीलाई अवसर प्राप्ति भएको छ । समान कामको समान ज्याला लागू भएको छ । पैतृक सम्पत्तिमाथि छोरीलाई पनि हक स्थापित भएको छ ।
१०. संविधान र ऐन कानूनले महिला पुरूषलाई समान व्यवहार गरेको छ । तर कार्यान्वयनका व्यवहारिक पक्षमा समस्या र चुनौतीहरू पनि अवश्य छन् । अब सबै नारीले आफ्नो प्राप्त अधिकारलाई प्रयोग गर्न आफै उठ्नु पर्ने र जुट्नुपर्ने अवस्था छ ।
११. महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको नारा अहिले उठेको छ । प्रथमतः समृद्ध नेपाल निर्माणका लागि अहिले सिंगो मुलुक उत्पादन संघर्षमा लाग्नुपर्ने अवस्था छ । विना उत्पादन र विना उद्योग समृद्ध नेपाल बन्दैन । यसका लागि महिला पुरूष, सम्पूर्ण नेपालीले आफ्नो देशको मुहार फेर्न र आ–आफ्नो समुदायको मुहार फेर्न आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने अवस्था छ । कृषि व्यवसाय, पर्यटन व्यवसायलगायत सबै क्षेत्रमा गुणस्तरीय विकासको खाँचो छ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले उद्यमी हातहरूलाई आर्थिक अनुदानलगायत विविध सहयोग गर्दै आएको छ । अर्काेतर्फ योगदानमा आधारित पेन्सनले श्रमिकहरूलाई उत्साहित पारेको छ, तर यो पूर्णरूपमा कार्यान्वयन हुन बाँकी छ । वर्तमान लोकतान्त्रिक गणतन्त्रमा महिलाहरू अवश्य नै सम्मानित भएका छन्, महिला हिंसाका विरूद्ध कडा कानून र सुरक्षात्मक व्यवस्था पनि भएको छ । तर अझै पनि कताकता समाजका केही तत्वहरू महिला हिंसाका घटना घटाउन क्रियाशील छन्, तिनीहरूलाई कानूनको दायराभित्र ल्याएर पीडितले अनुभूत गर्ने गरी पीडक पक्षलाई कडा कार्बाही गर्न आवश्यक छ ।
१२. जे होस् नेपाली श्रमिक महिलाको आन्दोलन विश्वश्रमिक महिला आन्दोलनको अभिन्न अंग हो । सम्पूर्ण नेपाली महिलालाई सुरक्षा, सम्मान, रोजगार, सुखी खुसी बनाउने आन्दोलन हो । मजदूर आन्दोलनको पृष्ठभूमिमा प्रतिपादन भएको माक्र्सवादी शिक्षा संस्कृतिले शोषित पीडित महिलालगायत समग्र श्रमिक वर्गको आन्दोलनलाई पृष्ठपोषण गरेको छ । क्लाराजेट्किन समाजवादी श्रमिक महिला आन्दोलनकी प्राधिकार हुन् । सामान्यतया नारी दिवस वा महिला दिवस भनिए पनि यसको साइनोसम्बन्ध नारी हिंसाको अन्त्य, नारीलाई रोजगार समान ज्याला र सम्मान, सारा विभेदको अन्त्य र अन्ततः यसको लक्ष्य समतामूलक समाजवादी समाज निर्माणसँग जोडिएको छ ।
नेपालको संविधानले पनि यसलाई गम्भीर ढंगले बोेकेको छ । संविधानतः र कानूनतः महिला अधिकार प्रत्याभूत छ । अब प्राप्त अधिकारलाई प्रयोग गर्दैै, आ–आफ्ना ठाउँबाट कर्तव्य पालना गर्दै थप अधिकार प्राप्तिका लागि र मूलतः समृद्धिको यात्रामा महिला पुरूष हातेमालो गरेर अघि बढ्नु आजको आवश्यकता बनेको छ ।