समाचार प्रभाव
प्रतिमा गौतम

बुटवल
बिनापातेका सात वर्षीया आदित्य विकले पुस्तक पाएका छन् । शैक्षिक सत्रको अन्त्यतिर उनले पुस्तक पाएका हुन् । नविन औद्योगिक कदरबहादुर रीता रायमाझी माध्यमिकमा पढ्ने उनले अहिलेसम्म पुस्तक पाएका थिएनन् ।
दैनिक लुम्बिनीले ‘न विद्यालयले खोज्यो, न अभिभावकले पठाए’ भन्ने समाचार प्रकाशित गरेपछि विद्यालयले उनका अभिभावक बोलाएर पाठ्यपुस्तक दिएको हो ।
कोरोना महामारीका कारण विद्यालय बन्द थिए । तर उनी भने विद्यालय खुलेपछि पनि घरमै थिए । विद्यालयको पहुँचमा नपुगेका उनलाई समाचार प्रकाशित भएपछि विद्यालयले खोजेको हो ।
बुटवल उप–महानगरपालिका बुटवल वडा नं. ११ बिनापातेका आदित्यका बुवा सन्तोष बिक यत्तिबेला खुसीले गद्गद् छन् । छोरो विद्यालय जान थालेपछि उनी खुसी भएका हुन् । ‘समाचार आएपछि छोरा विद्यालयमा भर्ना भयो । अहिले गृहकार्य गर्दैछ ।’– उनले सोमबार दैनिक लुम्बिनीसंग भने ।
सोमबार सन्तोषले आफ्नो छोरालाई गृहकार्य गर्न सहयोग गर्दै थिए । केही दिनअघि स्कुलबाट खबर नपाएर छोरोलाई स्कुल नपठाएको बताएका सन्तोष अहिले नविन औद्यौगिक कदरबहादुर माध्यमिक विद्यालयमा नै छोरो पढाउन पाउँदा दंग छन् । उनले भने–‘अति नै खुसी छु, छोराले पढ्न पायो । म त काममा जान पर्ने भर्ना गर्दिन आमालाई पठाएको थिए । गुजरा चलाउन ट््याक्टर चलाउँछु ।’ छोरोलाई ठूलो मानिस बनाउन चाहेका सन्तोष समयमा नै बच्चाको पढाइ प्रति जिम्मेवार बन्न नसकेको विषयमा भने चिन्तित बनेका छन् । उनले भने –‘आउँदा दिनमा गल्ती गर्दिन ।’
स्कुल जान पाउँदा सन्तोषका छोरा आदित्य पनि खुसी छन् । उनले भने –‘नयाँ किताब पनि पाएँ, स्कूलमा पनि माया गरेर पढाउनुभयो ।’
विद्यालयले आफ्ना पुराना विद्यार्थीलाई खोज्न थालेका छन् । तर तिनाउ नदी किनारको बिनापाते बस्ती मात्र होइन पवित्रनगर, बुद्धनगर, हात्तिसुड, सत्यवतीलगायतका क्षेत्रमा बस्ने बालबालिका अहिले घर मै छन् । यस क्षेत्रमा विद्यालय छोडेर बाल श्रमिक हुनेको संख्या धेरै छ । अब त्यस्ता बालबालिकालाई विद्यालय पु¥याउन भने कुनै योजना ल्याएको पाइदैन ।
विद्यालय भन्छ–‘भ्रम छरियो’
नविन औद्योगिक विद्यालयले भने दैनिक लुम्बिनीको समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ । विद्यालयले कोभिड–१९ का बाबजुद पनि शैक्षिक सत्र २०७६ को नतिजा ०७७ बैशाख ४ मा विद्यालयको वेबसाइडमा प्रकाशित गरेको र जेठ १६ देखि २२ गतेसम्म पाठ्यपुस्तक वितरण गरेको जनाएको छ । असार २५ गतेदेखि अनलाइन कक्षा चलाइएको जनाएको छ ।
अनलाइनमा पहुँच नभएका विद्यार्थीहरूलाई गत असोज २२ गतेदेखि सेतो गुराँसले वैकल्पिक सिकाई कार्यक्रम आयोजना गरी सीतारा पथ बुद्धनगर, बुद्धपथ टोल विकास समिति बुद्धनगरमा सञ्चालन गरेको र विद्यालयको विशेष आग्रहमा प्रगतिनगरमा पनि वैकल्पिक सिकाई सञ्चालन भएको र त्यस भेगका साना–साना विद्यार्थीहरूलाई सहजीकरण गरेर पठाइएको जनाएको छ ।
विद्यालयले छुटेका विद्यार्थीलाई फोन सम्पर्क हुन नसकेको जनाएको छ । ‘भारतमा भएको बुवाको हवाला दिदै समाचार बनाउनु कक्षामा पाँचौ भएकालाई द्वितीय भनेर कपोकल्पीत, भ्रमपूर्ण समाचार प्रकाशित गरेर पत्रिकाको छवी पनि विगार्ने नियत भएको देखिन्छ, विद्यालयका प्राध्यानाध्यापक प्रेमबहादुर बस्नेतले ध्यानाकर्षण पत्रमा भनेका छन् ।
तर प्राध्यानाध्यापक बस्नेतले दाबी गरेजस्तै आदित्यका बाबु भारत नभई घरमै रहेका छन् । सोमबार उनले आफ्ना छोरालाई घरमै पढाई रहेका थिए ।
‘नविन उत्कृष्ट विद्यालय’
नविन औद्योगिकमा अहिले तीन हजार विद्यार्थी रहेका छन् । यो विद्यालयले उत्कृष्ठ नतिजा समेत ल्याउँदै आएको छ । ध्यानाकर्षण पत्रमा जनाइएअनुसार नविन औद्योगिक मावि ०७५ को एसईईको नतिजाको आधारमा विद्यालय लुम्बिनी प्रदेशमा पाँचौ स्थान, रूपन्देहीमा दोस्रो स्थान र सिभिल इञ्जिनियरिङ ९–१२ मा नेपाल मै उत्कृष्ट रहेको छ । हाल विद्यालयमा मन्टेश्वरीदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ ।
उनले कक्षा ११ र १२ अध्ययन गर्ने दलित तथा सिमान्तकृत समुदायका छात्राहरूका लागि छात्रवृत्तिको व्यवस्था गरेकोमा त्यो कार्यान्वयनमा नआएकाले अधिकारकर्मीलाई समेत ध्यान दिन आग्रह गरे ।