विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन कठिन हुने चेतावनी दिएको छ । कोरोनाको नयाँ प्रजाति पुरानोभन्दा संक्रामक भएको विवरण आइरहेका बेला डब्लुएचओले भर्खर सुरु वर्ष अझ खराब हुन सक्ने अनुमान गरेको छ । सुरुमा बेलायतमा देखा परेको कोरोनाको नयाँ स्वरूप अहिले विश्वका ५० देशमा फैलिएसकेको बताइएको छ । नयाँ कोरोनाले बेलायतमा संक्रमितको मृत्युदर बढाएको छ ।
विज्ञहरूका अनुसार नयाँ भाइरस हाल महामारीको रूप लिएको कोभिड भाइरसभन्दा ७० प्रतिशत बढी तीब्र फैलिन सक्छ । यो भाइरसलाई बेलायतले भियुआई अर्थात् भ्यारियन्ट अण्डर इन्भेष्टिगेशन नाम दिएको छ । कोभिडविरुद्धको भ्याक्सिन निर्माण भइसकेपछि महामारी नियन्त्रणमा आउने आशा गरिए पनि नयाँ संक्रमणले झन त्रास थपेको विज्ञहरूले बताउँदै आएका छन् । सामान्यतः कुनै पनि भाइरसमा म्युटेसन वा आनुवांशिक परिवर्तन भएर नयाँ भाइरस उत्पन्न हुनुलाई स्वाभाविक मानिन्छ । भाइरसको आनुवांशिक परिवर्तन भएर नयाँ देखिनु सामान्य मानिए पनि यो भाइरसविरुद्ध खोप प्र्रभावकारी हुन्छ हुँदैन भन्ने चुनौतीको विषय बनेको छ ।
विश्वका विभिन्न राष्ट्रहरूले कोरोना भाइरसविरुद्धका खोप अन्तिम परीक्षणपछि नागरिकमा प्रयोग गर्न सुरु गरिसकेका छन् । नेपाललगायतका अल्पविकसित राष्ट्रहरूले ती खोप आफ्ना नागरिकका लागि प्रयोग गर्न मगाउने तयारी गरेका छन् । कोरोनाविरुद्धको खोप निर्माणपछि विश्वले ठूलो राहत महसुस गरेको छ । तर पछिल्लो समय बेलायतमा देखिएको नयाँ कोरोना भाइरसविरुद्ध खोपको प्रभावकारिताबारे अझै ठोस निष्कर्ष आइसकेको छैन । भाइरसले स्वरूप बदलेसँगै खोपको प्रभावकारिता घट्ने हो कि भन्ने चिन्ता सर्वत्र छ ।
नयाँ प्रकारको कोरोना भाइरस तीव्र फैलिने भए पनि यसले सिकिस्त बिरामी बनाउने वा मृत्युको जोखिम बढाउने वा नबढाउने भन्नेमा अझै तथ्य फेला परिहालेका छैनन् । सामान्यतः भाइरसले बालबालिका तथा किशोर किशोरीहरूलाई कम संक्रमण हुन सक्ने बताइन्छ । तर यो भाइरसले वयस्क जस्तै बालबालिकाहरूमा पनि छिटो फैलिन सक्ने वैज्ञानिकहरूले बताउने गरेका छन् ।
विश्वमा देखिएको नयाँ प्रकारको भाइरस नेपालमा छिरिसकेको छ कि छैन भन्ने कुरा अहिलेसम्म पत्ता लाग्न सकेको छैन । भारत भाइरस प्रवेश गर्ने मुख्यद्वार भएका कारण भारतमा आइसकेको छ र केही समयपछि फैलिन्छ भने नेपाल पनि यो भाइरसबाट अछुतो रहने छैन । किनकि भारतसँगका सीमा खुला भएका छन् । आवत् जावत्मा कुनै अवरोध छैन । कोरोना कहरपछि थुप्रै नेपाली नागरिक रोजगारीका लागि भारत गएका छन् । उनीहरू घरमा आउँदा नयाँ प्रकारको कोरोना आउन सक्दछ ।
नेपालले जनस्वास्थ्यका मापदण्डहरू परीक्षण, कन्ट्रयाक्ट टे«सिङ, आइसोलेसनलगायतमा पूर्व पालना गरेको छैन । परीक्षण निकै घटेको छ । त्यसमाथि देशमा राजनीतिक उतारचढाव छ । दिनहुँ नारा, जुलुस र भेला छन् । जनस्वास्थ्यका मापदण्ड विपरीतका काम भइरहेका छन् । नेपालमै पनि भाइरसले कस्तो संरचना परिवर्तन गर्र्दैछ भन्ने अध्ययन गरिनुपर्दछ । फेरि भाइरस आजको भोलि फैलिने पनि होेइन । म्युटेसन भयो भने भाइरसका विभिन्न प्रकारको लहर आउन सक्ने भएकाले उच्च सर्तकता अत्यावश्यक छ ।