लुम्बिनी संवाददाता
बुटवल
बुटवल उपमहानरगपालिकाले निजी विद्यालयको शुल्क निर्धारण गरेको छ । संवैधानिक प्रावधानअनुसार मावि तहसम्मको विद्यालय व्यवस्थापन स्थानीय तहमा आएको छ । सोही बमोजिम बुटवलले पहिलो पटक निजी विद्यालयको श्रेणीसहित शुल्क निर्धारण गरेको हो ।
उपमहानगर अन्तर्गत रहेका संस्थागत (निजी तथा आवासीय) विद्यालयका लागि शुल्कको दररेट निर्धारण गरेको छ । शिक्षा समितिको हालै बसेको बैठकले सर्वपक्षीय छलफलका आधारमा शुल्क निर्धारण गरेको हो ।
उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीकाअनुसार बुटवलका १९ वटै वडामा सञ्चालित संस्थागत विद्यालयलाई वर्गिकरणका आधारमा उनीहरुले विद्यार्थीबाट उठाउने शुल्क निर्धारण गरी लागु समेत भइसकेको छ । उनले यहाँका सबै विद्यालयहरुले उपमहानगरले तोके बमोजिमको शुल्क समायोजनासमेत गरिसकेको बताए ।
चालु शैक्षिक सत्र २०७६ मा शुल्क निर्धारण, शुल्क निर्धारण सिफारिस समितिबाट सिफारिस भए बमोजिम तोकि कार्यान्वयन समेत भइसकेको उपमहानगरका शिक्षा तथा जनशंख्या महाशाखा प्रमुख उपसचिव मित्रमणि खनालले जानकारी दिए ।
बुटवलमा संस्थागत विद्यालयहरुलाई तीन श्रेणीमा विभाजन गरिएको छ । जसअनुसार क, ख र ग श्रेणीका विद्यालयले कक्षागत आधारमा अलग–अलग शुल्क उठाउन पाउने छन् । विद्यार्थी भर्नाको शुल्क भने एउटै तोकिएको छ ।
महाशाखा प्रमुख खनालका अनुसार ‘क’ श्रेणीको विद्यालयले पूर्वप्राविमा एक हजार आठ सय ४५, प्राविमा दुई हजार ५० तथा निमाविमा दुई हजार चार सय ४३ र माविमा तीन हजार एक सय ८० रुपैयाँ मासिक शुल्क उठाउने छन् । यो भन्दा धेरै शुल्क उठाएको पाइएमा कानुनी कारवाही गर्नेगरी उपमहानगरले संयन्त्रसमेत बनाइसकेको छ ।
यस्तै ‘ख’ श्रेणीको विद्यालयले पूर्वप्राविमा एक हजार पाँच सय आठ, प्राविमा एक हजार छ सय ७६ तथा निमाविमा एक हजार नौ सय ७० र माविमा दुई हजार पाँच सय ९७ रुपैयाँ मासिक शुल्क निर्धारण गरिएको छ ।
‘ग’ श्रेणीको विद्यालयले पूर्वप्राविमा एक हजार तीन सय ३०, प्राविमा एक हजार चार सय ७८ तथा निमाविमा एक हजार सात सय ४९ र माविमा दुई हजार तीन सय २५ रुपैयाँ मासिक शुल्क निर्धारण भइ कार्यान्वयन भइसकेको छ । बुटवलले कम्प्युटर कक्षाका लागि पनि शुल्क निर्धारण गरेको छ । जस्मा बढिमा तीन सय ७५ रुपैयाँ र कक्षा शिक्षण सिकाईमा डिभाइस जडान गरी उपयुक्त सफ्टवेयरमा दुई विषयसम्म पढाउँदाको बढिमा एक सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
प्रचलित शिक्षा ऐन तथा नियमावलीअनुसार संस्थागत विद्यालय वर्गिकरण प्रक्रिया अगाडि बढाई नियमानुसार आवश्यक निर्णयका लागि पेश गर्न संस्थागत विद्यालय वर्गिकरण सिफारिस समितिलाई निर्देशन दिइएको महाशाखा प्रमुख खनालले बताए । यसअघि जिल्ला शिक्षा कार्यालयले संस्थागत विद्यालयको श्रेणी निर्धारण गरेको थियो । त्यसमा पुनर्विचार गर्दै नयाँ संवैधानिक मापदण्ड अनुरुप वर्गिकरण गर्ने काम भइरहेको छ ।
बुटवलमा बालविकासदेखि कक्षा १२ सम्म सञ्चालनमा रहेकोसमेत गरी ५६ वटा संस्थागत विद्यालयहरु सञ्चालनमा छन् । यी सबै विद्यालयमा पूर्व प्राथमिक, आधारभूत तह (कक्षा १–५), आधारभूत निमावि (कक्षा ६–८), मावि तह (कक्षा ९–१०) र मावि तह (कक्षा ११–१२) मा गरी ३६ हजार दुई सय ९२ विद्यार्थीहरु अध्ययनरत रहेको उपमहानगरका शिक्षा शाखाका अधिकृत टिकाराम पन्थीले जानकारी दिए ।
बुटवलमा सामुदायिक विद्यालयको संख्या ३८ रहेको छ । यहाँ मदरसा तीन, गुरुकुल एक, खुला विद्यालय एक, सामुदायिक सिकाई केन्द्र पाँच र बाल विकास केन्द्र ६१ रहेका छन् । सामुदायिक तर्फका सबै तहमा अध्यय्न गर्ने विद्यार्थीको संख्या भने २१ हजार दुई सय १५ रहेको छ । कर्मचारीलाई शैक्षिक सूचना व्यवस्थापन र शिक्षकलाई आइसीटी तालिम
बुटवलले संस्थागत विद्यालयका कर्मचारीहरुका लागि शैक्षिक सूचना व्यवस्थापन प्रणालीसम्बन्धी तालिम सञ्चालन गर्न लागेको छ भने सामुदायिक विद्यालयका शिक्षकहरुका लागि आइसीटी तालिमलाई निरन्तरता दिने भएको छ ।
बुटवलले सामुदायिक विद्यालयहरुमा ई–हाजिरी व्यवस्था गर्न चालु आ.ब २०७६÷०७७ विभिन्न १२ वटा विद्यालयका लागि प्रति विद्यालय २० हजारका दरले शैक्षिक विकास कोषबाट सहयोग गर्ने निर्णय गरिएको शिक्षा महाशाखाले जनाएको छ । बुटवलले दरबन्दी न्यून भएका विद्यालयहरुका लागि शैक्षिक विकास कोषबाट संघीय सरकारले निर्धारण गरेको स्केल बमोजिमको शिक्षक व्यवस्थापन अनुदानसमेत उपलब्ध गराउने भएको छ ।
विद्यालयलाई इन्टरनेट सुविधा र विभिन्न अनुदान
बुटवल उपमहानगरपालिका अन्तर्गत संचालित १७ वटा आधारभूत विद्यालयहरुका लागि इन्टरनेट सेवा शुल्क भुक्तानीका लागि प्रति विद्यालय १२ हजारका दरले अनुदान दिने भएको छ । यस्तै सूर्योदय प्राथमिक विद्यालय बुटवल ११ का लागि बाउण्ड्री (तारबार) निर्माणका लागि रु १० लाख, मायादेवी जनजागृति प्रा.वि. बुटवल ११ लाई बाउण्ड्री निर्माण गर्न रु १० लाख, नहरपुर माविलाई बाउण्ड्री निर्माण गर्न रु १४ लाख ७० हजार अनुदान दिनेभएको छ । यसैगरी सहिदस्मृति प्रावि बुटवल ११ लाई दुई कोठे भवन (ट्रस) निर्माणका लागि रु १० लाख रुपैयाँ र मैनावगर प्रावि मैनावगरमा अध्ययन गर्ने बालबालिकाहरुका लागि ड्रेस व्यवस्थापन गर्न रु ७० हजार रुपैयाँ अनुदान दिने निर्णय भएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
सबै विद्यालयका शिक्षाको एउटै पोशाक
सामुदायिक विद्यालय र संस्थागत विद्यालयका शिक्षकहरूको एउटै ड्रेस व्यवस्थापन गर्न ड्रेस कोड व्यवस्थापन समिति गठन भई काम अन्तिम चरणमा पुगेको छ । प्रत्येक सामुदायिक विद्यालयहरूमा कक्षा १, २ र ३ मा बुक कर्नर हाम्रो पहिचान भन्ने नारालाई सार्थकता प्रदान गरिएको छ । यसको प्रभाव सकारात्मक देखिएको छ ।
आफ्नै स्थानीय पाठ्यक्रम
बुटवलले स्थानीय पाठ्यक्रम तयार पारेको छ । यो पाठ्यक्रम आउँदो शैक्षिक सत्रदेखि लागु हुने छ । पाठ्यक्रमको सबैखाले ढाँचा तयार भइ अहिले अन्तिम छपाइको तयारीमा रहेको छ । बालबालिकालाई स्थानीय मौलिकता, संस्कृति र सभ्यताका बारेमा चिनाउने गरी स्थानीय पाठ्यक्रम तयार पारेको हो । देशभरका शिक्षाविज्ञहरुलाई बुटवलमा जुटाएर शैक्षिक संगोष्ठी गर्ने र स्थानीय पाठ्यक्रम तयार पार्ने स्थानीय तहमा बुटवल नमूना मानिएको छ ।